सोल, १७ भदौ/सिन्ह्वा

विश्व स्वास्थ्य सङ्गठन  (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने अघिल्ला दिनका तुलनामा कारोनाजन्य मृत्यु र सङ्क्रमण बढेको छ। यद्यपि अघिल्ला साताका तुलनामा भने सङ्क्रमण दरमा भने केही कमी आएको छ।

बिहीवार मध्यरातसम्म सार्वजनिक गरिएको विवरण अनुसार देशमा ८९ हजार ५८६ जना नयाँ सङ्क्रमित थपिएका छन्। हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३४ लाख १७ हजार ४२५ पुगेको छ।

दक्षिण कोरियामा अघिल्लो दिन अर्थात् बुधवार सार्वजनिक भएको तथ्याङ् अनुसार ८१ हजार ५७३ जना नयाँ सङ्क्रमित थपिएका थिए। दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या बुधवारको तुलनामा बिहीवार घटेको छ। बुधवार कोरोना सङ्क्रमणको कारण ११२ जनाको मृत्यु भएको थियो भने बिहीवार ६४ जनाको मृत्यु भएको छ।

दक्षिण कोरियामा तत्काल यो महामारी साम्य हुने लक्षण देखिएको छैन। योसँगै कोरियामा कोभिड लागेर ज्यान गुमाउनेको सङ्ख्या २६ हजार ९४० पुगेको छ।

यसैबीच भारतमा एकै दिनमा छ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण भएको छ। यहाँ २४ घण्टाको समयावधि अर्थात् बिहीवार मध्यरातिसम्म छ हजार १६८ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको छ।

यसैसँगै भारतमा चार करोड ४४ लाख ४२ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन्। भारतमा एक दिनअगाडि अर्थात् बिहीवार प्रकाशित तथ्याङ्क अनुसार एक दिनमा सात हजार ९४६ जनामा सङ्क्रमण देखा परेको थियो।

दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ। भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ५९ हजार २१० रहेको छ। नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन्।

२४ घण्टाको समयावधि बिहीवार मध्यरात अर्थात् कोरोना सङ्क्रमणबाट भारतमा २१ जनाको मृत्यु भएको छ। यसैसँगै कोरोना शुरू भएबाट हालसम्म पाँच लाख २७ हजार ९३२ भन्दा बढीको मृत्यु भएको छ।

भारतमा हिजो एक दिनमा नौ हजार ६८५ जना कोरोनामुक्त भएका छन्। यसैसँगै कुल चार करोड ३८ लाख  ५५ हजार ३६५ जना कोरोनामुक्त भएका छन्। भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरू भएको थियो। सो समयबाट हालसम्म दुई अर्ब १२ करोड ७५ लाख २३ हजार ४२१ भन्दा बढी मात्रा खोप लगाइएको छ। भारतमा कोरोना शुरू भएयता हालसम्म ८८ करोड ६४ लाख ६६ हजार २५५ जनामा कोरोना भाइरस परीक्षण भएको जनाइएको छ।

पाकिस्तानमा चारजनाको मृत्यु

इस्लामाबाद/सिन्ह्वा

पाकिस्तानमा बिहीवार थप २४२ जनामा कोभिड–१९ मा सङ्क्रमण भएको पुष्टि भएको छ। त्यसैगरी, बिहीवार थप चारजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये ११५ जनाको अवस्था गम्भीर छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here