• मुकुन्द आचार्य

उहिलेका कुरा खुइलिए भन्ने चलन छ । उहिले हामी केटाकेटी छँदा गाउँशहरमा रामलीला, झुलन, नाटक, नौटङ्की, थरीथरीका नाँच आदि नै सार्वजनिक मनोरञ्जनका साधन थिए । यी सबैमा सर्कस पनि एक बलियो साधन थियो । हेर्दाहेर्दै ती सबै कता हराए कता सपना सरि !

निराश नहुनुस् अचेत त सरकार भनिने सङ्घसंस्थाले प्रतिदिन निश्शुल्क (फ्री) सारा जनतालाई नौटङ्की देखाइरहेको अवस्था छ । हामी कति भाग्यमानी छौं, दिनरात नौटङ्की हेर्न पाउँछौं । त्यो पनि फ्रीमा । शतप्रतिशत फ्रीमा ।

त्यो त निश्शुल्क पाइयो । यसरी निश्शुल्क नाटक नौटङ्की देखाउने सरकार हाम्रो देशमा मात्र हुन्छन् भन्ने कुरो छैन । संसारका सारा गरीब, पछौटे देशमा यस्तै नौटङ्कीबाज सरकार हुन्छन् । आआफ्नो देशमा ती सरकारले निरन्तर आफ्नै पारामा रङ्गमञ्च चलाइरहेका हुन्छन । जनता पनि मजाले हेरिरहन्छ । हाँस्छन्, ताली बजाउँछन् । मक्ख पर्छन् ।

दशैं आइसक्यो बेपारीहरूले आवश्यक वस्तुको भाउ बढाएर दशैं मनाइसके । सरकारले प्रतिवर्ष भन्छ– हामी बजार भाउ नियन्त्रण गर्ने काम गर्दैछौं । दुई/चार जना बेपारीलाई समातेर जरिवाना पनि गरिसक्यौं । हामी बजार भाउ जथाभावी बढाउन दिंदैनौं । तर …!

बजारमा जानुस् प्रत्येक वस्तुको भाउ बढेकै हुन्छ । यी बेपारीहरू चाडबाडको लागि राहुकेतु नामक ग्रह हुन् । जति खर्च गरे पनि मूडलाई नियन्त्रण गर्न खोजे पनि महँगी त बढ्छ । कसैले रोक्न सक्दैन, बजार भाउलाई । मृत्युलाई कसैले रोक्न सक्दैन, बजार भाउलाई पनि कसैले रोक्न सक्दैन ।

लौ भन्नुस् त यो सरकारी घटिया झुर नौटङ्की हो कि हैन । हरेक चाडबाडमा यस्तै हुन्छ । हामी नौटङ्की हेर्छाैं, हेरिरहन्छौं, हेरिरहन्छौं !

चाडबाड आउना साथ ट्राफिक प्रहरीहरू अकस्मात् कर्तव्यनिष्ठ भइदिन्छन् । सद्दे गाडीलाई पनि अनेक त्रुटिपूर्ण अवस्थामा देखाएर चाडबाड खर्च उपर असुल गर्छन् । हुनत यो स्वाभाविकै हो । बिचरा दिनरात सडकमा उभिएर आफ्नो कर्तव्य पूरा गर्छन् । चाडबाड यिनको घरमा पनि मनाइन्छ । रमाइलोलाई ‘बुस्ट अप’ गर्ने मालपानीको इन्धन त चाहियो नि । नौटङ्की !

कुनै पनि अन्तर्वार्तामा नौटङ्की राम्रो गरिन्छ । सबै सिटमा सोर्सफोर्सका आधारमा पहिले नै बाँटफाँट भइसकेको हुन्छ । अन्त र्वार्ता गरे जस्तो गरिन्छ, प्रश्नहरू सोधिन्छ, अन्य अभिनय पनि राम्रै गरिन्छ– यो कम्ता रमाइलो नाटक होइन । हाम्रो सारा जीवनलाई नौटङ्कीमय बनाइएको छ। फ्रीमा नौटङ्की हेरौं, चाडबाड मनाऔं ।

जीवनरक्षक भनिने डाक्टरहरू जीवनभक्षक बनेर लुटिरहेका छन् । थरीथरीका टेस्ट, औषधि, सर्जरी गर्न लगाएर रोगीलाई जिउँदै मार्ने यमराज बनेका छन्, हाम्रा डाक्टरसाबहरू । उपचारको शुल्क तिर्न नसकी रोगीको लाश छाडेर आफन्त भाग्छन् । कसरी जीवनरक्षक भन्ने यस्तालाई ?

साधारण नेपालीले छोराछोरीलाई कसरी पढाउने ? महँगो शुल्क, महँगा पुस्तक, डे«स, यातायात खर्च अन्य अदृश्य शुल्क–यी सबैको मार गरीब नेपालीले कसरी र कहिलेसम्म सहने ? यस्तो भयानक रसको नाटकको अन्त कहिले हुने ? कुनै पनि कार्यालयमा जानुस् र नौटङ्की हेर्नुस् । तपाईं छक्क पर्नुहुन्छ, मक्ख पर्नुहुन्छ । जीवन नौटङ्की नै हो । सरकारले जे भन्छ त्यो गर्दैन, जे गर्छ त्यो भन्दैन । अब योभन्दा ठूलो नौटङ्की के नै हुन सक्छ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here