प्रस, परवानीपुर, १५ वैशाख/
वीरगंज महानगरपालिका–३१ बेल्वामा सञ्चालित बेल्वा मेलमिलाप सामुदायिक संस्थाको १३औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

वीरगंज–२१ लिपनीबिर्तास्थित पिकनिक पार्कमा सम्पन्न साधारणसभाले गत आव २०७९/८० को आय–व्ययको प्रतिवेदन पारित गरेको थियो भने चालू आव २०८०/८१ को चैत मसान्तसम्मको आर्थिक प्रतिवेदनको समीक्षा गरेको छ ।

संस्थाका अध्यक्ष विष्णुप्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव रेयाज अन्सारी, सहसचिव भैयाराम साह, कोषाध्यक्ष सोनी देवीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

२०६७ सालदेखि सञ्चालनमा आएको संस्थामा शुरूमा १० जना सञ्चालक थिए भने हाल ६० जना शेयर सदस्य छन् । हाल संस्थाको कुल पूँजी रु २२ लाख पुगेको छ । संस्थाले मासिक बचत गर्ने बानी विकास गर्दै टोलमा आर्थिक गतिविधि एवं सेवा स्थानीयस्तरमा उपलब्ध गराउन सङ्गठित भएर संस्था सञ्चालनमा आएको बताएको छ ।

संस्थाले ६० जनाभित्र ऋण प्रवाह गरी लगानी गर्ने गरेको छ । संस्थाले सदस्य रहेका व्यक्तिका छोरीको विवाहको लागि छ महीनासम्म शून्य प्रतिशत र छ महीनापछि एक प्रतिशत मासिक ब्याजदरमा कर्जा उपलब्ध गराउने गरेको छ । ग्रामीण भेगमा बैंक र सहकारीको अभावलाई पूरा गर्न बेल्वाका युवाहरूको प्रयासमा संस्था सञ्चालनमा ल्याइएको हो । कार्यक्रमको सहजीकरण संस्थाका सञ्चालक हरेराम साहले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here