भनिन्छ, संसारको उत्पत्ति नै विस्फोटबाट भएको हो । विस्फोटमा त व्यापक ठूलो ध्वनि हुन्छ । यही ध्वनिलाई कतिपयले सङ्गीतसित जोडेर हेर्छन् । सङ्गीत आफैंमा ध्वनि हो । सङ्गीतको ध्वनिले मानव, वनस्पति र अन्य जीवजन्तुलाई पनि आकर्षित गर्दछ । कतिपय अनुसन्धानमा के देखिएको छन् भने वनस्पतिलाई पनि ध्वनि मन पर्छ । अनि पशुपक्षीले ध्वनिको तालमा आपूmलाई ढालेको पनि पाइएको छ । हुनत घरपालुवा पशु र पक्षीबाट बढी मात्रामा, जसले व्यवस्थितरूपमा केही गराउन खोजेका हुन्छन्, तालीमले राम्रो प्रभाव पारेको हुन्छ तर सङ्गीत त स्वच्छन्दरूपमा रहने चराचुरुँगी तथा पशुहरूलाई पनि मन पर्ने गरेको अध्ययनले देखाएको छ ।
सङ्गीत विभिन्न साधनहरूबाट व्यवस्थित रूपमा निकालिएको आवाज हो । आवाजको पर्याय ध्वनि हो । दुई वस्तु वा पदार्थ आपसमा ठोकिंदा पनि आवाज निस्कन्छ । मानिसले आप्mनो मुखबाट पनि आवाज निकाल्छ । मानिसको मुखबाट निस्कने आवाजलाई बोली भनिन्छ । यद्यपि चराको मुखबाट, कुकुर वा अन्य पशुपक्षीको मुखबाट निस्कने आवाजलाई पनि बोली भन्ने गरिएको पाइन्छ तर मानिसबाहेक अन्य कहींकतैबाट निस्कने बोलीलाई भाषा भनिंदैन । मानिसको बोलीजस्तो व्यवस्थित अन्य कसैको हुन नसक्ने भएकोले अन्य सजीव वा निर्जीवको आवाज चाहिं ध्वनि वा बोली हो, भाषा भने होइन ।
कहिलेकाहीं प्रश्न उठ्दछ–कुनै किसिमको आवाज नभएको भए कस्तो हुन्थ्यो ? जस्तो हाम्रो वर्तमान परिवेश छ, यस आधारमा भन्नुपर्दा यदि आवाज वा ध्वनि नभएको भए हाम्रो संसार निकै नीरस हुन्थ्यो । मानिससित सम्पत्ति नभएको अनुभूति हुन्थ्यो । मानिस सामाजिक प्राणी हुँदैनथ्यो भन्ने होइन किनभने कमिला, बाँदर, हात्तीजस्ता जीवजन्तुमा व्यवस्थित बोली वा भाषा नभए पनि सामाजिक व्यवहार गरेको पाइन्छ । आवाजविहीन मानिसले व्यवस्थित विकास गर्न निकै कठिन हुन्थ्यो । त्यस बेला गीत र सङ्गीतसित जोडिएको सम्पूर्ण क्षेत्रको अवस्था कस्तो हुन्थ्यो होला, कल्पना मात्र गर्न सकिन्छ । आवाजविना मानिस अहिलेको जस्तो नभएर फरक व्यवहारमा उपस्थित हुन्थ्यो होला ।
सामान्यतया मानिसले अहिले जति आवाज सजिलोसित पचाइरहेको छ, यसको दोब्बर वा तेब्बर भइदियो भने कस्तो होला ? अथवा, अहिले मानिसले जेबाट वा जहाँबाट आवाज सुनिरहेको छ, ती सबै आवाज दिने साधन वा जीवको आवाजमा अचानक दोब्बर वा तेब्बर वृद्धि भयो भने के कस्तो अनुभूति हुन्छ ? के मानिसको कान मात्र बहिरो होला ? वा अन्य समस्या पनि आउन सक्छ ? मानिसले यस विषयमा धेरै अध्ययन गरिसकेको छ । जसरी मानिसको कानले ज्यादै सानो वा मसिनो आवाज सुन्न कठिन हुन्छ र त्यसैगरी धेरै चर्को स्वर पनि सुन्न कठिन हुन्छ । मतलब मानिसको कानलाई त्यति मात्र आवाजप्रिय लाग्छ जुन न धेरै सानो होस्, न धेरै चर्को ।
आवाज वा ध्वनिलाई नाप्न सकिन्छ । कुनै पनि आवाज ऋणात्मक हुँदैन । आवाजको गणना जहिले पनि धनात्मक हुन्छ । अनि आवाजको नापोलाई डेसिबल भनिन्छ । मानिसलाई चालीस डेसिबलसम्मको आवाजले खासै नोक्सानी गर्दैन । अर्थात्, चालीस डेसिबलसम्मको आवाज, औसतमा मानिसका लागि उपयुक्त मानिन्छ र यसभन्दा माथि अर्थात्, चालीस डेसिबलभन्दा बढी आवाजलाई चर्को आवाज भनिन्छ । चालीस डेसिबलभन्दा बढी आवाजलाई नै ध्वनि प्रदूषण पनि मानिएको छ । अर्थात्, मानिसको कानलाई सामान्यतया, जब आवाजले अप्ठ्यारो पार्न थाल्दछ तब त्यो ध्वनि प्रदूषण हुन पुग्दछ । अध्येताहरूले ध्वनि प्रदूषणलाई हानिकारक मानेका छन् ।
अत्यधिक चर्को आवाज अर्थात् ध्वनि प्रदूषणबाट मानिसमा झिज्याहट हुने, मानसिक समस्या बढ्ने, गर्भवती महिलाहरूको गर्भ खेर जान सक्ने, मुटु रोगीहरूमा समस्या आउने, कानको सुन्न सक्ने क्षमतामा कमी आउने, वृद्ध वृद्धाहरूको स्वास्थ्यमा समस्या आउने, ध्वनि प्रदूषणबाट बालबालिकामा रातिको समयमा बेचैनी र अनिद्रा हुने जस्ता गम्भीर प्रकृतिका प्रभाव देखिन सक्छ । ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि निकै घातक मानिएको छ । कुनै पनि उमेरका विद्यार्थी, जो परीक्षाको तयारी गरिरहेका छन्, ध्वनि प्रदूषण निकै घातक हो । पढाइ–लेखाइको काम गर्न नदिने निकै ठूलो अवरोधक हो ध्वनि प्रदूषण । जहाँ बढी ध्वनि प्रदूषण हुन्छ त्यहाँ परीक्षाको तयारी गरिरहन सकिंदैन । विद्यार्थी, बालबालिकावा परीक्षार्थी जस कसैले आपूmलाई जतिसुकै ध्यान केन्द्रित गरेर विषयवस्तुमा रोक्न चाहे पनि अत्यधिक ध्वनि प्रदूषणले नकारात्मक प्रभाव पार्छ नै । लेखक, कवि, पत्रकार, साहित्यकार तथा सङ्गीतको अभ्यास गर्ने र ध्यान तथा योग गर्नेहरूका लागि ध्वनि प्रदूषण निकै ठूलो समस्या हो । काम गर्ने क्रममा निकै ठूलो अवरोधक वा बाधा–व्यवधानको रूपमा रहेको देखिएको छ ।
आजभोलि डिजे साउन्ड सिस्टमको विकास भएर मानिसहरूलाई झन् धेरै समस्यामा पारेको छ । कतिपय अवस्थामा त युवा, बालबालिका तथा महिलाहरूलाई डिजेले नाच्ने अवसर जुराइदिएको पनि हो । मुख्यगरी विवाह र विवाहोत्सव तथा जन्मोत्सवको बेला आजभोलि डिजे बाजा बजाएर नाच्ने चलन विकसित भइरहेको छ । शहरी क्षेत्रमा अलिकति बढी छ तर यस प्रवृत्तिले गाउँलाई पनि छोडेको छैन । विवाहको समयमा गाउँमा पनि निकै ठुलो चर्को आवाजमा डिजे बजाएर महिलाहरू नाच्ने गरेका छन् । डिजे बजाउने वा जसले बजाउन लगाउँछ, तिनीहरूबाहेक अरू सबैलाई खराब लागिरहेको हुन्छ तर कुनै पक्ष भने खुशीले नाचिरहेको हुन्छ । यी दुवै विपरीत किसिमका व्यवहार हुन् । एउटालाई नराम्रो लाग्दा अर्को भने रमाइरहेको हुन्छ ।
अझ डिजे साउन्ड सिस्टमबाट चर्को स्वरमा जसरी अश्लील गीत बजाइन्छ, त्यसले समाजमा फरक किसिमले नकारात्मक प्रभाव पारिरहेको देखिएको छ । जब अश्लील गीत गाउँदै चर्को स्वरमा डिजेको आवाजमा कुनै पनि पर्व वा संस्कृतिको नाउँमा महिला र पुरुष नाच्दछन्, त्यसबाट बालबालिकाहरू प्रभावित भएर उस्तै अश्लील गीत सङ्गीतप्रति आकर्षित हुन थाल्छन, त्यसको अनुकरण गर्न थाल्छन् । यसले बालबालिकाको पढाइ वा अन्य सिर्जनात्मक क्रियाकलापमा मन लाग्न छोड्छ र जहाँ डिजेको आवाज सुनिन्छ त्यहाँ पुगेर नाच्न थाल्छन् । यो ज्यादै नराम्रो अभ्यास भइरहेको र यसको असर समाजमा परिरहेको सन्दर्भमा धेरैतिरबाट डिजे साउन्ड सिस्टममाथि रोक लगाउनुपर्ने आवाज उठिरहेको छ ।
डिजे साउन्ड सिस्टमले कतिपय चाडपर्वको समयमा उत्तेजना बढाउने काम पनि गरेको पाइन्छ । चर्को स्वरमा त्यस किसिमको गीत वा सङ्गीत बजाउँदा सहभागीहरू उत्तेजित हुन्छन् । एक त ठूलो आवाज, त्यसमा जोश भर्ने सङ्गीत हुँदा वातावारण नै उत्तेजित हुने गरेको पाइन्छ । यसले गर्दा कहिलेकाहीं सामाजिक सद्भावमा नै नकारात्मक प्रभाव पर्दछ । सामाजिक सद्भावमा खलल पुग्न गई सामाजिक सद्भाव बिथोलिने अवस्था आउन सक्छ ।
अझ अस्पतालहरूको आसपास यदि चर्को आवाज आउँछ वा आइरहन्छ भने बिरामीहरूमा कस्तो प्रभाव पर्ला ? अस्पतालमा सबै बिरामी नै हुन्छन् भन्ने पनि होइन । चिकित्सक र स्वास्थ्य कर्मचारीहरूलाई डिजेको चर्को आवाज अर्थात् ध्वनि प्रदूषणले नकारात्मक प्रभाव पार्न सक्छ । यसैगरी अस्पतालमा अनेक किसिमका बिरामी रहने हुँदा कोही कसैलाई चर्को आवाजले झन् हानि गर्ने पनि हुन्छ । नवजात शिशु, गर्भवती तथा अन्य कारणले छटपटी हुने बिरामीलाई अत्यधिक चर्को आवाजले कति हानि गर्दो हो ? यी र यस्ता विषय तथा पक्षमाथि समाजले गम्भीर सरोकार देखाउनु अहिलेको आवश्यकता भइसकेको छ ।
ध्वनि प्रदूषणलाई कानूनले पनि अपराध मानेको छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा ११२ मा वातावरण प्रदूषण गर्न नहुने उल्लेख गरिएको छ र ध्वनि प्रदूषणलाई दण्डनीय अपराधको श्रेणीमा राखिएको छ । वातावरण संरक्षण ऐनले पनि ध्वनि प्रदूषणलाई अपराध मानेको छ । यसरी कानूनले सजायको व्यवस्था पनि गरेको छ । कानूनन अपराध र स्वास्थ्यको दृष्टिले हानिकारक ध्वनि प्रदूषण, डिजे वा अन्य जुनसुकै माध्यमले भइरहेको छ त्यसलाई रोक्नुपर्छ । समाज तथा स्थानीय सरकार र अन्य सम्बन्धित निकायले पनि ध्वनि प्रदूषण रोक्नतिर ध्यान दिनुपर्छ । अप्रत्यक्षरूपमा धेरै नोक्सानी पु¥याइरहेको ध्वनि प्रदूषणबारे समाज सचेत हुनुपरेको छ ।