कोरोना नियन्त्रणका लागि सरकारले स्वास्थ्य तथा सुरक्षा मापदण्ड तोकेको छ । घरबाहिर कामविशेषले मात्र निस्कने र निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्ने । साबुनपानीले हात धुने, विसङ्क्रमित हुने र दूरी बनाएर काम गर्ने । स्वास्थ्य मापदण्डमा परेका यी नियमबाहेक पाँचजनाभन्दा बढीको समूहमा हिंड्डुल नगर्ने, विवाह, व्रतबन्ध, मलामीमा २५ जनाभन्दा बढी सहभागी नहुने । होटल, पार्टी प्यालेस आदिमा पनि २५ जनाभन्दा बढी भीडभाड नगर्ने, भीडभाड हुने गरी कुनै पनि सभा, समारोह, उत्सव आदि नगर्ने । विद्यालयहरू वैशाख मसान्तसम्म बन्द गर्ने, होटल, रेस्टुराँ, बन्द व्यापार– व्यवसाय बेलुकी ८ बजेसम्म मात्र सञ्चालन गर्ने आदि इत्यादि कुराहरू सुरक्षा मापदण्डमा परेका छन् । सामान्य मानिसले के मात्र बुझिदिए पुग्छ कि काम नभए बाहिर ननिस्कने, निस्कन परे मास्कको अनिवार्य प्रयोग गर्ने, बाहिरबाट घर प्रवेश गर्दा साबुनपानीले हात धुने, खुट्टामा चप्पलको प्रयोग भएको छ भने खुट्टा पनि धुने, बाहिर मानिससँग दूरी बनाएर आफ्नो कार्य गर्ने अनि कुनै पनि कार्य गरेपछि हातलाई विसङ्क्रमित पार्ने । स्वास्थ्यका दृष्टिकोणबाट सामान्य मानिसले यी मापदण्ड पूरा गर्ने हो भने कोरोना हुनबाट जोगिन सक्छ ।
कोरोना सङ्क्रमण पहिलोचोटि फैलिएको बेला हामीमा सोसम्बन्धी पर्याप्त जानकारी थिएन । विश्व स्वास्थ्य सङ्गठनले जारी गरेका सुरक्षाका मापदण्डहरू पालना गर्ने, चिकित्सकले भने मुताबिक नियन्त्रणका उपायहरू अवलम्बन गर्नुको विकल्प थिएन । तर एक वर्षभन्दा लामो समयमा कोरोनासम्बन्धी धेरैले धेरै कुरा बुझिसकेका छन् । विकसित सञ्चार प्रणालीबाट सानादेखि ठूलासम्म सबैजना कोरोनाका पुराना र नयाँ स्वरूपका लक्षणहरूबाट जोगिनका लागि अवलम्बन गर्नुपर्ने उपायहरूबाट अनभिज्ञ छैनन् । कोरोना कमजोर भएपछि नेपालमा लकडाउन हट्यो, बन्द भएका सबै कुराहरू एकपछि अर्काे गरी खुले । एकाध महीना कोरोना भन्ने कुरा पनि मानिसले बिर्सन पुगे । कोरोनाको कहर नेपालमा मात्र कमजोर भएको थियो । संसारका केही देशमा यसको प्रकोप कायम थियो भने लन्डनमा यसको नयाँ स्वरूपको विकास पनि भएको पाइयो । लन्डनमा विकसित भएको कोरोनाको नयाँ स्वरूप भारत हुँदै अहिले नेपाल छिरेको अवस्था छ । नयाँ स्वरूपको कोरोनाबाट खासगरी बालबालिका र ज्येष्ठ नागरिकहरू चपेटमा पर्ने गरेको देखिएको छ । यसैले भारतमा एकपछि अर्काे गरी प्रदेशहरूमा विद्यालयहरू बन्द हुने क्रम बढेको छ । नेपालमा पनि विद्यालय बन्द गर्ने विषयमा पछिल्लो चरणमा सरकार एकमत देखिएको छ । नत्रभने कहिले देशका पाँच महानगरपालिकाका विद्यालय बन्द गर्ने त कहिले देशका १४ ठूला शहरका विद्यालय बन्द गर्ने निर्णयमा अलमलिएको सरकार अहिले सबै विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णयमा पुगेको छ ।
सरकारको यो निर्णयको विज्ञ भनाउँदाहरू र निजी विद्यालयहरूको प्रतिनिधित्व गर्ने प्याब्सन, एन–प्याब्सनले अटेर गर्दै आएका छन् । विज्ञ भनाउँदाहरूबीचमा पनि मतान्तर छ । प्याब्सन, एन–प्याब्सनले वर्गीय स्वार्थको कुरामा विमति जाहेर गर्न सकेका छैनन् । कोरोनाको कहरका विषयमा उनीहरू अनभिज्ञ नभएका होइनन् तर परीक्षाको मुखमा विद्यालय बन्द गर्दा शुल्क नउठ्ने पीडाले उनीहरूमा यतिसम्म स्वार्थभाव बढेको छ कि बालबालिकाको स्वास्थ्यप्रति गम्भीर हुन सकेका छैनन् ।