काठमाडौं, ३ भदौ/रासस
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार दोहोरो अङ्कले घटेको छ । लगातार कीर्तिमान कायम राख्दै आएको नेप्सेमा शेयर कारोबार हुने साताको अन्तिम दिन आज भने करेक्सन देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा १८.२४ बिन्दुले गिरावट आई तीन हजार १८०.७८ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.३३ बिन्दुले घटेर ५९०.१५ बिन्दुमा सीमित भएको छ । कूल २२९ कम्पनीको तीन करोड नौ लाख १२ हजार ६९७ कित्ता शेयर रु २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७६७ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने आठ उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार १८.७१, निर्जीवन बीमा ४५७.४७, अन्य ३४.२२, लघुवित्त ५०.६३ र जीवन बीमा ४६८.५७ बिन्दुले बढेको छ । यस्तै बैंकिङ १९.५५, होटल तथा पर्यटन ३०.०७, विकास बैंक १६२.४५, जलविद्युत् १२३.३१, वित्त ७३.३१, उत्पादन १९.२८, सामूहिक लगानी कोक्ष ०.१ र लगानी ४.९२ बिन्दुले घटेको छ ।
साताको अन्तिम दिनको कारोबारपछि बजार पूFजीकरण रु ४४ खर्ब ४३ अर्ब १८ करोड सात लाख ८८ हजार २१८ बराबर पुगेको छ ।