समाजमा मीडियाको भूमिका

-अनन्तकुमार लाल दास

लोकतान्त्रिक देशमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको क्रियाकलाप माथि नियन्त्रण राख्नको लागि मीडियालाई ‘चौथो स्तम्भ’को रूपमा परिभाषित गरिएको छ। १८ औं शताब्दीपछि खासगरी अमेरिकी स्वतन्त्रता आन्दोलन र फ्रान्सिसी क्रान्तिको बेला आम जनतासम्म पुग्न र उनीहरूलाई जागरूक बनाउने काममा मीडियाले महत्वपूर्ण भूमिका निर्वाह गरेको इतिहास छ। मीडियाले यदि सकारात्मक भूमिका निर्वाह गर्छ भने कुनै पनि व्यक्ति, संस्था, समूह र देशको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक पक्ष समृद्ध बनाउन सकिन्छ।

वर्तमान समयमा मीडियाको उपयोगिता, महत्व र भूमिका निरन्तर बढ्दै गइरहेको छ। आज कुनै पनि समाज, सरकार, वर्ग, समूह र व्यक्ति मीडियाको उपेक्षा गरेर अघि बढ्न सक्दैन। आधुनिक जीवनमा मीडिया एउटा अपरिहार्य आवश्यकता बनेको छ। आधुनिक समाज कसलाई भन्ने कुरालाई विश्लेषण गर्दा के तथ्य प्रस्ट हुन्छ भने मानिसको भीड वा असम्बद्ध मानिसलाई हामी समाज भन्न सक्दैनौं। समाजको वास्तविक अर्थ भनेको परस्पर सम्बन्धको कडी हो जसमा विवेकशील मानिसको समुदायको अस्तित्व हुन्छ।

 मीडिया एउटा समग्र प्रणाली हो जसमा प्रिटिङ्ग प्रेस, पत्रकार, इलेक्ट्रोनिक माध्यम, रेडियो, एफएम, सिनेमा, इन्टरनेट, सामाजिक सञ्जाल आदि सूचनाका माध्यम सामेल हुन्छन्। समाजमा मीडियाको भूमिकाको कुरा गर्दा समाजमा मीडियाले कसरी प्रत्यक्ष र अप्रत्यक्ष योगदान दिइरहेको छ र आफ्नो उत्तरदायित्व निर्वाह गर्दा समाजमाथि सकारात्मक वा नकारात्मक  के प्रभाव परिरहेको भन्ने हुन्छ। यसको प्रभावबारे चर्चा गर्दा के प्रस्ट हुन्छ भने समाजमा मीडियाको शक्ति, महत्व र उपयोगितामा भएको वृद्धिबाट यसको सकारात्मक प्रभावमा पनि धेरै वृद्धि भएको छ तर यसको सँगसँगै समाजमा नकारात्मक प्रभाव पनि देखा परिरहेको छ।

मीडियाले जहाँ आम जनतालाई निर्भीक, जागरूक बनाउने, भ्रष्टाचार उजागर गर्ने, सत्तामाथि तार्किक नियन्त्रण र जनहित कार्य अभिवृद्धिमा योगदान दिएको छ, त्यहीं लोभ, भय, द्वेष, स्पर्धा, दुर्भावना र राजनीतिक कुचक्रको जालमा फँसेर आफ्नो भूमिकालाई कलङ्कित पनि गरेको छ। व्यक्तिगत वा निहित स्वार्थको लागि ‘पीत पत्रकारिता’ गर्नु, ब्लैकमेलद्वारा अरूको शोषण गर्नु, सनसनीखेज समाचारलाई प्राथमिकता दिनु र समाचारलाई बङ्ग्याएर प्रस्तुत गर्नु, दङ्गा फैलाउने खालको समाचार प्रकाशित गर्नु, कुनै घटना र कसैले भनेको कुरालाई दोहोरो अर्थमा पस्किनु, भय वा लोभमा सत्ताधारी दलको चापलुसी गर्नु, अनावश्यकरूपले कसैको प्रशंसा वा महिमामण्डन गर्नु र अन्य कसैको आलोचना गर्नुजस्ता कैयन अनुचित काम हिजोआज मीडियाद्वारा भइरहेको छ। दुर्घटना र संवेदनशील मुद्दालाई बढाइचढाइ पेश गर्नु, इमानदारी, नैतिकता, कर्तव्यनिष्ठा र खोजमूलक समाचारलाई नजरअन्दाज गर्ने कुरा हिजोआज मीडियाको सामान्य लक्षण भएको छ। मीडियाको यस्तो व्यवहारले समाजमा अव्यवस्था र असन्तुलनको स्थिति सिर्जना हुन्छ।

प्रिन्ट मीडिया, टेलिभिजन र सिनेमाको माध्यमले पश्चिमी संस्कृतिको आगमन, प्रभाव र प्रसार भइरहेको छ, जसबाट समाजमा अनावश्यक तनाव, अनावश्यक फैशन, अश्लीलता, चोरी, गुण्डागर्दी जस्ता घटनामा वृद्धि भएको छ। यसले गर्दा युवा पीढी पनि पतनको खाल्डोमा खस्दै गइरहेको छ। इन्टरनेटको माध्यमले कलिला किशोरहरू समक्ष असामाजिक क्रियाकलाप पुगिरहेको छ जसले गर्दा उनीहरूमा नैतिकता, संस्कृति र सभ्यताको निरन्तर ह्रास भइरहेको छ। यी सबैलाई दृष्टिगत गर्दा आज मीडियाको भूमिकामा चर्चा गर्नु आवश्यक भएको छ।

मीडियाको भूमिका यथार्थ सूचना प्रदायकको रूपमा हुनुपर्छ। मीडियाद्वारा समाजलाई विश्वभरि हुने घटनाहरूको जानकारी प्राप्त हुन्छ। यस कारण मीडियाले यथार्थ जानकारी पस्किने प्रयास गर्नुपर्छ। सूचना बङ्ग्याएर, आफूखुशी वा सुनेको भरमा पस्किने प्रयास गर्नु हुँदैन। समाजको हित र जानकारीको लागि सूचनाहरू यथावत् र विशुद्धरूपमा जनता समक्ष प्रस्तुत गर्नुपर्छ। मीडियाले प्रस्तुतीकरण समाजको मार्गदर्शन गर्नेखालको हुनुपर्छ। समाचार र घटनालाई यसरी प्रस्तुत गर्नुपर्छ जसले जनताको मार्गदर्शन हुन सकोस्। उत्तम लेख रचना, सम्पादकीय, ज्ञानवद्र्धक सूचनाहरू, श्रेष्ठ मनोरञ्जन आदिसँग जोडिएका सामग्री समाचारको माध्यममा समावेश हुनुपर्छ, अनि मात्र समाजलाई सही दिशा प्रदान गर्न सकिन्छ।मीडियाले समाजलाई कैयन प्रकारले नेतृत्व प्रदान गर्दछ। यसबाट समाजको विचारधारा प्रभावित हुन्छ।

यस कारण मीडियालाई प्रेरकको भूमिकामा पनि उपस्थित हुनुपर्छ जसबाट समाज र  सरकारलाई समेत मार्गदर्शन प्राप्त हुन सकोस्। मीडिया समाजका बेग्लाबेग्लै समूह वा समुदायको हितको पनि रक्षक हुन्छ। उसले समाजको नीति, परम्परा, मान्यता, सभ्यता र संस्कृतिको प्रहरीको रूपमा पनि आफ्नो भूमिका निर्वाह गर्छ। विश्वभरि घटित विभिन्न घटनाहरूको जानकारी समाजका विभिन्न वर्गलाई मीडियाको माध्यमबाट नै प्राप्त हुन्छ। यस कारण मीडियाले निष्पक्षरूपमा सूचना सम्प्रेषण गर्नुपर्छ।

मीडियाले समाचारद्वारा समाजको असन्तुलन र सन्तुलनमा पनि ठूलो भूमिका निर्वाह गर्छ। मीडिया आफ्नो भूमिकाद्वारा समाजमा शान्ति, सौहार्द, समरसता र सौजन्यको भावना विकसित गर्न सक्छ। सामाजिक तनाव, सङ्घर्ष, मतभेद, युद्ध र दङ्गाको बेला मीडियाले धेरै संयमित भएर काम गर्नुपर्छ। देशप्रति भक्ति र एकताको भावना विकसित गर्न पनि मीडियाको अहम् भूमिका रहन्छ। शहीदको सम्मानमा प्रेरक र उत्साहवद्र्धक समाचार प्रसारणमा मीडियाले अघि बढेर भाग लिनुपर्छ। मीडियाले विभिन्न सामाजिक कार्यको माध्यमबाट समाज सेवकको भूमिका पनि निर्वाह गर्न सक्छ। भूकम्प, बाढी, पहिरो वा अन्य प्राकृतिक वा मानव निर्मित आपदाहरूको बेला जन सहयोग उपलब्ध गराएर मानवताको ठूलो सेवा गर्न सक्छ। सद्प्रवृत्तिको विकास र प्रवद्र्धनको लागि पनि मीडियाले प्रयास गर्नुपर्छ।

मीडियाको उपयोगितालाई हेर्दा यसभित्रको सेन्सरशिप प्रणाली बलियो बनाएर गलत रिपोर्टिङ हुनबाट रोक्नुपर्छ। कतिपय मीडियाको समाचार सम्प्रेषण गर्ने ढाँचाले समस्या समाधानभन्दा जटिल बनाइदिने अवस्था छ। भर्खरै केही राष्ट्रिय र क्षेत्रीय मीडियाले पर्सा जिल्लाको माध्यमिक परीक्षाको एउटा यस्तो गलत तथ्याङ्क प्रकाशित गरेका थिए, जुन खोजतलाश नगरी विभिन्न मानिसले सामाजिक सञ्जालमा हूबहू राख्दा केही छिनका लागि पर्सा जिल्लाको लाजमर्दो अवस्था सिर्जना भएको थियो। यी यावत पक्षलाई केन्द्रमा राखेर मीडियाले असल अभिभावकीय भूमिका निर्वाह गर्दै देश निर्माणको प्रक्रियामा उभिनुपर्छ।

सञ्चारमाध्यमले देशको आवाज बोकेका हुन्छन्। देशको सार्वभौम सत्ता र राष्ट्रिय गरिमालाई अभिव्यक्त गरेको हुन्छ। दुष्प्रचारले राजनीति मात्र होइन जनस्तरीय सम्बन्धमा पनि नकारात्मक असर पार्ने खतरा रहन्छ। सञ्चारमाध्यमको सम्पत्ति भनेको जनविश्वास हो। २१औं शताब्दीमा सञ्चारमाध्यमहरूको द्रुत गतिले विकास भएको छ। यो वर्तमानमा महासागर बनेको छ। हिजोआज गाउँघरमा मीडिया सञ्चालन भएसँगै वडा तह र टोलटोलका विषयले प्राथमिकता पाएका छन्। आम जनताले पनि आप्mना कुरा सहज राख्न पाएका छन्।

भारतका एक चर्चित पत्रकारले के भनेका थिए भने, “एक डरा हुआ पत्रकार मरा हुआ नागरिक पैदा करता है।” यस कारण मीडिया कमजोर हुनुभएन किनभने समाजमा नागरिक अधिकार र लोकतन्त्रलाई जीवित राख्न मीडियाको महत्वपूर्ण भूमिका हुन्छ। यसरी मीडियाको बहुआयामिक भूमिकालाई अवलोकन गर्दा के भन्न सकिन्छ भने मीडिया वर्तमानमा विनाशक र हितैषी दुवै भूमिकामा उपस्थित छ। वर्तमान समयमा मीडियाले आफ्नो शक्तिको प्रयोग जनहितमा गर्नुपर्छ र समाजको मार्गदर्शन गर्नुपर्छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्