दुर्घटनामा एकजनाको मृत्यु, एकजना घाइते

0

महोत्तरी, ८ भदौ/रासस

पूर्व–पश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने लक्ष्मीनिया वनक्षेत्रमा सडक दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। सोमवार राति ज.४प २७०० नंको मोटरसाइकलमा सर्लाहीतर्फ जाँदै गरेका धनुषा जिल्लाको मिथिला नगरपालिका–३ का ३३ वर्षीय धनपैत महतोको दुर्घटनामा परी मृत्यु भएको हो। महतोकै मोटरसाइकलमा पछाडि बसेका सर्लाहीको हरिओन नगरपालिकाको अत्रौलीका १३ वर्षीय नवीन महतो गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय, बर्दिवासले जनाएको हो।

राति करीब १० बजे महतो चढेको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना.३ख ८८०० नंको तेल ट्याङ्करले ठक्कर दिंदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परी घाइते भएका दुवैलाई तत्काल उद्धार गरी बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल पु–याइएको र अस्पतालमैं चिकित्सकले धनपैतको मृत्यु भएको घोषणा गरेको इप्रका बर्दिवासका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। अर्का घाइते नवीनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ।

मृतक महतोको शव परीक्षण गर्न आज बिहान प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ। तेल ट्याङ्कर, त्यसका चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा राखेको जनाएको छ।

बालिकाको मृत्यु

राजविराज/

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिकास्थित कदमहामा आज बिहान भएको सवारी दुर्घटनामा परी एक बालिकाको ज्यान गएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को.१ख ६९५६ नंको तेल ट्याङ्कर सुरुङ्गा नगरपालिकास्थित दीलिप एन्ड ब्रदर्श पेट्रोलपम्प नजीक रोकिराखेको अवस्थामा सोही दिशातर्फ जाँदै गरेको ना.८ख ३४२२ नको ट्रकले पछाडिबाट ठक्कर दिंदा ट्रक चालक सुनसरी रामधुनी इकराही नपा–४ बस्ने आशाराम चौधरीकी नौ वर्षीय छोरी मेनुका चौधरीको घटनास्थलमैं मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो घटनामा ट्रक चालक ४५ वर्षीय  आशाराम चौधरी, निजकी ४० वर्षीया पत्नी चन्द्रकला थरूनी निजका छोरा आशिष चौधरी घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि सप्तऋषि अस्पताल लहान पठाइएको छ भने ट्रक र ट्याङ्कर प्रहरीको नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ट्याङ्कर चालक तत्काल फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here