नितेश कर्ण, वीरगंज, ९ फागुन/
चालू आर्थिक वर्षको साउनदेखि माघ महीनासम्म वीरगंज भन्सारबाट सामानको आयात र निर्यात दुवै वृद्धि भएको देखिएको छ ।
वीरगंज भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालू आव २०८१/८२ को साउन महीनामा ४,१७२ करोडको सामान आयात भएको छ भने भदौमा ४,३३३ करोड, असोजमा ४,३५१ करोड, कात्तिकमा ३,९५८ करोड, मङ्सिरमा ५,१२२ करोड, पुसमा ५,७८० करोड र माघमा ५,९११ करोडको सामान आयात भएको छ । यो गत आवको भन्दा बढी भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ ।
यसैगरी, वीरगंज भन्सार कार्यालयबाट चालू आवमा निर्यात पनि बढेको छ । उपलब्ध तथ्याङ्क अनुसार साउन महीनामा २६२.४० करोड, भदौमा २५३.८० करोड, असोजमा २४१.६४ करोड, कात्तिकमा ४५४.५८ करोड, मङ्सिरमा ७१३.८३ करोड, पुसमा १,००१.५७ करोड र माघमा १,१०७.०७ करोड बराबरको सामान निर्यात भएको छ । यो परिमाण पनि गत आवको तुलनामा बढी भएको सो कार्यालयले जनाएको छ ।
यसैगरी, सो कार्यालयले सार्वजनिक गरेको एउटा तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको सात महीनाको तुलनामा गत आवको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयात २२.२७ प्रतिशतले बढेको छ । गत आव २०८०/८१ को तुलनामा चालू आवमा डिजेल ६१,९५९ किलोलिटरले आयात बढेको छ । यसैगरी, पेट्रोल २९,४३५ किलोलिटर, एलपी ग्याँस २,३७,८२,६१४ किलोग्राम, एटिएफ ७,७८३ किलोग्राम र मटीतेल ९६० किलोलिटरले आयात वृद्धि भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ ।
सो कार्यालयले गत आव सात महीनामा पेट्रोलियम पदार्थ आयातबाट ३,८६५ करोड राजस्व असुली भएको र चालू आवको सोही अवधिमा
४,३११ करोड राजस्व असुली भएको जनाएको छ । वीरगंज भन्सार कार्यालयले चालू आवमा आयातको सूची पनि सबैभन्दा बढी पेट्रोलियम पदार्थ रहेको जनाएको छ । वीरगंज भन्सारमा आयात हुने सूचीमा लामो समयदेखि पेट्रोलियम पदार्थको अग्रता कायमै छ ।