– बैधनाथ श्रमजीवी
हाम्रो समाजले हजारौं वर्षदेखि महान् शब्द प्रयोग गरेको देखिन्छ। नेपाली शब्दकोषमा महान् शब्दको अर्थ ठूलो, उच्च, विशाल भनिएको छ। महान् शब्द राजा–महाराजा, सम्राट्, सुरवीर, दार्शनिक, राजनीतिक नेता, वैज्ञानिक, अभिनेता, कवि, कलाकार आदि सबै क्षेत्रका प्रतिभावान् मानिसको अगाडि जोडिएर आएको विगतको हाम्रFे लामो इतिहास छ। हुँदाहुँदै महान् शब्द जोडिने क्रम समाजमा खास–खास चाडपर्वको लागि समेत आउन थालेको देखिन्छ। हालका दिनहरूमा हिन्दूहरूको चाड दशैं, छठ र होली, तीज, तिहार भाइटीकालगायत अगाडि पनि महान् शब्द जोडिन थालेको छ। यहाँ बुझ्नुपर्ने कुरो के हो भने जब हामी ठूलोको कुरा गर्छौ त्यहाँ सानो पनि छ भन्ने बुझिन्छ। जब हामी बाठोको कुरा गर्छौ त्यहाँ लाटो पनि छ भन्ने निस्सन्देह बुझिन्छ। जब हामी सेतोको कुरा गर्छौ भने त्यहाँ कालो, रातो, नीलो, हरियो, पहेंलोलगायत अन्य रङ्ग पनि छन् भन्ने कुरा सँगसँगै बुझिन्छ अर्थात् माथिका कुराहरू तुलनात्मक कुराहरू हुन्। जब–जब हामी महान्को कुरा गर्छौ, तब–तब हामीले के बुझ्नुपर्छ भने त्यहाँ शैतान वा तुच्छहरूको पनि उपस्थिति छ। यसरी हाम्रो समाजमा यो महानता र तुच्छता के हो ? आउनुस् यसबारे थोरै चर्चा गरौं।
मानव समाजमा जतिबेलासम्म जङ्गली अवस्था (आदिम साम्यवाद) थियो। त्यति बेलासम्म प्रमुख उत्पादक शक्ति प्रकृति नै थियो। फलस्वरूप त्यहाँ कोही पनि महान् वा तुच्छ थिएन। न कोही ठूलो थियो, न कोही सानो। बरु त्यहाँ सबै समान थिए। सबैले प्रकृतिबाट चाहिने जति खानेकुरा लिन्थे र जीवननयात्रा अगाडि बढिरहन्थ्यो। तर जब मानिसहरूले आगोको आविष्कार गरे सामान्य खालको हतियार (औजार)को प्रयोग गर्न थाले त्यसपछि खानेकुराको लागि एक कबिला अर्को कबिलामाथि हमला गर्न थाले, खानेकुरा बचत गर्न थाले, पराजितहरूलाई दास बनाउन थाले, अनि बिस्तारै व्यक्तिगत सम्पत्तिको प्रार्दुभाव हुने वातावरण तयार हुन थाल्यो। समयक्रममा जुन कबिलासँग जति धेरै दास हुन्थे त्यो कबिलाको बढी खाद्यान्न क्षेत्रमा आधिपत्यको सुनिश्चितता हुन थाल्यो। यस क्रममा मानिसहरू अब बिस्तारै जङ्गली घुमन्ते जीवन त्यागेर एकै ठाउँमा खेतीपाती गरेर बस्न सक्ने स्थिति बन्दै गयो। धेरै दासहरू भएका सरदारहरूलाई महान् भन्न थालियो। यो क्रम सामन्तवादमा ठूल्ठूला राजा– महाराजा सम्राट् तथा महासम्राट्हरूले आफ्नो नाम अगाडि महान् शब्द राखेर विशेष गौरवान्वित हुन थाले।
हाम्रFे समाजमा आजसम्मको ज्ञात इतिहासमा कुनै पनि गरीब, शोषित, उत्पीडित सीमान्तकृत जनजातिको लागि महान् शब्द प्रयोग भएको पाइँदैन। प्रायः धर्मशास्त्रहरूमा महान् शब्दले ब्राह्मण समुदायका ऋषिमुनि महात्माहरूलाई सम्बोधन गरेको देखिन्छ। समाजभित्र राज्यको समेत प्रयोग गरी जबरजस्ती मान्न लगाइएको जात व्यवस्थाभित्र शूद्रहरूलाई सम्पूर्ण अधिकारबाट वञ्चित गरी मान्छेभन्दा पनि पशुको श्रेणीमा राखिएको पाइन्छ। यस क्रममा समाजको सबैभन्दा ठूलो हिस्सा महिलाहरूलाई समेत कुनै अधिकार दिइएन। जुनसुकै जातिको महिला भए पनि तिनीहरू अधिकारविहीन नै देखिन्छ। एउटा ब्राह्मण पुरुष बन्नको लागि उसले पाँचदेखि सात वर्षको उमेरमा वर्तबन्ध गर्नैपर्ने नियम बनाइयो जबकि त्यसैको परिवारको महिलालाई व्रतबन्ध गर्न दिइएन। ब्राह्मणलाई वेद, पुराण, उपनिषद्जस्ता धार्मिक ग्रन्थ पढ्नुपर्ने र पूजापाठ गर्नुपर्ने नियम बनाइयो। तर ब्राह्मण परिवारकै महिलालाई धार्मिक ग्रन्थहरू पढ्न दिइएन। यसरी महिलाहरू जुनसुकै जात वा वर्गको भए पनि तिनीहरूलाई दोस्रो दर्जाको नागरिककै रूपमा हेरियो। खासगरी महिलाहरूलाई भोग्नकै लागि ईश्वरले सृष्टि गरेको सुन्दर, कोमल, सुशील, लजालु जस्ता भाष्यहरूबाट परिभाषित गरियो। तर महिलाहरूलाई अधिकारविहीन बनाएर घरधन्दामा सीमित पारेर केवल पुरुषहरूको सुन्दर खेलौनाको रूपमा प्रयोग गरेको देखिएको छ।
महिलाहरूमा भ्रम उत्पन्न गर्न दुर्गा, सरस्वती, काली, अप्सरा, मेनका, जगत जननी, मातृशक्ति आदि इत्यादि शब्दावलीले बेलामौकामा सम्बोधन गर्ने तर केटाकेटीदेखि नै नारीलाई तिमीहरू लडाकू बन्नुपर्छ, तिमी दुर्गाको रूप हौ, कालीको अवतार हौ, कहिले पनि अन्याय सहनुहुन्न भनेर प्रशिक्षित गरिएन। बरु यसको ठीक उल्टो तिमीहरू पतिव्रता बन्नुपर्छ, तिमीहरू सीताजस्तो पतिभक्त बन्नुपर्छ। तिमीहरूको आदर्श सीता नै हुन् भनेर प्रशिक्षित गरिन्छ। यहाँ एउटा प्रश्न उठ्छ के सीता आदर्श नारी हुन् त ?
रामायणभन्दा बाहिर कुनै सीमाको धार्मिक अस्तित्व भेटिंदैन। रामायणको सीताको असली बुबाआमा को हुन् त्योसम्म खोलाइएको छैन। अवैध सन्तान जन्माएर हिजोआज जसरी खेतमा फालिने गरेको घटना दिनहुँ छापाहरूको समाचार बनिरहन्छ ठीक त्यसैगरी सीता पनि राजा जनकले हलो जोत्दा खेतमा भेट्टाएर घरमा ल्याइएको हो। त्यो सीता जसलाई वनवासको सजाय भएको थिएन तर लोग्नेसँगै चुपचाप वनतिर जान्छे। त्यो सीता जसलाई बा–ह वर्षको वनवासको क्रममा रावणले हरण गरेर लग्छ र युद्धबाट विजयी भएर राम फर्कंदा सीताको चरित्रमाथि शङ्का गरी अग्निपरीक्षा लिइन्छ। राम पुरुष हो। उनी पनि पत्नीविना त्यति लामो समय एकल जीवन बस्दा कुनै अग्निपरीक्षा दिनु पर्दैन तर सीता नारी भएकीले उनले अग्निपरीक्षा दिनुपर्छ। आफूमाथि यति ठूलो अन्याय हुँदा पनि एक शब्द नबोली चुपचाप आगोमा पस्ने सीता समयको अन्तरालमा एक दिन एउटा धोबीले लगाएको आरोपे थाहा पाएपछि सीतालाई वनवासको सजाय दिन्छन्। राम पुरुष हुन् र सीता नारी। राम भगवान्को रूपमा प्रस्तुत पात्र हुन् तर भगवान्जस्तो मर्यादित पुरुषको आफ्नै पत्नीप्रति कस्तो दृष्टिकोण छ त ?
हो, पुरुषहरूको यस्तो बर्बर अत्याचार सहने एक शब्द नबोल्ने सीताजस्ती हुनु भनी सबै आमाबुबाले आफ्नी छोरीलाई शिक्षा दिंदै आएका छन्। छोरीहरूलाई कमजोर बनाउने, उनीहरूको स्वतन्त्रतामा नेल र हत्कडी लगाउने तथा एउटा सुशील सुन्दर आज्ञाकारी दासको रूपमा पुरुषको अगाडि उभ्याउन जगको काम गर्ने धार्मिक चाडपर्वको रचना पुरुषहरूले गरे। यस्तै चाडपर्वमध्ये एक हो तीज।
महिलाहरूको उमेर पुगेपछि रजस्वला हुनु प्राकृतिक कुरा हो तर त्यसलाई पापसँग, अपवित्रतासँग, अबुद्धिसँग जोडेर नारीले वर्षभरिमा गरेका पापहरू धोइपखाली शुद्ध हुन, आफूले चाहेको लोग्ने पाउन तथा आफ्नो पतिको सुस्वास्थ्य तथा दीर्घायुको लागि पानीसमेत नखाई व्रत बस्नुपर्ने, हाँस्नुपर्ने, नाच्नुपर्ने पर्वको नाम हो तीज। हाम्रFे समाजको नसा–नसामा अन्धविश्वास र रूढिवाद भरिएको छ। यो भर्ने काम पनि पुरुषको सत्ता कायम राख्न तथा नारीको जीवन नर्क बनाउन राज्यसमेतको मिलेमतोमा धर्मले प्रमुख भूमिका खेलेको छ। नारीहरूलाई पूर्वजन्म तथा भाग्यवाद र चरम उपभोक्तावादी बजारवादी बनाएर अझैं सयौं वर्ष दासी बनाइराख्ने दिवासपना देख्दैछ पुरुष सत्ता। अनि यस्तो भयावह परिवेशमा आजको आधुनिक विज्ञान र प्रविधिको युगमा नारीहरूलाई भाग्यवाद र दासी जीवनबाट उम्किन नदिन मौलिक संस्कृति छोड्नु हुँदैन भन्ने उपदेश तिनै पुरुषहरू बिहानदेखि बेलुकासम्म विभिन्न सञ्चारमाध्यमहरूमा छाँटिरहेका हुन्छन्। अन्धविश्वास र रूढिवादिताले टुप्पीदेखि पाइतालासम्म जकडेको धार्मिक चाडपर्वहरूलाई महान् भन्ने भाष्य दासता र विभेदको परिचायक हो भन्ने कुरा घामजत्तिकै छर्लङ्ग हुन पुगेको छ।