प्रस, वीरगंज, ८ फागुन/
राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गर्ने अन्तर्राष्ट्रियस्तरको केपी ओली कप फूटबल प्रतियोगिताको तेस्रो संस्करणमा विभिन्न देशका नौवटा टीमले भाग लिने भएका छन् ।
विविध सांस्कृतिक झाँकीसहित पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फागुन ११ गते एन्फा फूटबल ग्राउन्ड सातदोबाटोमा प्रतियोगिताको उद्घाटन गर्ने कार्यसूची बनेको छ । प्रतियोगितामा नेपालका छवटा ‘ए’ डिभिजन क्लब र आयोजकसहित सात टीम र दुईवटा अन्तर्राष्ट्रिय टीमले भाग लिने राष्ट्रिय युवा सङ्घ नेपालका उपाध्यक्ष एवं प्रवक्ता कृष्णहरि केसीले बताए ।
नेपालका मछिन्द्र फूटबल क्लब, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपिएफ, न्युरोड टीम, केपी ओली फूटबल क्लब, सङ्कटाका साथै ब्याक बुल्स फूटबल क्लब उज्वेकिस्तान र युनाइटेड ट्रान्सपोर्ट फूटबल क्लब भुटानले भाग लिंदैछन् ।
प्रतियोगिताको विजेताले १५ लाख ११ हजार र उपविजेताले पाँच लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकीपर, उदीयमान खेलाडीलाई ५०/५० हजार र ‘प्लेयर अफ द म्याच’लाई १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै, हरेक खेलका विजेता टोलीलाई २५ हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ ।
एन्फा फूटबल मैदान सातदोबाटो र दशरथ रङ्गशालामा हुने प्रतियोगिता फागुन १७ गते समापन हुनेछ ।