नरेश यादव, पर्सागढी, २ माघ/
‘भूकम्पले सिकाएको पाठः बलियो संरचना र सुदृढ पूर्वतयारी’ नाराका साथ २७औं भूकम्प सुरक्ष्Fा दिवसको अवसरमा बुधवार वीरगंजमा अन्तर्संवाद कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विपद् आउनु अघि नै सावधानी अपनाउनुपर्ने बताए । उनले विपद् बाजा बजाएर नआउने भएकोले सतर्कता नै जोखिमबाट बच्ने आधार रहेको बताए । विपद्बाट भौतिक तथा मानवीय क्षति हुने भएकोले संरचना बलियो बनाउन तथा भूकम्प आएको बेलामा नआत्तिन सुझाए ।
प्रजिअ अर्यालले संरचना मापदण्ड पालना गरी बनाएमा बलियो हुने बताए । उनले स्थानीय तहहरू विपद्को पर्खाइमा मात्र रहेको आरोप लगाए । विपद्पछि पीडितलाई राहत दिने नाममा भ्रष्टाचार बढी हुने गरेको बताए । उनले नेपालमा विपद् आएको खण्डमा १० लाख जनसङ्ख्यामा २५ जनाको मृत्यु हुन सक्ने दाबी गरे ।
भूकम्पमा मानवीय तथा भौतिक क्षति बढ्नुको मुख्य कारण कमजोर संरचना, स्रोत अभाव, चेतनाशून्य, समन्वयको कमी रहेको बताए ।
कार्यक्रममा नगरप्रमुख राजेशमान सिंहले आफू कार्यक्रममा सहभागी हुँदा मलामी गएजस्तो अनुभूति हुने बताए । उनले भने– हामी कार्यक्रम अवधिसम्म प्रतिबद्धता गर्छौं र समाप्तिपछि बिर्संछौं । हामी जुन अवस्थामा हुन्छौं, त्यही अवस्थालाई निरन्तरता दिंदा कार्यक्रम गर्नुको कुनै औचित्य नहुने बताए ।
नगरप्रमुख सिंहले प्रजिअलाई अर्याललाई सरकारी कार्यालयहरूमा समयसमयमा छड्के अनुगमन गर्न सुझाव दिए । उनले भने– नगरप्रमुखको हैसियतले म प्रतिबद्धता होइन, काम गरेर देखाउने व्यक्ति भएको बताए । कुनै व्यक्तिको वीरगंज मनपामा छ तलासम्मको नक्शापास छ तर त्यो नक्शाको रेकर्ड नक्शाफाटमा छैन । सोको लागि महानगरपालिकाले कारबाई गर्न प्रक्रिया अगाडि बढाएको उनले बताए । उनले वीरगंज महानगरपालिकाले १० तलाभन्दा माथिको भौतिक संरचना बनाउन अनुमति दिन सक्ने र सो संरचनामा आउन सक्ने विपद्को व्यवस्थापन गर्न स्रोत र साधनको पनि व्यवस्थापन गरेको बताए ।
सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले गापाले ६३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेकोमा सो बजेटबाट विभिन्न काम गर्नुपर्ने बताए । उनले अहिले चीसोको समयमा गापाले दाउरा वितरण गर्न पैसा खर्च गरे पनि वनको नियम कानूनका कारण समयमा बाँड्न कठिनाइ भएको आरोप लगाए ।
सशस्त्र प्रहरी १३ नं गण हेडक्वार्टर, पर्साका प्रमुख राधेश्याम धितालले भूकम्प जुनसुकै बेला आउन सक्ने भएकोले सतर्क रहन र सुरक्षित घर निर्माण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा गापा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले विपद् व्यवस्थापन कार्ययोजनाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा पोखरिया नपाका प्रमुख प्रद्युम्न चौहान, पर्सागढी नगरपालिकाका प्रमुख गोेकर्ण पाठक, जगरनाथपुर गापाका अध्यक्ष श्रीकान्त यादव, प्रहरी उपरीक्षक कुमोध ढुङ्गेललगायतको सहभागिता थियो ।
कार्यक्रमको सहजीकरण सहायक प्रजिअ निशानराज गौतम, स्वागत वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले गरेका थिए ।