धनतेरसका दिन प्रदेश २ मा ८ करोडको सुन बिक्री, वीरगंजमा मात्रै तीन किलो खप्यो

0

राधेश्याम पटेल, वीरगंज, २१ कात्तिक/

दुई वर्षदेखि थलिएको प्रदेश २ को आठ जिल्लाको बजार यसपालिको चाडपर्वमा गुलजार भएको छ। खासगरी सुनचाँदीको कारोबार बढेको व्यवसायीहरूको भनाइ छ।

पछिल्लो दुई वर्षको तुलनामा यस वर्ष सुन र चाँदीको दशैं, तिहार र छठको बेला दोब्बर कारोबार बढेको छ। यस पालि धनतेरसको दिन मात्रै प्रदेशभरिमा १० किलो सुन बिक्री भएको नेपाल व्यवसायी महासङ्घ प्रदेश २ का महासचिव रामप्रवेश सर्राफले जानकारी दिए। उनका अनुसार एक किलो सुनमा ११.५२७ प्रतिशतको दरले करीब पौने ८७ भरी (तोला) सुन आउँछ। किलोको करीब ८० लाखको भाउले जोड्ने हो भने करीब ८ करोड बराबरको कारोबार प्रदेश २ को आठ जिल्लामा मात्र भएको उनको भनाइ छ।

सुनचाँदी कारोबारको दृष्टिले प्रदेश २ को मुख्य स्थान हो, पर्साको सदरमुकाम वीरगंज। आर्थिक नगरी वीरगंजमा मात्रै धनतेरसको दिन करीब ३ किलो सुन खपत भएको व्यवसायीहरूको भनाइ छ। सुनचाँदी व्यवसायी सङ्घ, पर्साका सदस्य एवं शङ्कर ज्वेलर्सका सञ्चालक बिक्की सर्राफका अनुसार उनले धनतेरसका दिन मात्रै करीब २५ लाखको सुन बिक्री गरे। सुनचाँदी व्यवसायी महासङ्घ प्रदेश २ का महासचिव सर्राफका अनुसार धनतेरसमा मात्रै प्रदेश २ को आठ जिल्लामा करीब सय किलो चाँदी अर्थात् १ करोड ९ लाख मूल्य बराबरको चाँदी बिक्री भयो। उनका अनुसार १२६० रुपियाँ तोलाको भाउले एक किलोमा पौने ८७ तोलाको हिसाबले १ करोड ९ लाखको कारोबार भयो।

अन्य दिन दैनिक ५० किलोको हाराहारीमा चाँदीको कारोबार हुने गरेको छ। पर्सामा मात्रै करीब ४ सय सुनचाँदीको पसल रहे पनि प्रदेश २ को आठ जिल्लामा १४ सयको हाराहारीमा सुनचाँदी पसल रहेको व्यवसायीहरू बताउँछन्। कारोबारको हिसाबले वीरगंजमा बढी र त्यसपछि जनकपुर, सिरहाको लहान, गोलबजार, सप्तरीको राजविराज, महोत्तरीको जलेश्वर र महोत्तरी, रौतहटको गौर, बाराको कलैया, चन्द्रपुर, निजगढलगायत शहरमा यस पालि राम्रै कारोबार भएको छ।

वीरगंजमा मात्रै अहिले दैनिक २ किलो सुन र १५ देखि २० किलो चाँदीको खपत छ। सुनको सहज आपूर्ति नहुँदF तोलामा ५ सयदेखि २ हजारसम्म बढी दाममा सुनको जोहो गर्नुपरेको व्यवसायीहरूको भनाइ छ। दुई वर्ष कोरोनाले बजार प्रभावित भएको थियो भने नेपाल भारत सीमा पनि बन्द थियो। तर यस पालि सीमा खुलेसँगै दशैं, तिहारमा भारतीय ग्राहकको आवागमन पनि बढेको व्यवसायीको भनाइ छ।

भारतीय सुनभन्दा नेपाली सुनको गुणस्तर राम्रो हुने भएकोले भारतीयहरू सुन किन्न नेपाली बजार आउँछन्। मुख्य उद्देश्य घुमफिर र पर्यटन भए पनि नेपाली आफन्तजनमार्फत सुन खरीद गरी भारत फर्कन्छन्।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here