• उमाशङ्कर द्विवेदी

उनीहरूको यस्तो पराक्रम हेरेर कोही कोही राजाले भन्न थाले–एक्लै दुर्योधनको अपराधले नै सम्पूर्ण सेना, राजा धृतराष्ट्र र सम्पूर्ण भूमण्डल विनाशतिर बढिरहेको छ तर राजा धृतराष्ट्रको मगजमा यो कुरा अझसम्म पस्न सकिरहेको छैन।

कौरव पक्षका वीरहरू यस प्रकारको कुरा गरिरहँदा सूर्यनारायण अस्ताचल तिर ढल्दै गइरहेका थिए। त्यसैले अर्जुन बडो तीव्र गतिमा जयद्रथतर्फ हानिंदै गइरहेका थिए। कोही पनि वीर योद्धाले उनलाई रोक्न सकिरहेको थिएन। उनले सम्पूर्ण सेनालाई आच्छु–आच्छु पारेका थिए। श्रीकृष्ण सेनालाई कुल्चिंदै बडो तीव्र गतिमा रथ हाँकिरहेका थिए र आफ्नो पाञ्चजन्य शङ्खको ध्वनि गर्दै गइरहेका थिए। यो हेरेर शत्रु पक्षका रथीहरू धेरै उदास हुन पुगे। उडिरहेको धूलोको कारण यति बेला सूर्य भगवान् पनि ढाकिएका थिए तथा वाणहरूबाट व्यथित भएका कौरव सेना श्रीकृष्ण र अर्जुनलाई देख्न पनि सकिरहेका थिएनन्।

सञ्जयले भने–राजन्, अब श्रीकृष्ण र अर्जुन निर्भय भएर आपसमा जयद्रथको वध गर्ने विषयमा कुरा गर्न थाले। त्यो सुनेर शत्रु अत्यन्त भयभीत हुन पुगे। उनीहरूले आपसमा भनिरहेका थिए–जयद्रथलाई छजना महारथीहरूले आफ्नो बीचमा पारेका छन् तर एक पल्ट उनीमाथि दृष्टि परेपछि हाम्रो हातबाट बाँच्ने छैनन्। यदि देउताहरूका साथमा इन्द्र स्वयं उनको रक्षा गर्न आए पनि उनलाई नमारी छाड्दैनौं। त्यति बेला ती दुवैको मुखको कान्ति हेरेर तपाईं पक्षका वीरहरूले ठान्न थाले–यिनीहरूले आज अवश्य नै जयद्रथलाई मारिदिनेछन्।

यसै बेला श्रीकृष्ण र अर्जुनले सिन्धुराज जयद्रथलाई देखे र हर्षले गर्जना गरे। उनीहरूलाई जयद्रथतिर बढिरहेको देखेर तपाईंका पुत्र दुर्योधन जयद्रथको रक्षा गर्न उनीहरूको अगाडि भएर गए। आचार्य द्रोणले दुर्योधनलाई विशेष प्रकारको कवच बाँधिदिएका थिए। अतः दुर्योधन एक्लै रथमाथि चढेर सङ्ग्रामभूमिमा आइपुगे। जति बेला तपाईंका पुत्र अर्जुनलाई नाघेर अघि बढे तपाईंको सम्पूर्ण सेनामा खुशीले बाजा बज्न थाल्यो। अनि श्री कृष्णले भने–अर्जुन, हेर, आज दुर्योधन हामीभन्दा पनि अगाडि बढिसकेको छ। मलाई यो बडो अद्भूत लागिरहेको छ। लाग्दछ यसको समान अर्को कोही रथी छैन। अब समयानुसार उसको साथ युद्ध गर्न म उचित ठानिरहेको छु। आज यो अर्को लक्ष्य बनेको छ–यसलाई आफ्नो सफलता नै बुझ, होइन भने यो राज्यको लोभी तिमीसित युद्ध गरेर मर्न किन आउँथ्यो ? आज सौभाग्यले यो तिम्रो वाणको निशाना बनेको छ। त्यसैले यस्तो केही गर जसले शीघ्र प्राण त्याग गरोस्। पार्थ, तिम्रो सामना त देउता, असुर र मानिससहित तीनै लोकले पनि गर्न सक्दैन, एक्लो यस दुर्योधनको के बिसात ? यो सुनेर अर्जुनले भने–बेस, यदि यति बेला मैले यो काम गर्नु नै छ भने तपाईं जम्मै काम छाडेर दुर्योधनतिर लाग्नुस्।

यस प्रकार कुरा गर्दै श्रीकृष्ण र अर्जुन प्रसन्न भएर राजा दुर्योधनतिर आफ्नो सेतो घोडा हाँके। यस महासङ्कटको बेला पनि दुर्योधन तर्सेनन्, उनले उनीहरूलाई आफू नजीक आउन दिएनन्। यो देखेर उनको पक्षको सेना उनको प्रशंसा गर्न थाल्यो। राजालाई नै सङ्ग्रामभूमिमा लडाइँ गरिरहेको देखेर तपाईंको सेनामा ठूलो कोलाहल हुन थाल्यो। यसबाट अर्जुनको क्रोध झन् बढ्यो। उता दुर्योधन हाँस्दै अर्जुनलाई युद्ध गर्न हाँक दिन थाले। श्रीकृष्ण र अर्जुन पनि उल्लसित हुँदै गर्जना गर्दै शङ्ख बजाउन थाले। उनीहरूलाई प्रसन्न हेरेर तपाईं पक्षका जम्मै सेना दुर्योधनको जीवनबाट निराश भएर कराउन थाले–हरे, महाराज मृत्युको पञ्जामा परिहाले। उनीहरूको कोलाहल सुनेर दुर्योधनले भने–तिमीहरू नडराऊ, म अहिले नै कृष्ण र अर्जुनलाई मृत्युको मुखमा पठाइदिन्छु।

यति भनेर उनले तीनवटा तीखो वाण अर्जुनमाथि हाने र चारवटा वाण हानेर घोडाहरूलाई व्यथित पारे। अनि दशवटा वाण श्रीकृष्णको छातीमा हाने र भल्ल नामक एउटा शस्त्र हानेर उनले हातको चाबुक काटिदिए। अर्जुनले यो हेरेर बडो सावधानीका साथ उनीमाथि चौदहवटा वाण हाने तर ती वाणहरू दुर्योधनले धारण गरेको कवचबाट ठक्कर खाएर जमीनमा खस्न पुगे। यो हेरेर श्रीकृष्णले अर्जुनसित भने–आज त यो अनौठो कुरा हुँदैछ, हेर तिम्रा वाणहरू त शिलामा हानेझैं कुनै काम गरिरहेको छैन। तिम्रा वाणहरू त बज्र समान भयङ्कर र शत्रुको शरीरमा छिर्ने खालका हुन्छन तर कस्तो विडम्बना १ आज यी वाणहरू केही गर्न सकिरहेका छैनन्। अर्जुनले भने–श्रीकृष्ण, लाग्दछ, यस्तो शक्ति दुर्योधनलाई आचार्यले दिएका छन्। दुर्योधनको कवच धारण गर्ने शैलीका कारण मेरो वाणबाट पनि अभेद्य छ। यसको कवचमा तीनै लोकको शक्ति समाहित छ। यसलाई ध्वस्त पार्ने एक मन्त्र, मात्र आचार्यलाई थाहा छ, र उनको कृपाले मलाई पनि त्यसको ज्ञान छ। यस कवचलाई वाणबाट कदापि भेदन गर्न सकिंदैन। यति मात्र होइन, आफ्नो बज्रबाट इन्द्रले पनि यसलाई ध्वस्त पार्न सक्दैनन्। श्रीकृष्ण यो जम्मै रहस्य त तपाईंलाई पनि ज्ञात नै छ, अनि यस प्रकारको प्रश्न गरेर मलाई किन मोहमा पार्दै हुनुहुन्छ ? तीनै लोकमा जे भइसकेको छ, जे हुँदैछ तथा जे हुनेवाला छ–त्यो जम्मै तपाईंलाई विदित छ। यो ठीक छ, दुर्योधन आचार्यले लगाइदिएको यो कवच धारण गरेर निर्भय भई युद्धभूमिमा उभिएको छ तर अब तपाईं मेरो धनुष र भुजाको पराक्रम हेर्नुहोस्। म कवचबाट सुरक्षित रहेको भए पनि आज यसलाई परास्त गरिदिनेछु। क्रमशः…।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here