प्रस, परवानीपुर, १५ चैत/
सखुवाप्रसौनी गापा–५ स्थित रामजानकी बोडिङ स्कूलमा कक्षा एलकेजीमा अध्ययनरत सात वर्षीय छात्र अनुपकुमार गोढको उपचारमा विद्यालयले चासो नदेखाएको अभिभावकले आरोप लगाएका छन् ।

यही चैत ११ गते आइतवार विद्यालयको पर्खाल निर्माण भइरहेको स्थलमा रहेको फलाममा लडेर नाबालक गोढ घाइते भएका थिए । उनको वीरगंजस्थित एलएस न्यूरो अस्पतालमा उपचार चलिरहेको छ । घाइते गोढको टाउकोमा २८ वटा टाका लागेको र अवस्था चिन्ताजनक रहेको चिकित्सकले बताएका छन् । उनको उपचारमा अहिलेसम्म विद्यालयले १५ हजार रुपैयाँ मात्र सहयोग गरेको छ ।

घाइते नाबालकका बुबा चन्दन साह गोढले विद्यालयको लापरवाहीका कारण छोराको यो अवस्था भएको र अहिले उपचारमा चासो नदेखाएको आरोप लगाएका छन् । उनले प्रहरीमा यसबारे उजूरी पनि गरेको बताए । घाइते नाबालकका बुबाले विद्यालयको पर्खाललगायत संरचना निर्माण कार्यमा विद्यार्थीहरूलाई इँटा बोकाउने काम लगाइएको आरोप पनि लगाए । पर्खाललगायतको संरचना निर्माणस्थलमा फलाममा खसेर छोरा गम्भीर घाइते भएकोमा अहिले विद्यालयले उपचारमा लापरवाही गरेको आरोप लगाए ।

विद्यालयकी प्रधानाध्यापिका भगवन्तीदेवी कलवारले विद्यार्थीहरू मजदूरीको काम नगराएको ठूला कक्षाका विद्यार्थीहरू फागुको तयारी गर्न निर्माणस्थलमा गएकामा उनीहरूसँगै घाइते बालक पनि गएकाले फलाममा लडेर घाइते भएको बताइन् । उनले विद्यालयले नै अहिलेसम्म उपचार गराउँदै आएको दाबी गरिन् ।

इलाका प्रहरी कार्यालय पोखरिया प्रहरी निरीक्षक मोहनविक्रम केसीले चैत १४ गते बुधवार उजूरी परेको र यसबारे बुझिरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here