फोहर व्यवस्थापन नहुँदा वाग्मती प्रदूषित बन्दै

0

सर्लाही, ८ भदौ/रास

प्रदेश २ कै धार्मिक तथा पर्यटकीयस्थल नूनथर  प्रदूषित बन्दै गएकोे छ।  रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित उक्त स्थललाई नूनथर क्षेत्र विकास समितिले नै संरक्षण, प्रवद्र्धन र सञ्चालनमा चासो नदिंदा दिनदिनै यहाँ उत्सर्जित फोहरले प्रदूषण बढाएको हो।

घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक, तीर्थालु, पिकनिक मनाउनेहरूले फालेका र होटलबाट निस्कने फोहर व्यवस्थापन नहुँदा उक्त स्थानका साथै नजीकै वाग्मती नदी पनि प्रदूषित भएको छ। अहिले नदी किनारमा प्लास्टिकका खोल, पेय पर्दाथका खाली बोतल देखिन्छन्।

भगवान् शिव–पार्वतीको आस्थाको धरोहर बनेकोे नूनथर र नदीमा फोहर बढ्नु दुःखद भएको वडा नं १ का अध्यक्ष वीरबहादुर राखालले बताए। रौतहट, सर्लाही, मकवानपुर र सिन्धुलीको सङ्गमस्थल बनेको यो स्थललाई प्रकृतिले नै सिंगारेकोले स्थानीयवासीका साथै छिमेकी जिल्ला र भारतबाट पनि ठूलो सङ्ख्यामा पर्यटक आउने गर्दछन्। अहिले यहाँ आउने पर्यटक फोहर देखेर खिन्न हुन थालेका छन्। नूनथर पार्कभित्र फोहर सङ्कलनका लागि केही डस्टबिन राखिए पनि त्यसको सदुपयोग भएको छैन।

फोहर व्यवस्थापन नभए नूनथर क्षेत्रको सुन्दरताका साथै वाग्मती सभ्यतामा पनि असर गर्ने नेपाली काङ्ग्रेस रौतहट क्षेत्र नं ४ का सचिव विनोद गुप्ताले बताए। यहाँको महत्व र सौन्दर्य जोगाइराख्न पहल गर्न जोड दिने समितिका अध्यक्ष रामकुमार भट्टराईले बताए। साउन महीनामा बोलबम आउने तीर्थयात्री र आन्तरिक तथा बाह्य पर्यटक वृद्धिले सो समयमा फोहर व्यवस्थापन गर्न नसकिएकोमा अब छिटै गर्ने र यसका लागि योजनाबद्धरूपमा काम अघि बढाइएको उनको भनाइ थियो।

कुहिने फोहरलाई ठूलो खाडल खनेर जम्मा गर्ने र नकुहिने फोहोरलाई एक ठाउँमा सङ्कलन गरेर व्यवस्थापन गर्ने तयारी भइरहेको समितिका व्यवस्थापक समीर कार्कीले बताए। फोहर टिप्ने कर्मचारी पनि राखिएको र अहिले देखिएका समस्या दीर्घकालीनरूपमा समाधानका लागि योजनाबद्धरूपले  समिति अघि बढिरहेको पनि उनको भनाइ थियो।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here