पर्सा जिल्लाको राजनीतिक गतिविधि पनि अजिबोगरीब छ । यो यस्तो जिल्ला हो, जहाँ गोर्खादेखि काठमाडौंसम्म कहिल्यै आम चुनाव नजितेका कृष्णप्रसाद भट्टराईले चुनाव जिते, करीमा बेगमले समेत जितिन् अनि बहुदलको चकाचौंधमा राप्रपाका राजीव पराजुलीसमेत विजयी भए । यी ती तीनैजनामध्ये भट्टराई प्रधानमन्त्री बने, बेगम साहिबा राज्यमन्त्री र राजीव पराजुलीको तालुमा आलु फल्यो । रोजीरोजी छानीछानी मन्त्री बने । एक जमाना थियो, जब पर्सामा दुईवटा संसदीय क्षेत्रमा थियो । त्यति बेला दुवै क्षेत्रमा चौधरी थर भएका चन्द्रदेव र मोहन चौधरीले चुनाव जितेर चौधरीको डङ्गा बजाए । काङ्ग्रेसको गढ भनिने पर्सामा एकपटक त सबै संसदीय क्षेत्र तत्कालीन मधेसी जन अधिकारको पोल्टामा गयो । वर्तमान चार क्ष्Fेत्रमा दुई काङ्ग्रेस, एक एमाले र एकमा जसपा विजयी भएका छन् । काङ्ग्रेसको यो गढमा २०३७ सालको जनमत सङ्ग्रहमा पहेंलो अर्थात् सुधारिएको पञ्चायतले बहुमत ल्याएको थियो । जाँडपानीका शोखिन त्यागी काङ्ग्रेसी भनिने आत्माराम ओझासमेत सांसद बने । शहीदपुत्र राजेन्द्रबहादुर अमात्यसमेत सांसद बने । पर्साले थुप्रैलाई राजाबाट रङ्क होइन, रङ्कबाट राजा बनाएको छ, मन्त्री, प्रधानमन्त्री बनाएको छ । पञ्चायती व्यवस्था उपयोगको नाममा स्थानीय प्रधानपञ्चमा चर्चित प्रेम शर्मा वकीललाई त्यतिखेर अनुदारवादी पञ्च विमल श्रीवास्तवले पराजित गरे अनि बहुदलपछिको स्थानीय निर्वाचनमा हरमुठाहा प्रवृत्तिका माधवलाल श्रेष्ठले श्रीवास्तवलाई पटकनी दिए ।
एकपटक राजीव पराजुलीले ‘आप्mनो भन्या आप्mनै हुन्छ, पराइको भर हुँदैन’ भन्ने चुनावी नारा घन्काएका थिए । भट्टराई प्रधानमन्त्री भएपछि फर्केर वीरगंज आएनन् । उनलाई तन, मन, धनले सहयोग गर्ने स्वतन्त्र समूहका तत्कालीन हर्ताकर्ता विमल श्रीवास्तवलाई को श्रीवास्तव ? कहाँको श्रीवास्तव ? भन्दै भेट्नै चाहेनन् ।
भनिन्छ, बुढेसकालमा सांसद बनेका भट्टराईको सुद्धिबुद्धि हराइसकेको थियो । उनी कुन जिल्लाको सांसद भन्नेसम्म उनलाई हेक्का थिएन । पर्सामा खासगरी क्षेत्र नं १ को राजनीतिक वातावरण सधैं धरमराएको देखिन्छ । मधेस प्रदेशमा एकमात्र महानगर हो, वीरगंज । जसपा नेपालबाट जितेका नगरप्रमुख राजेशमान अचेल टुक्रे जसपामा छन् । नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा गरेका उनी घुम्दै फिर्दै लोसपा, एमाले, जसपा नेपाल, टुक्रे जसपापछि कता लाग्ने हुन् के थाहा ? अचेल प्रत्येक भाषणमा उनी वीरगंज सफाइ गरेको, झाडु बडारु गरेको उदेकलाग्दो बयानबाजी सुन्दा उनी वीरगंजका मेयर हुन् कि नाइके छुट्याउनै गा¥हो भएको छ । बिचरा महानगरमा प्रत्येक वडामा कार्यरत नाइकेहरू पनि एकाभोरैदेखि सफाइ अनि सफाइकै सुगारटाइ गर्छन् । गीत नै छ ‘राजा हो या रङ्क, यहाँ तो सब है चौकीदार, कहु तो उनके चले गए कुछ जानेको तैयार, खबरदार ।’