काठमाडौं, ८ भदौ/रासस
प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी यथाशीघ्र ‘होम सेन्टर’ मा कक्षा १२ को परीक्षा सञ्चालन गर्न निर्देश गरेको छ।
समितिको आज बसेको बैठकले परीक्षा रोकिंदा बालबालिकामा मानसिक असर परेकोले खोपको व्यवस्थापन गर्दै परीक्षा गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देश गरेको छ। समितिले कोभिडका कारण कलेजमा अरू क्रियाकलाप नभएकोले इन्जिनीयरिङ कलेजले पढाइ शुल्कबाहेक अरू शुल्क नलिने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देश गरेको छ।
अरू तहका परीक्षा सञ्चालन भइरहँदा १२ कक्षाको मात्रै पटक–पटक स्थगित भएको भन्दै समितिले सरोकारवाला निकायका प्रतिनिधि बोलाएर छलफल गर्दै आएको थियो।
राष्ट्रिय परीक्षा बोर्डले ‘होम सेन्टर’ मा नै परीक्षा गराउने तयारी गरे पनि सिसिएमसीको निर्णयका कारण स्थगित भएको थियो।