प्रस, निजगढ, १५ चैत/
कारको ठक्करबाट एकजना महिला घाइते भएकी र चालक फरार भएको भन्दै आक्रोशित भीडले सोमवार करीब चार घण्टा राजमार्ग अवरुद्ध गरेको थियो । सो कारको ठक्करले निजगढ नगरपालिका–६ सडकटोलकी लक्ष्मी श्रेष्ठ घाइते भएकी इलाका प्रहरी कार्यालय, निजगढले जनाएको छ ।

घाइते श्रेष्ठको वीरगंजस्थित वयोधा अस्पतालमा उपचार भइरहेको र थप उपचारको लागि बुुधवार काठमाडौ लगिएको स्रोतले जनाएको छ । बा.१४च ८४३५ नम्बरको कारले अपराह्न ४ बजे निजगढको सडकटोलमा ठक्कर दिएको थियो ।

साइकलमा सवार श्रेष्ठलाई ठक्कर दिएपछि निजगढमा होटल व्यवसाय गर्दै आएका कार चालक अशोक श्रेष्ठ फरार भएको भन्दै तत्कालै पक्राउ गरी कानूनी कारबाई गर्न आक्रोशित भीडले माग गर्दै इप्रकाअगाडि सडकमा टायर बालेर चर्को नाराबाजीसमेत गरेको थियो । चालक श्रेष्ठले मादक पदार्थ सेवन गरेको आक्रोशित स्थानीयले बताएका थिए । घटनामा संलग्न चालक श्रेष्ठलाई निजगढ प्रहरीले खोजी गरे पनि फेला नपरेपछि प्रहरीले बल प्रयोग गरी अवरुद्ध सडक खुुलाएको थियो ।

सडक खुुलाउने क्रममा आक्रोशित भीडले प्रहरीमाथि ढुुङ्गा प्रहार गरेको थियो । सो कार्यमा संलग्न भएको भन्दै सोही राति प्रहरीले पाँचजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, कलैया चलान गरेको थियो ।

होली पर्वमा केही व्यक्तिले मादक पदार्थ सेवन गरी सडक अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता दधिराम न्यौपानले बताए । फरार कार चालक श्रेष्ठ बुधवार बेलुकी इप्रका निजगढको सम्पर्कमा आएको प्रनि घनश्याम श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here