“मालिक १ तनी दया…” चनरदेव बोल्यो, उसका पछाडि एक हुल बनिहारा थिए । “हजुरले नै भन्नुभएको थियो– तिमीहरूका माग उपर पनि पूरा विचार गरिनेछ तर यत्तिका वर्ष बितिसके,” उसको आँखामा आँसु टिलपिलायो । खरियानमा थुप्रिएको मुसुरो देखेर तिनीहरूले थुक निले ।
फागुनको अन्तिम साता घाम चर्किसकेको छ । मालिक पीपलको फेदमा छाता ओढेर उभिएका छन् । “इच्छा नलागे काममा नआए हुन्छ । तर बनिहारी वृद्धि हुँदैन ।
महँगी तिमीहरूलाई मात्र बढेको हो र ? ज्यादा पाइने ठाउँमा जानु भोलिदेखि,” उनले एकै सासमा अभिमत जाहेर गरे ।
उसको आँखामा एक दशक अघिका दृश्यहरू आए– त्यतिखेर पनि उनीहरू खरियानमा काम गर्थे । एक दिन सुने, शहरतिर जुलुस नारा छ, उत्सुकता जागेपछि मालिकलाई सोधे– हाम्रा माग पनि… । अथवा हामीले पनि पाँच सेर ज्याला पाउँछौं त ? तिनीहरूका इच्छा, भावना र आकाङ्क्षा च्याउझैं उम्रिए ।
शहरबाट गाउँ करीब २० किलोमिटरको दूरीमा थियो । जुलुस धेरैपटक शहर पुग्यो । समाचार आए । गाउँ चर्चित बन्यो । पछि दलहरू कार्यकर्ता खोज्न गाउँ पसे र आन्दोलित गाउँको नाताले मालिक ठूलो दलका नेता बने ।
“चनरदेव हिंड् घरमा” ऊ वर्तमानमा ओर्लियो । काकी रामदहिया छेउमैं उभिएकी थिइन् । उसले घर सम्झ्यो– छाक टार्न अन्नको गेडा छैन । स्वास्नी र छोराछोरी उसैको मुख ताकिरहेका होलान् । हिजो बेलुका पनि अनाज नभएकाले आधा पेट खाएका थिए ।
“काकी, म रित्तो हात घर जान्नँ,” उसका आँखा पुनः परिवारका नाङ्गा तस्वीर र मालिकको… ।