प्रस, वीरगंज, ९ फागुन/
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाल भोजपुरी समाज पर्साले अन्तत्र्रिmया गरेको छ ।
समाजका अध्यक्ष धु्रवसिंह ठकुरीको अध्यक्षतामा नेपाल रेलवे माविमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारीले स्थानीय तहहरूमा मातृभाषामा शिक्षण सिकाइ हुन सके शिक्षाको स्तर बढ्न सक्ने बताए । उनले विद्यार्थीहरूलाई आफ्नै भाषामा लेखिएका पुस्तक पढ्न र लेख्न पाए झनै राम्रो हुने बताए ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाल भोजपुरी समाजले भोजपुरी भाषा, संस्कृति तथा साहित्यका बारेमा विद्यार्थीहरूलाई प्रशिक्षण पनि दिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रभुप्रसाद रौनियार, शिक्षक सन्तोष कर्णलगायतले मातृभाषाको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा समाजका सल्लाहकार मनोजकुमार मिश्र, बलिराम यादव, राजु बैठालगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण सचिव राजेन्द्रसिंह राजपूतले गरेका थिए ।
यसैगरी, अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाल भोजपुरी प्रतिष्ठान वीरगंजले लायन्स क्लब अफ सेस्मी एकेडेमीको सहयोगमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । नेपाल भोजपुरी प्रतिष्ठान वीरगंजकी अध्यक्ष अनीता साहको अध्यक्षता एवं वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णको प्रमुख आतिथ्यमा आयोजित वक्तृत्वकला प्रतियोगितामा लायन्स क्लब अफ सेस्मी एकेडेमीकी आस्मा सिंह यादव, नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुवसिंह ठकुरी, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहलगायतको सहभागिता थियो ।
प्रतियोगितामा त्रिभुवन हनुमान, त्रिजुद्ध, कन्या, माईस्थान विद्यापीठ, सिद्धार्थ र नृसिंह गरी छवटा विद्यालयका १२ जना विद्यार्थी सहभागी थिए । प्रतियोगितामा सिद्धार्थ माविका चन्द्रकान्त महतो प्रथम, त्रिजुद्ध माविका रोहित साह कानू द्वितीय, सिद्धार्थ माविकी अन्तिमाकुमारी रौनियार तृतीय भए । उनीहरूलाई नगद, प्रमाणपत्रसहित शैक्षिक सामग्री प्रदान गरिएको थियो ।
कार्यक्रममा श्याम सर्राफले स्वागत र माधुरी महतोले सहजीकरण गरेका थिए ।
प्रस, सिम्रौनगढ/
यसैगरी, बाराको कलैया उपमहानगरपालिकामा पनि शुक्रवार अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको थियो । कलैयाको कृषि बजारनजीकको गोपाल सेवा समितिमा आयोजित कार्यक्रमको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य उपेन्द्र सहनीले गरेका थिए ।
सो अवसरमा सहनीले कवि महन्त राय यादवद्वारा लिखित भोजपुरी सञ्जीवनी पुस्तकको विमोचन गरेका थिए । यादवद्वारा लिखित सञ्जीवनी र विनयराज गौतमद्वारा लिखित रमरतिया पुस्तकको रामप्रसाद पाण्डे र प्रमोद पाण्डेले समीक्षा गरेका थिए । कार्यक्रममा केदार बैठालगायत पाँचजनालाई सम्मान गरिएको थियो ।
भोजपुरी प्रतिष्ठान बाराका अध्यक्ष रामप्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा भाषा समीक्षा, पुस्तक विमोचन, कविता वाचन, विचार गोष्ठी, कृति मूल्याङ्कनलगायतका कार्यक्रमहरू भएका थिए । कार्यक्रममा सहभागी भोजपुरी, नेपाली र हिन्दीका साहित्यकारहरू सुरेन्द्र गिरी, किशोरीप्रसाद कलवार, रवीन्द्र मिश्र, बतहु यादव, स्मिता पटेल, अजमत अलि, छोटेलाल साह, प्रिया मिश्र, श्रीप्रसाद पासवानले कवितावाचन तथा मन्तव्य व्यक्त गरेका थिए ।