• विश्वराज अधिकारी

तीव्र गतिका र अति सुविधायुक्त यातायातका साधन प्रयोग गर्नु, जाडोमा न्यानो र गर्मीमा शीतल हुने घरमा बस्नु, सूचना एवं प्रविधिका अति विकसित माध्यम प्रयोग गर्नु, मनोरञ्जनका अनेक स्तरीय साधन प्रयोग गर्नु र जीवनयापन सरल एवं मनलाई आनन्द दिने साधन र सुविधा प्रयोग गर्नुलाई अहिलेसम्मको स्थापित विश्व–मान्यताले आर्थिक विकास मानेको छ । उपरोक्त सुविधाहरू आफ्ना नागरिकलाई प्रदान गर्ने राष्ट्रलाई विकसित देश भनिएको छ भने आफ्नो नागरिकलाई यस्ता सुविधा उपलब्ध गराउन प्रतिपल प्रयत्नरत देशहरूलाई विकासशील राष्ट्र भनिएको छ । अत्यधिक भौतिक साधन उपयोग गरेर जीवन सरल पार्नु अहिले विश्वका प्रत्येक देशका नागरिकको सपना हो । र यो सपनाको पछाडि अहिले संसारभरिका मानिस दौडिरहेका छन् । परिवार, समाज र स्वदेश परित्याग गरेर संसारका अनेक धनी राष्ट्रमा पुगिरहेका छन् ।

अनेक किसिमका भौतिक वस्तु र सेवा प्रयोग गर्नका लागि हामीले कति ठूलो मूल्य चुकाइरहेका छौं भन्ने जानकारी भने थोरै मान्छेलाई छ । अति विलासी जीवनयापन र सुविधाका वस्तुहरूको अति उपयोगले गर्दा अहिले मानव सभ्यता नष्ट हुने खतरा उत्पन्न भएको छ । यसले पृथ्वीको स्वरूप विनाशकारी किसिमले परिवर्तन हुन सक्ने भविष्यवाणी गर्न थालिएको छ । भोलिका दिनमा मानव सभ्यताको स्थिति के होला र पृथ्वीको स्वरूपमा के कस्तो विनाशकारी परिवर्तन होला त्यो त भोलिका दिनहरूले देखाउने छन् तर अति आर्थिक विकासले भने यो पृथ्वी ज्यादै तातेर कतै बाढी–पैरो गएको, कतै सुख्खाले गर्दा खाद्यान्न उत्पादन हुन नसकेको र कतै ठूला–ठूला आगलागीको स्थिति भएको अहिले नै देखिन थालेको छ । हालै पाकिस्तानमा आएको अति विनाशकारी बाढीले हजारौंको ज्यान लिएको, लाखौं विस्थापित भएका तथा ठूलो मात्रामा धनमालको क्षति भएको घटनाले यस कुराको पुष्टि गर्दछ ।

हाम्रो जीवन सरल र सुविधायुक्त बनाउने जे जति वस्तु–जस्तै, वातानुकूलित भवन, रेल, मोटर, हवाइजहाज, पानीजहाज आदि छन् तिनको सञ्चालन गर्न ऊर्जा आवश्यक पर्दछ । यसैगरी सुविधा वृद्धि गर्न प्रयोग गरिने जे जति वस्तुहरू छन् र जुन उद्योगहरूमा उत्पादन हुन्छन् ती उत्पादन गर्न पनि ऊर्जा चाहिन्छ । निष्कर्षमा भन्ने हो भने अहिलेको यो आधुनिक युगमा हामीले प्रयोग गर्ने सम्पूर्ण वस्तु एवं सेवा उत्पादन गर्न ऊर्जा आवश्यक पर्दछ । ऊर्जाको अभावमा हामी अहिले केही गर्न सक्तैनौं । ऊर्जाको अभावमा, अहिले मानव सभ्यता गतिहीन हुन पुग्छ । अहिलेको मानव सभ्यता ऊर्जामा निर्भर छ ।

आधुनिक जीवनको अभिन्न अङ्ग हुन पुगेको ऊर्जाको प्रमुख स्रोत भने तीनवटा मात्र छ । पेट्रोलियम पदार्थ (-Petroleum Products–Crude Oil), कोइला र प्राकृतिक ग्याँस ऊर्जाका प्रमुख तीन स्रोत हुन् । यी स्रोतहरूको अहिले ठूलो मात्रामा प्रयोग भइरहेको छ । र यी स्रोतहरूले यो पृथ्वीलाई असाधारण किसिमले तातो पारिरहेका छन् । अर्थात् यी तीन परम्परागत ऊर्जाका स्रोत प्रयोग गर्दा यो पृथ्वी असामान्य किसिमले तातिरहेको छ । पृथ्वी तातेर अधिक वर्षा, अधिक सुख्खा, आगलागीजस्ता घटना भइरहेका छन् । सन् २०२२ मा क्यालिफोर्नियामा भएको ठूलो आगलागीलाई यसै तथ्यसँग जोडेर हेरिएको छ ।

मुख्यगरी यातायातका साधन र उद्योग सञ्चालन गर्न पेट्रोलियम पदार्थ, कोइला र प्राकृतिक ग्याँसको ठूलो मात्रामा प्रयोग हुन्छ । र यी ऊर्जाका स्रोतहरूको प्रयोग हुँदा ठूलो मात्रामा कार्बन उत्पादन (विसर्जन) हुन्छ र त्यो कार्बन यो पृथ्वीको वातावरणमा गएर मिसिन्छ । त्यो कार्बनले ताप उत्पादन गरेर पृथ्वीलाई थप तताउने गर्छ ।

विकसित देशहरूले विकासशील देशहरूको तुलनामा बढी कार्बन उत्पादन गर्छन् । विकसित देशहरूमा औद्योगिक र व्यापारिक गतिविधि बढी हुने भएकोले ती देशहरूले बढी कार्बन उत्पादन गर्नु स्वाभाविक हुन आउँछ । विकसित देशहरूको सङ्ख्या कम भएकोले अहिलेसम्म उनीहरूले उत्पादन गर्ने कार्बनको मात्राले पृथ्वी तताउन महत्वपूर्ण भूमिका खेलेको थिएन । तर अहिले आर्थिक विकासको मैदानमा नयाँनयाँ खेलाडीहरू आएर उनीहरूले ठूलो परिमाणमा उद्योग सञ्चालन गर्दा पृथ्वी पहिलेको तुलनामा अहिले छिटै र विनाशकारी किसिमले तातिरहेको छ । चीन, भारत, ब्रजील, इन्डोनेशिया, दक्षिण अफ्रिकाजस्ता देशमा ठूलो परिमाणमा औद्योगिक गतिविधि हुने गरेको र यी देशहरूले गर्ने कार्बन विसर्जनको परिमाण ज्यादै ठूलो भएकोले नयाँ चिन्ता थपिएको छ । चीन र भारतले त पृथ्वीको तापक्रम बढाउने काम मात्र गरेका छैनन्, आफ्नै देशका विभिन्न शहरहरूलाई स्वास्थ्यको दृष्टिकोणले बस्नै नहुने पारेका छन् । भारतको दिल्ली र चीनका एनियाङ, फुशुन, यीगु शहरहरू यति बढी प्रदूषित भएका छन् कि त्यहाँ बस्ने मानिस अनेक किसिमका स्वास्थ्य समस्याहरू भोगिरहेका छन् । ऊर्जाका लागि चीन र भारत दुवै ठूलो परिमाणमा कोइला प्रयोग गर्छन् । उद्योगहरूमा कोइलाको अति प्रयोगले गर्दा चीनका केही शहरका आकाश सदा कालो रङ्गले  छोपिएको देखिन्छ भने भारतको दिल्लीमा सवारीका साधनको अति प्रयोगले गर्दा त्यहाँको वायु प्रदूषण उच्च बिन्दुमा पुगेको छ । यी कारणले गर्दा दिल्लीमा बस्ने ती मानिस, जो धूमपान गर्दैनन्, उनीहरूले पनि दिनको २० देखि २४ वटा सिगरेट पिए बराबरको धूवाँ निल्नुपरिरहेको छ । छोटो समयमा, चीन र भारतले गरेको अति आर्थिक विकासको मूल्य संसारले चुकाइरहेको छ । मुख्यगरी अफ्रिका र गरीब देशहरूले चुकाइरहेका छन् । अफ्रिकी विभिन्न देशमा सुख्खाले गर्दा खाद्यान्नको राम्रो उत्पादन हुन सकेको छैन । र ती देशहरू अहिले भोकमरीको समस्या बेहोरिरहेका छन् । अफ्रिकाका केही देश– इथियोपिया, केन्या, सोमालियामा सुख्खाको कारण अन्न उत्पादन कम भएर, भोकले गर्दा, हजारौंको ज्यान जाने स्थिति उत्पन्न भएको छ । अफ्रिकाका ती देशहरूमा ‘ग्लोबल वार्मिङ’ ले गर्दा सुख्खाको समस्या आएको हो । अर्थात् पृथ्वी बढी तातेर त्यस्तो भएको हो ।

औद्योगिक क्रान्तिको सूत्रपात बेलायतबाट भएको थियो । औद्योगिक क्रान्ति पूर्व यो संसारले ग्लोबल वार्मिड्ढो समस्या भोग्नुपरेको थिएन । पृथ्वी अहिलेको जस्तो तातेको थिएन किनभने उद्योगहरूको स्थापना भएको थिएन । औद्योगिक क्रान्तिसँगै, उद्योगहरूको विस्तार सँगै, देशहरूले आर्थिक समृद्धि हासिल गर्ने क्रमसँगै, कार्बन विसर्जन ठूलो मात्रामा हुन थाल्यो र पृथ्वी अस्वाभाविक किसिमले तात्न थाल्यो । अर्थात् आर्थिक विकासले विनाश ल्याउने क्रम प्रारम्भ भयो ।

आर्थिक समृद्धि त्यतिकै आउँदैन, त्यसका लागि मूल्य पनि चुकाउनुपर्छ । तर अहिले स्थिति फरक देखिएको छ । धनी देशले ग्लोबल वार्मिड्ढो कुअसर कम पार्न सकेका छन् तर गरीब देशहरू सकिरहेका छैनन् र ग्लोबल वार्मिङजन्य अनेक विकराल समस्या भोगिरहेका छन् ।

यहाँ एउटा रोचक कुरा के छ भने ग्लोबल वार्मिङले धनी वा गरीब विश्वका सबै देशका नागरिकलाई कम वा बढी पिरोल्ने हुँदा अहिले विश्वका विभिन्न देशहरू ग्लोबल वार्मिङ समस्या कम पार्न अथवा सफा एवं नवीकरणीय ऊर्जा प्रयोग गर्न सहमत भएका छन् । र त्यही कार्यलाई झनै महत्व दिन अहिले इजिप्टको सार्म अल शेख शहरमा एउटा सम्मेलन गर्न भेला भएका छन् । यो विषयलाई गम्भीर रूपले लिएका छन् । यसै महीना, नोभेम्बर ०६, २०२२ देखि प्रारम्भ भएको उक्त सम्मेलन नोभेम्बर १८, २०२२ सम्म चल्ने छ । संयुक्त राष्ट्र सङ्घले आयोजना गरेको तथा कोप २७ (COP 27– Conference of the Parties) नाम दिइएको उक्त सम्मेलनले मुख्यगरी तीन विषयमा छलफल गर्नेछ । ती विषय हुन्– १. कसरी संसारभरि कार्बन विसर्जन कम पार्ने, २. विभिन्न देशलाई वातारणमा हुने परिवर्तनको सामना गर्न कसरी सहयोग गर्ने तथा ३. कार्बन विसर्जन कम पार्न एवं वातावरणमा हुने परिवर्तनको सामना गर्न विकासशील राष्ट्रहरूलाई धनी राष्ट्रहरूले कसरी सहयोग गर्ने ।

वातावरणलाई अति प्रदूषित हुनबाट जोगाउन संयुक्त राष्ट्रसङ्घको आयोजनामा हुने यस किसिमको सम्मेलन जुन अहिले सार्म अल शेखमा भइरहेको छ, पहिलो भने होइन । सन् २०१५ मा पनि यस्तै सम्मेलन, संयुक्त राष्ट्रसङ्घको आयोजनामा, पेरिसमा भएको थियो र त्यस सम्मेलनको नाम ‘पेरिस सम्झौता’ राखिएको थियो । त्यो सम्झौतमा कार्बन विसर्जन कम पारेर पृथ्वीलाई थप प्रदूषित हुनबाट जोगाउन सहमति पनि भएको थियो ।

पेरिस सहमतिले वातावरण प्रदूषण कम पार्न महत्वपूर्ण योगदान नपु¥याएझैं सार्म अल शेख सम्झौताले पनि वातावरण प्रदूषण कम पार्न महत्वपूर्ण भूमिका नखेल्ने देखिएको छ । विकसित र विकासशील दुवै किसिमका राष्ट्रहरू अहिले नै पेट्रोलियम पदार्थ, कोइला र प्राकृतिक ग्याँसको परिमाण घटाउन सक्ने स्थितिमा छैनन् । र त्यसरी घटाउनु भनेको उनीहरूको आर्थिक विकास अवरुद्ध हुनु हो । आफ्नो अहित गरेर लोकहित गर्न कुनै पनि राष्ट्र तयार हुन सक्तैन । विशेषगरी भारत, चीन, ब्रजील, इन्डोनेशियाजस्ता राष्ट्रले ऊर्जाका ती परम्परागत स्रोतको प्रयोग अहिले बन्द गर्न सक्तैनन् र गर्दैनन् पनि । उनीहरू वातावरणलाई थप प्रदूषित पारि नै रहन्छन् । र पृथ्वी तातो हुने क्रम रोकिंदैन । पृथ्वीको तापक्रममा वृद्धि हुनुको साथै प्राकृतिक विपद् पनि थपिइरहने छ । र हामी सबैले आर्थिक विकासको मूल्य चुकाइरहनुपर्नेछ, त्यस बेलासम्म जबसम्म सफा र नवीकरणीय ऊर्जाको विकास र प्रयोग सस्तो हुन सक्तैन ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here