रेलवे मुआवजा विवाद टुङ्गिएसँगै कामले गति लिने विश्वास

0

महोत्तरी, ३ भदौ/रासस

बर्दिबास–जनकपुर–जयनगर र पूर्वपश्चिम रेलसेवा विस्तारको काम अब अघि बढ्ने जिल्लावासीले विश्वास लिएका छन् । बर्दिबासमा रेलवेको प्रस्तावित जग्गाको मुआवजा विवाद टङ्गिएसँगै अब कामले गति लिने यहाँ विश्वास पलाएको हो । जिल्लास्थित जग्गा मुआवजा निर्धारण समितिले बुधवार बर्दिबासको रेलवे प्रस्तावित जग्गाको मूल्य निर्धारणको टुङ्गो लगाएको हो ।

 “पछिल्ला सात वक्र्षयताको विवाद अब टुङ्गिएको छ, हामीले सबै सरोकारवालासँगको परामर्शमा मूल्य निर्धारणको काम टुङ्ग्याएका छौं,” प्रमुख जिल्ला अधिकारी तथा जग्गा मुआवजा मूल्य निर्धारण समितिका अध्यक्ष तीर्थराज भट्टराईले बिहीवार बिहान सञ्चारकर्मीसँग भने, “अब मूल्य निर्धारणबारेको सूचना तत्काल निकाल्छौं, भदौ अन्त्यतिर मुआवजा सम्बन्धित जग्गाधनीलाई दिने काम थालिन्छ ।”

समितिले बर्दिबास नगरपालिका वडा नं १ र १४ (साबिक बर्दिबास गाविस क्षेत्र)को रेलवेका लागि पूर्वमा रातु नदीदेखि पश्चिममा भव्सी नदीबीचमा पर्ने प्रस्तावित ५९ बिघा जग्गाको बुधवार साँझ मूल्य निर्धारणको विक्षय टुङ्ग्याएको हो । बर्दिबासका दुवै वडामा रेलवेले रोक्का राखेको जग्गाको न्यूनतम रु सात लाखदेखि अधिकतम रु ८१ लाखसम्म  प्रतिकट्ठा मूल्य निर्धारण गरिएको भट्टराईले जानकारी दिए ।

जग्गाको मुआवजा विवाद टुङ्गिएसँगै अब रेलवे सेवा विस्तारको कामले गति लिने बर्दिबास–१४ का अध्यक्ष भरतबहादुर हमालको विश्वास छ । यसअघि रेलवेमा परेको जग्गाको उचित मूल्य दिनपर्ने माग राख्दै जग्गाधनी आन्दोलित भएपछि रेलवे लिक निर्माणको काम बढ्न सकेको थिएन । जयनगर–बर्दिवास रेलवे परियोजनाको ६९ किलोमिटर दूरीमध्ये जयनगरदेखि विजलपुरा (भङ्गाहा)सम्म लिक र पुलपुलेसाको काम सम्पन्न भइसकेको छ ।

भङ्गाहादेखि बर्दिबाससम्मको १८ किलोमिटर दूरीभित्र साबिकका भङ्गाहा र किसाननगर गाविस (भङ्गाहा अब नगरपालिका र किसाननगर अब बर्दिबासका वडा नं ६ र ७ को मूल्य निर्धारण गत वक्र्ष नै टुङ्गिएको छ । अहिले साबिक बर्दिबास गाविसको मुआवजा निर्धारण टुङ्गिएपछि जिल्लामा अब झमेला नरहेको बर्दिबासका प्रमुख विदुरकुमार कार्की बताउँछन् । किसाननगर र बर्दिबासबीचमा धनुक्षाको मिथिला नगरपालिकाको मुआवजा त्यहाँबाट निर्धारण हुना साथ सबैतिरको रेल विस्तारको कामले गति लिने कार्कीको विश्वास छ ।

जयनगर–बर्दिबास रेलवेको जम्मा ६९ किलोमिटर दूरीमध्ये प्रथम खण्ड जयनगरबाट कुर्थासम्म ३४ किमी, कुर्थाबाट महोत्तरीको भङ्गाहा नगरपालिका–५ स्थित विजलपुरा स्टेशनसम्म १७ किमी दोस्रो खण्ड र विजलपुराबाट महोत्तरीकै बर्दिबाससम्म १८ किमी दूरीलाई तेस्रो खण्ड भनिएको छ । अहिले प्रथम खण्ड तयार भएर सेवा सञ्चालनको तयारी गरिएको र दोस्रो खण्डको काम पनि सम्पन्न भएर परीक्षण मात्र बाँकी छ । पहिलो र दोस्रो खण्डमा चाँडै सेवा सञ्चालन र तेस्रो खण्डमा काम थाल्ने अबको तालिका रहेको नेपाल रेलवे कम्पनी लिमिटेडले जनाएको छ ।

दुई दशकअघिसम्म जयनगर–जनकपुर–विजलपुरासम्म रेलसेवा सञ्चालनमा थियो । विसं २०५९ को बर्खे भेलले हाल लोहारपट्टि नगरपालिकाको बिगही पुल भत्काएपछि त्यतिखेरको जनकपुरदेखि विजलपुरासम्मको रेलसेवा बन्द भएको थियो । अहिले त्यतिखेरको सानो लिकको ठाउँमा ब्रोडगेज लिक बनेको छ । अबको रेलसेवा सुविधायुक्त र छिटोछरितो हुने सर्वसाधारणले आस गरेका छन् ।

अहिले कुर्थादेखि भारतको सीमावर्ती शहर जयनगरसम्म सञ्चालन हुनेगरी ल्याइएको रेलसेट परीक्षणपश्चात् धनुक्षाको इनर्वा स्टेशनमा पार्किङ गरिएको छ । प्राविधिक दक्ष जनशक्ति र प्रशासनिक जनशक्ति व्यवस्थापन गरेर रेल चलाउने तयारी रहेको रेल विभागले जनाएको छ । सन् २०१४ मा भारत सरकारसँगको सम्झौतामा भारतकै रु सात अर्ब २० करोड अनुदान सहयोगमा थालिएको जयनगर–जनकपुर–बर्दिबास रेलवे स्तरोन्नतिको काम सन् २०१९ मैं सकिनुपर्ने तालिका थियो । यद्यपि यसबीचका आन्दोलन (मधेस आन्दोलन), प्राकृतिक विपत्ति (भूकम्प र बाढी) र जग्गा मुआवजा प्रक्रिया नटुङ्गिदा परियोजना सम्पन्न गर्न ढिलाइ भएको रेल विभागले स्वीकार गरेको छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here