राजविराज, ८ भदौ/रासस
सप्तरीको राजविराज नगरपालिकस्थित देउरी भरुवामा सहकारी शीतभण्डार निर्माणकार्य अलपत्र परेको छ।
राजविराज –१२ देउरी भरुवामा निर्माणाधीन सो शीतभण्डारको क्षमता तीन हजार मेट्रिक टनको छ। ठेकेदारको चरम लापरवाहीले निर्माण कार्य अहिले रोकिएको छ। ठेकेदार कम्पनीले कोरोना महामारीको बहाना देखाएर विगत ६ महीनादेखि काम स्थागित गरेको बताइएको छ।
जिल्ला सहकारी सङ्घले सहकारी संस्थाको व्यवस्थापन विस्तार एवं यहाँ उत्पादित कृषि उपजको भण्डारण र व्यवस्थापनमा सहयोग पु–याउने ध्येयले सो कार्य अगाडि बढाएको थियो।
विसं २०७५ फागुन महीनामा शिलान्यास गरी निर्माण थालिएको शीत भण्डारको काम ५० प्रतिशत पनि सकिएको छैन। स्थानीयवासीका अनुसार शर्मा आशिष ओम साइराम, सानोठिमीले ठेक्का लिएको थियो।
सङ्घका प्रबन्धक रमेशप्रसाद गुप्ताले शीतभण्डारबाट हजारौं किसानले लाभ लिन सक्ने जनाउँदै शीघ्र निर्माण सम्पन्न गर्न पहल भइरहेको बताए। उहाँका अनुसार यसका लागि पहिलो किस्ता रु तीन करोड बजेट निकासा भएको थियो। अहिले बजेटको अभावमा काम रोकिएको बताइएको छ।
सङ्घीय र प्रदेश सरकारले समयमा अनुदान रकम दिएका छैनन्। सङ्घीय सरकारको ६०, सङ्घ–संस्थाको २० र स्थानीय तथा प्रदेश सरकारको २० प्रतिशत रकम रहने सो शीतभण्डारको क्षमता ३ हजार मेट्रिक टन रहने जनाइएको छ। पाँच च्याम्बर भएको शीतभण्डारको लम्बाइ ४८ मी, चौडाइ ४०.८५ मी उचाइ ९.५ मी रहने प्राविधिकले जनाएका छन्। कुल ६४ हजार ९८२.६८ वर्गमी जग्गा क्षेत्रफल ओगटेको शीतभण्डार निर्माणमा मूल्य अभिवृद्धि कर बाहेक रु २७ करोड लाग्ने जनाइएको छ।