काठमाडौं, २ जेठ/रासस

पिस कोरका उपनिर्देशक डेभिड ई ह्वाइट जुनियर नेपालको पाँच दिने भ्रमणमा बुधवार काठमाडौं आइपुगेका छन् । भ्रमणका क्रममा उनले नेपाल सरकार र नागरिक समाजका प्रतिनिधिहरूसँग भेटवार्ता गर्ने यहाँस्थित संयुक्त राज्य अमेरिकी दूतावासले जनाएको छ ।

पिस कोर विश्व शान्ति तथा मित्रताको उद्देश्यबाट अभिप्रेरित स्वयंसेवक, समुदायका सदस्य, आतिथ्य मुलुकका साझेदार र कर्मचारीहरूको अन्तर्राष्ट्रिय सेवा सञ्जाल हो ।

साथै उनले नेपालमा पिस कोर कार्यक्रम विस्तार गर्ने योजनाबारे छलफल गर्नेछन् । उपनिर्देशक ह्वाइट भर्खरै नेपाल आइपुगेका १० जना ‘पिस कोर रेस्पोन्स भोलेन्टियर’हरूको शपथग्रहण समारोहमा पनि सहभागी हुनेछन् ।

नेपालमा काम गर्न आउने रेस्पोन्स भोलेन्टियरहरूको यो नै पहिलो समूह हो । पिस कोर रेस्पोन्स कार्यक्रमले अनुभवी अमेरिकी स्वयंसेवकलाई अल्पकालीन अवधिका, उच्च प्रभाव दिने खालका कामहरू पूरा गर्नतर्पm लक्षित उनीहरूको सहयोगका लागि अनुरोध गर्ने देशमा पठाउँछ ।

भ्रमणका क्रममा उपनिर्देशक ह्वाइटले हाल नेपालभर कार्यरत स्वयंसेवक र उनीहरूका समकक्षीसँग पनि भेटघाट गर्नेछन् । नेपालमा स्वयंसेवकहरू कृषि, शिक्षा र स्वास्थ्यका क्षेत्रमा स्थानीयरूपमा प्राथमिकताप्राप्त परियोजनामा काम गर्छन् । समुदायसँग प्रभावकारीरूपमा सञ्चार तथा सहकार्य गर्नका निम्ति उनीहरू नेपाली भाषा र अन्य स्थानीय भाषाहरू सिक्छन् ।

हाल नेपालका सात जिल्लामा ४० जना पिस कोर स्वयंसेवक कार्यरत छन् । उनीहरूले ग्रामीण समुदायका सरकारी विद्यालयमा अङ्ग्रेजी भाषा पढाउने र खाद्य तथा पोषण सुरक्षामा काम गरिरहेका छन् । शपथग्रहण गर्न लागेको नयाँ समूहसँगै अब नेपालका आठ जिल्लामा कार्यरत पिस कोर स्वयंसेवकहरूको सङ््ख्या ५० पुग्ने भएको छ ।

सन् १९६२ को सेप्टेम्बरमा पिस कोरले नेपालमा पहिलोपटक आफ्नो कार्यसञ्चालन स्थापना गरेको थियो । त्यसयता झन्डै चार हजार अमेरिकी नागरिकले नेपालका विभिन्न क्षेत्र र देशभरि नै काम गरिसकेका छन् ।

विश्वभरिका सरकारहरूको निमन्त्रणमा पिस कोर स्वयंसेवकहरू शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, सामुदायिक आर्थिक विकास र युवा विकासका क्षेत्रमा स्थानीयरूपमा प्राथमिकताप्राप्त परियोजनाहरूमा समुदायका सदस्यहरूसँग काम गर्छन् ।

सेवाको माध्यमबाट पिस कोर सञ्जालका सदस्यहरूले स्थानान्तरण योग्य सीपका साथै अन्तरसांस्कृतिक क्षमता विकास गर्छन् ।

यसले उनीहरूलाई अर्काे पुस्ताका विश्वव्यापी नेतृत्वकर्ताका रूपमा तयार पार्छ । सन् १९६१ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले पिस कोरको स्थापना गरेदेखि दुई लाख ४० हजारभन्दा बढी अमेरिकी नागरिकले विश्वभर १४२ वटा मुलुकमा सेवा गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here