सप्तरी, १ मङ्सिर/रासस

सप्तरी क्षेत्र नं २ मा चुनावी प्रतिस्पर्धा निकै रोचक बनेको छ । मधेसवादी पृष्ठभूमिका दुईवटा दलका अध्यक्ष र गठबन्धनका उम्मेदवारबीचको प्रतिस्पर्धाले सप्तरी क्षेत्र नं २ को चुनावी प्रतिस्पर्धालाई रोचक बनाएको हो ।

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि एमाले–जसपा गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा सिके राउत र वाम लोकतान्त्रिक गठबन्धनबाट लोसपाका नेता जयप्रकाश ठाकुरसहित १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा अध्यक्षद्वय यादव, डा राउत र ठाकुरबीच रोचक प्रतिपस्र्धा हुने अनुमान गरिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा  सदस्यको निर्वाचनको मिति नजीकिंदै जाँदा तीनै उम्मेदवार चुनावी प्रचारप्रसार सामग्रीसहित मत आआफ्नो पक्षमा पार्न घरदैलोमा व्यस्त छन् । गत २०७४ सालको निर्वाचनमा यसै क्षेत्रमा निर्वाचित जसपा अध्यक्ष यादव आफ्नो जीतलाई दोहो¥याउने दाउमा छन् भने डा राउत र ठाकुरले यादवलाई पराजित गरेर आआफ्नो जीत सुनिश्चित गर्ने योजनामा छन् ।

यतिबेला बिहान र बेलुका चिया गफमा समेत ठाकुर, यादव र डा राउतबीच नै मुख्य प्रतिस्पर्धा हुने चर्चा छ । दल सङ्गठनको अवस्था, राजनीतिक गठबन्धन, जातीय समीकरण र राजनीतिक प्रभावका हिसाबले तीनै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषक रामनारायण यादवले बताए ।

गत २०७४ सालको निर्वाचनमा तत्कालीन राजपा, नेपाली काङ्ग्रेससमेतको साथ पाएर निर्वाचित भएका यादवले अहिले ती दुवै दलको साथ गुमाएका छन् भने एमालेको साथ पाएको छ । चुनावी प्रतिस्पर्धामा रहेका जसपा अध्यक्ष यादवले आफ्नो दलको सङ्गठन बलियो रहेको र आफूले सप्तरीमा गरेको विकास निर्माण कार्यका कारण आफूले जित्ने दाबी गरेका छन् ।

 “मैले गरेको विकास निर्माण कार्य र राजनीतिक भूमिकाका कारण मेरो कसैसँग प्रतिस्पर्धा छैन,” अध्यक्ष यादवले भने, “पाँच वर्षमा विकास निर्माणका धेरै आधार खडा गरेका छौैं, त्यसैले जनताले फेरि पनि मलाई नै मत दिएर विजयी बनाउँछ ।”

आफ्नो कार्यकालमा विभिन्न सडक सञ्जालको निर्माण, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास, नर्सिङ कलेज, कृषि विश्वविद्यालय, गजेन्द्रनारायण सिंह अस्पतालमा सुधारलगायतका काम अघि बढेकाले मतदाताले फेरि पनि अवसर दिने अध्यक्ष यादवको दाबी छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पाएको मतका आधारमा मजबूत देखिएको पाँच दलीय गठबन्धनका उम्मेदवार ठाकुरले यस क्षेत्रमा गठबन्धन मजबूत रहेको, सधैं जनताको बीचमा रहेर निरन्तर काम गरेको र शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा योगदान रहेकाले आफूले चुनाव जित्ने दाबी गरेका छन् ।

 “म जनतासँग नजीक भएर काम गरेको र उहाँहरूको सदैव सेवा गरेको आधारमा पनि मेरो बलियो स्थिति छ,” ठाकुरले भने, “गठबन्धन पनि एक ढिक्का छ, त्यसैले जीत सुनिश्चित छ ।” दुर्ई ठूला गठबन्धनका उम्मेदवारलाई पाखा लगाएर जीत सुनिश्चित गर्ने दाउमा रहेका जनमत अध्यक्ष डा राउतले पुराना नेताबाट जनता दिक्क भइसकेकोले अब निर्वाचनमा मतदाताहरूले आफूलाई विजयी बनाउने दाबी गरेका छन् । पहिलोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएका डा राउतले पहिलो प्रयासमैं आफू सफल हुने बताए ।

 “बूढापाकाको आशीर्वाद र युवाको जोश, जाँगर र ऊर्जाका कारण म उत्साहित छु,” डा राउतले भने, “पुराना नेताबाट जनता दिक्क भइसकेको छ, मतदाता नयाँलाई अवसर दिन चाहिरहेका छन् ।” त्यसैले म चुनाव जित्छु भन्नेमा ढुक्क छु उनको भनाइ थियो ।

कुल ९५ हजार ३४४ मतदाता रहेको यस क्षेत्रमा सप्तरी सदरमुकाम राजविराजसहित महदेवा गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र छिन्नमस्ता गाउँपालिका पर्दछन् । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई जोड्दा पाँच दलीय गठबन्धन बलियो देखिएको छ ।

यस क्षेत्रमा पाँच दलीय गठबन्धनको मत ३७ हजार ३७३ छ भने एमाले–जसपा गठबन्धनसँग १९ हजार ७५ मत र जनमत पार्टीको तीन हजार २७१ मत छ । यस क्षेत्रमा पर्ने राजविराज नगरपालिकाको प्रमुख र उपप्रमुखमा जसपाले जीत हात पर्दा महादेवा गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा लोसपा तथा तिलाठी कोइलाडीमा काङ्ग्रेसले जीत हात पारेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here