माधव तिमिल्सिना, ठोरी, ९ फागुन/
ठोरी गाउँपालिका–५ सुवर्णपुरमा रहेको कलश क्याटल फार्मिङ प्रालिमा शुक्रवारदेखि गाईको उद्धार कार्य शुरू भएको छ । कलश क्याटल फार्मिङ प्रालिमा रहेका करीब तीन सय गाई तथा बाछाबाछीहरू सञ्चालकको लापरवाहीले आहारा र पानीसमेत नपाएर भोकभोकै मरिरहेको समाचार प्रतीक दैनिकले प्रकाशमा ल्याएपछि अहिले उद्धार कार्य शुरू भएको हो ।
कलश क्याटल फार्मिङ प्रालिका सञ्चालकहरू अध्यक्ष ईश्वरीलाल जोशी, पूर्वअध्यक्ष एवं सञ्चालक श्यामवदन यादव र गुरु भट्टबीचको आपसी रस्साकस्सीका कारण विगत छ महीनादेखि फार्मको अवस्था नाजुक भएको थियो । एक अर्ब ५७ करोड लागत अनुमान गरिएको कलश क्याटल फार्मिङ प्रालिमा नबिल र ज्योति विकास बैंकले ३२ करोड मात्र लागनी गरेका र सञ्चालकहरूको करीब २३ करोड लगानी भइसकेको अवस्थामा बैंकले थप लगानी नगरेको र बैंकलाई थप लगानीका लागि दबाब दिने उद्देश्यले सञ्चालकहरूले फार्ममा लगानी बन्द गरेका थिए ।
स्रोतका अनुसार तीनैजना सञ्चालकसँग अहिले चालू पूँजीको अभाव छ र बैंकले लगानी नगर्दा फार्मको अवस्था नाजुक भएको हो । पछिल्लो समयमा फार्मको बिजुली बक्यौता १२ लाख नतिरेको, कर्मचारीहरूको छ महीनादेखि तलब नदिएको, किसानहरूको भुक्तानी बाँकी रहेको आदि इत्यादि कारणले सञ्चालकहरू फार्ममा आउन छाडेका थिए र त्यहाँ पालिएका सयौं गाई, बाछाबाछीहरू भोकभोकै मर्न थालेका थिए । छ महीना अवधिमा अहिलेसम्म २५ वटा गाई मरिसकेका छन् ।
यो समाचारलाई प्रतीक दैनिकले प्रकाशमा ल्याएपछि अहिले चौतर्फीरूपमा कलश क्याटल फार्मिङ प्रालिमा रहेका गाईहरूको उद्धारका लागि पहल शुरू भएको छ । ठोरी गापाको न्यायिक समितिमा यसबारेमा परेका उजूरीको आधारमा पालिकाले फार्मको स्थलगत अवलोकन गरेको थियो र गाईहरूलाई अकालमा मर्न नदिनका लागि सञ्चालकहरूलाई दबाब बनाएको थियो । सञ्चालकमध्ये अध्यक्ष जोशी फागुन ८ गते उपस्थित भएपनि दुईजना सञ्चालक यादव र भट्ट उपस्थित नभएपछि आगामी आइतवार फागुन ११ गतेका लागि न्यायिक समितिले सञ्चालकसहित सरोकारवालाहरूको भेला बोलाएको छ ।
ठोरी गापाकी उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले घटनाको गम्भीरतालाई दृष्टिगत गर्दै सञ्चालकहरूसँग सम्पर्क बढाएको तर उनीहरू तत्काल आएर गाईको उद्धारमा संलग्न नभएको आरोप लगाइन् । उनले एकजना सञ्चालक जोशीले मात्र सम्पर्क स्थापित गरी फागुन ८ गते उपस्थित भएको तर यादवले बैंकसँगको मिटिङ भनेर आउन असमर्थता जाहेर गरेको र भट्ट भने सम्पर्कमा नआएको बताइन् ।
गापाध्यक्ष लालबहादुर श्रेष्ठले कलश क्याटल फार्मिङ प्रालिको घटनामा गापा गम्भीर रहेको बताए । उनले शुक्रवार प्राधिकरणलाई आग्रह गरी एक साताको लागि विद्युत् लाइन जोडेर पानीको व्यवस्था मिलाएको बताए । उनले आजै पशु प्राविधिकको टोलीले अनुगमन गरेको तथा आहारा र पानीको अभावमा गाईहरू मरेको पुष्टि भएको बताए । उनले हिजो एउटा गाईले बाछो जन्माएर थला परेकोमा आज प्राविधिकहरूले उपचार गरेको र वडाध्यक्षले आहारा व्यवस्थापन गरेर उद्धार गरेको बताए । गापाध्यक्ष श्रेष्ठले अहिले फार्ममा १० वटाभन्दा बढी गाई निकै सिकिस्त अवस्थामा रहेको र अन्य गाईहरू भोकसँग लडेर तोरीको कुशौराको भरमा बाँचेको बताए ।
कलश क्याटल फार्मिङ प्रालिका गाईहरू पानी र आहाराविना मरिरहेको सन्दर्भमा मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले पनि चासो देखाएका छन् । हिजो उनले सामाजिक सञ्जालमार्फत सुवर्णपुरमा रहेका गाईहरूको उद्धार कार्य तुरुन्त थाल्न प्रहरी र पालिकालाई निर्देशन दिएका थिए । उनकै निर्देशनमा आज पशुविज्ञ टोली वीरगंजबाट घटनास्थलमा पुगेको हो । पालिकाको पशु शाखा र जिल्लाको टोलीले आजैदेखि गाईको उद्धारका लागि आवश्यक परीक्षणहरू थालेका छन् ।
बैंकलाई पनि दबाब परेको छ र बैंकका प्रतिनिधिले पनि आज घटनास्थलमा पुगेर अवस्था अवलोकन गरेका थिए । यसैगरी, यो घटनामा राजनीतिक दलहरूले पनि सक्रियता बढाएका छन् । आज माओवादी केन्द्र बाराका इन्चार्ज अनिल श्रेष्ठ, वडाध्यक्ष अष्टबहादुर लोप्चन, नेपाली काङ्ग्रेस मधेस प्रदेश महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठले घटनास्थलमा पुगेर गाई तथा बाछाबाछीहरूको बिजोग हेरे । यता मुख्यमन्त्री रहेको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले प्रजिअ गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै कलश क्याटल फार्मिङ प्रालिको घटनामा चासो देखाइ गाईको उद्धार गर्न आग्रह गरेका छन् ।