धनुषा, २१ कात्तिक/रासस
छठ पर्वको पूर्वसन्ध्यामा बजार भाउ निकै महँगिएको उपभोक्ताहरू बताउँछन्। जनकपुरको पिडारी चोकमा छठ पर्वका लागि सामग्री खरीद गर्न पुगेका सतीशलाल कर्णले छठ पर्वमा पूजाका लागि चाहिने केरादेखि कागतीसम्मको भाउ बढेको बताए।
अरू बेला रु पाँच गोटाले पाउने कागती अहिले रु २० गोटाभन्दा कममा पाउन मुश्किल भएको उनले बताए।
छठमा चाहिने सामग्री किन्नका लागि बिहानदेखि बेलुकासम्म बजारमा व्रतालुको भीड निकै बढेको छ। छठ पर्वमा चाहिने आवश्यक सामग्री केरा, उखु, भन्टा, दूध, माटोको हात्ती, ढकनी, केराउ, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवालगायत खरीद गर्नेको सङ्ख्या उल्लेख्य छ। अहिले केरा घरीको रु ५०० देखि ८०० सम्ममा बिक्री भएको व्यापारी बताउँछन्। साथै उखु गोटाको रु १५ मा बिक्री भएको व्यापारीको भनाइ छ।
छठ पर्वमा केराको सिङ्गै घरी प्रसाद चढाउनुपर्ने हुँदा अहिले बजारमा केराको माग अत्यधिक देखिएको छ। तिहार तथा छठलाई लिएर जिल्लास्थित विभिन्न व्यापारिक केन्द्रहरूमा केराको व्यापार बढेको छ। शनिवार मात्रै धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको सखुवा बजारमा लाखौं रुपियाँँको केराको व्यापार भएको केराका एक ठेकेदार बताउँछन्। विगतको तुलनामा यस वर्ष केराको मूल्यमा अत्यधिक वृद्धि भएको छ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मुख्य बजार केन्द्र महेन्द्रनगरमा माग अनुसार आपूर्ति नभएकोले केराको मूल्यमा ह्वात्तै वृद्धि भएको उपभोक्ता सञ्जीप साहले बताए। प्रायः सबै बजारमा अहिले केरो खरीद बिक्री गर्नेको ठूलै भीड लागेको देखिन्छ। स्थानीय बजारमा केराको माग बढेपछि स्थानीय किसानले लगाएको केरा बजारमा ल्याउने क्रम जारी रहेको छ भने मुलुकको विभिन्न ठाउँमा जहाँ केराको खेती गरिन्छ, त्यहाँका केराले पनि बजार आपूर्ति गर्र्न नसक्दा भारतको हाजीपुर, दरभङ्गा, पटना, आसाम, बङ्गाल, ठाकुरगंजलगायत ठाउँबाट केरा मगाएको फलफूल तथा तरकारी व्यवसायी समिति जनकपुरका अध्यक्ष विश्वेश्वर यादवले बताए। गत वर्षको तुलनामा यस वर्ष केराको मूल्य करीब ३० देखि ४० प्रतिशतले वृद्धि भएको छ।
यस क्षेत्रको प्रमुख बजारका रूपमा रहेको सखुवा बजारबाट बिक्री वितरण भई विभिन्न ठाउँ जाने गरेको स्थानीयवासी दिलीप महतोले बताए। छठ पर्वमा बनाउने प्रसाद ठेकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमैं बोलाएर खुवाउने र आफन्त नातेदार कहाँ पु–याउन जाने मैथिल परम्परा छ। पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ। अघ्र्य दिने पूजा सामग्री–ठेकुवा, भुसुवा र अन्य मिष्ठान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पीठोबाटै तयार गरिन्छ।