पोर्ट–ओ–प्रिन्स, हैटी, २६ असार/एएफपी
राष्ट्रपति जोभेनल मोइजको हत्यापछि सङ्कटबाट प्रभावित क्यारिबियन राष्ट्र हैटीमा अस्थिरता मौलाउने खतरा देखिएको भन्दै त्यहाँको अन्तरिम सरकारले संयुक्त राष्ट्रसङ्घ र संयुक्त राज्य अमेरिकालाई आफ्नो बन्दरगाह, एयरपोर्ट र अन्य रणनीतिक स्थल सुरक्षित राखिदिन आग्रह गरेको हैटीका एक उच्च अधिकारीले बताएका छन् ।
हैटीका राष्ट्रपति मोइजलाई गत बुधवार गोली हानी हत्या गरिएको थियो । मोइसलाई उनको घरमा गोली हानी हत्या गरिएको दुई दिनपछि संयुक्त राज्यले एफबिआई र अन्य एजेन्टहरू पोर्ट–ओ–प्रिन्स पठाउने कुरा गरिसकेको छ । निर्वाचनमन्त्री म्याथियस पियरेले भने, “हैटीका राष्ट्रपति मोइजको हत्याकाण्डपछि सेनाले अराजकता पैदा गर्नका लागि केही पूर्वाधार नष्ट गर्न सक्छ भन्ने लागेको छ । अमेरिकी विदेश सचिव र संयुक्त राष्ट्रसङ्घीय अधिकारीबीचको वार्तापछि हामीले हैटी सरकारलाई आवश्यक सहयोग गर्ने अनुरोध गरेका हौं ।”
अमेरिकी विदेश विभाग र पेन्टागन दुवैले ‘सुरक्षा र अनुसन्धान सहयोग’ को लागि अनुरोध प्राप्त भएको पुष्टि गरेका छन् तर शान्ति सेना खटाउने भनेर प्रस्ट सूचना भने दिएका छैनन् । यद्यपि अधिकारीहरू पोर्ट–ओ–प्रिन्सको सम्पर्कमा रहेको उनीहरूले बताए ।
संयुक्त राष्ट्रसङ्घले यसबारे प्रतिक्रियाको लागि अनुरोधप्रति तत्काल स्पष्ट प्रतिक्रिया दिन अस्वीकार गरेको छ । संयुक्त राष्ट्रसङ्घका कूटनीतिक स्रोतले सुरक्षा परिषद्को प्रस्तावलाई हैटीवासीले भनेको जस्तै गर्न आवश्यक भएको सङ्केत गरेको थियो । वाशिङ्टनले हैटीको अनुसन्धानमा मदत गर्ने आफ्नो इच्छाप्रति सङ्केत गरिसकेको छ र ह्वाइट हाउसका प्रवक्ता जेन सासाकीले वरिष्ठ एफबिआई र अन्य अधिकारी सकेसम्म चाँडो क्यारेबियन मुलुक हैटीतर्फ लाग्ने शुक्रवार बताएका छन् ।
क्रूर हत्याको योजना कसले बनाए होला भनेर प्रश्न उब्जिएको छ । हत्यामा संलग्न रहेको आरोपमा कोलम्बियाली तथा अमेरिकी केही व्यक्तिलाई हिरासतमा लिइएको छ वा कारबाहीमा मारियो भन्ने सार्वजनिक गरिएको छैन । हत्यापछि केही अमेरिकी तथा कोलम्बियाली सदस्यलाई सुरक्षा नियन्त्रणमा लिइएको सूचना हैटीका सञ्चारमाध्यमले बाहिर ल्याएका थिए । अनिश्चितताको बीचमा तीन व्यक्तिलाई ११ करोड जनसङ्ख्या भएको देश हैटीको सम्भावित नेताको रूपमा खडा गरिएको छ । त्यहाँ कुनै संसद् छैन ।
राष्ट्रपतिको हत्यापछि सुनसान राजधानीमा षड्यन्त्रको आशङ्काबीच सडक तथा पसलमा चहलपहल बढेको छ भने सार्वजनिक यातायात पुनः शुरू भएको छ । अस्थिरताको सङ्केत देखिंदा नागरिक सुपरमार्केटमा आधारभूत आवश्यकताका सामान खरीद गर्न र भण्डारण गर्न, खाना पकाउन ग्यास किन्न लामबद्ध हुन थालेका छन् । भोलि के हुन्छ हामीलाई थाहा छैन । दुर्दिनको अनुमानबीच नागरिकले आफ्नो छाक टार्ने तयारी गरिरहेका छन्, एक स्थानीयले पोर्ट–ओ–प्रिन्समा सामान किन्दै गर्दा प्रतिक्रिया दिए ।
विगतमा फ्रान्सको अधीनस्थ यो कोलोनीमा विभिन्न समूहबीच शुक्रवार झडप भएको थियो । यसका कारण राजमार्गसमेत प्रभावित बनेका थिए । यस हत्याको दिन बित्दै जाँदा अफ्रिकाको सबैभन्दा गरीब देशका धेरै मानिसले न्यायको माग गरिरहेका छन् । राजधानीका बासिन्दाले एएफपीलाई भने, “विदेशी यो अपराध गर्नका लागि देशमा आएका थिए । हामी हैटीवासी यसबाट विचलित भएका छौं । घटनाको पछाडि कसको हात छ, हामी यो जान्न चाहन्छौं ।”
प्रहरीले २८ जना कोलम्बियाली तथा अमेरिकी समूहले आक्रमण गरेको तर यसको मुख्य योजनाकारको खोजी भइरहेको प्रहरीले जनाएको छ । छानबिनका लागि मोइजको सुरक्षार्थ खटाइएका सुरक्षा टोलीलाई अदालतमा उपस्थित हुन भनिएको छ । हैटीका राष्ट्रपति मोइजको उनकै सुरक्षा सहयोगीद्वारा हत्या भएको हैटीका पूर्वसांसदले यहाँको म्याजिक–नाइन रेडियोसँगको कुराकानीमा बताए । उनले हत्यारा विदेशी नभएको दाबी पनि गरे । रासस