• सञ्जय मित्र

आजभोलि मात्र मलाई लाग्न थालेको छ कि स्कूलमा सबैभन्दा बढी प्रश्न सोधिन्छ । हैनभने पहिले पहिले म के बुझ्दथें भने प्रश्न सोध्ने काम त वकीलहरूको हो । मुद्दा लिएर गए पनि वा कसैले मुद्दा दिएको छ भने त्यसको उत्तर दिनु छ भने पनि वकीलले प्रश्न सोधेर हैरान बनाउँछन्।

स्कूलमा भने जस्तोसुकै जान्ने मास्टरले पनि कहिलेकाहीं तीन चित्त खानुपर्दछ । उदाहरणको लागि अङ्ग्रेजी मास्टरहरूलाई तालीम दिइरहेका सरलाई एकजनाले प्रश्न सोधिदिए, सरजी, एबिसिडी दुईटा हुन्छ, एउटा ठूलो एबिसिडी र अर्को सानो एबिसिडी । मलाई जान्ने मन छ कि ठूलो एबिसिडी सानो एबिसिडीभन्दा कतिले ठूलो छ । जेठो भएर ठूलो भएको हो कि आकारमा ठूलो छ ? यदि जन्मको हिसाबले ठूलो र सानो हो भने दुवै एबिसिडीका बुबाआमाका बारेमा पनि बताइदिनुहोस् ।

आफ्नो गाउँको स्कूलमा त तालीम लिइरहेका यी मास्टरहरू नै ठूला छन् तर तिनलाई पनि तालीम दिने अर्कै ठूला मास्टर छन् । ठूलो एबिसिडी र सानो एबिसिडीमा पनि कुनै एक ठाउँमा ठूलो र अर्को ठाउँमा सानो हुने हुन्छ कि ?

ठूलो एबिसिडीका सन्तानहरू र सानो एबिसिडीका सन्तानहरूबीच पनि झगडा छ ? ठूलो र सानो दुवै एबिसिडीका सन्तानहरू किन धेरै बाङ्गाटिङ्गा भएका होलान् ?

अहिलेसम्म सुनेर आनन्द लिइरहेको प्रशिक्षक सरलाई अचम्म लाग्यो । नबुझेर प्रश्न सोधे, कस्तो बाङ्गाटिङ्गा सन्तान ?

उत्तरमा तिनले प्रश्नको भाव नै सारे । कर्सिभ राइटिङ सोझो हुन्छ ? ठूलो र सानो दुवै एबिसिडीका सन्तान हुन्, कर्सिभ राइटिड्ढा लेटरहरू । घमण्डले बाङ्गो भएर हिंड्छन् । यो लेखन किन कहिल्यै सोझो हुँदैन ?

तालीम चलिरहेको दिन एकजना विद्यार्थी भर्ना हुन आयो स्कूलमा । भर्ना त लिनैपर्छ तर पहिलेको पढाइ के कस्तो छ भनेर जाँच्नुपर्छ अथवा अलिअलि सोधपूछ गरेको ढोङ गर्नुपर्छ । अफिसमा विना कुनै फी उसको मौखिक परीक्षा लिएर भर्ना गर्ने कुरो भयो । तालीम दिने वरिष्ठ अङ्ग्रेजी सर अफिसमैं थिए । मौखिक परीक्षा लिने क्रममा सबैभन्दा पहिले विज्ञान सरले प्रश्न गर्नुभो, गुरुत्वाकर्षण केलाई भनिन्छ ?

नवागन्तुक विद्यार्थीको जवाफ, गुरुलाई आकर्षण गर्ने शक्तिलाई गुरुत्वाकर्षण भनिन्छ ।

म त्यहीं थिएँ । नेपालीको पालो आउन बाँकी थियो । मैले वाह, क्या गज्जब १ भनी ताली पिट्दिहालें । अरू सबै गजल्ल हाँसे । म चैं नवागन्तुक विद्यार्थीको सम्मान गर्दै उसको पक्षमा वकालत गरें, कुरो सही गरेको छ । अलिकति नमिल्नु स्वाभाविक हो तर गुरुलाई आकर्षण गुरुत्वाकर्षण भन्ने नवीन तर्कमा सिर्जनात्मकता हेर्नुस् न । अरू विषयमा यसले केही गर्ला वा नगर्ला तर विज्ञानको सबै परिभाषा यसले बदलेर इतिहास बनाउँछ भन्ने कुरामा मलाई पूरापूर विश्वास लागेको छ । यसलाई विद्यालयमा भर्ना गर्दिंदा हुन्छ । विज्ञानको एउटै प्रश्नले नेपालीमा पूरा पास भएको मेरो सिफारिश छ ।

प्रशिक्षक सर अवाक् भएर सुनिरहेका थिए । शायद ठूलो एबिसिडी र सानो एबिसिडीको ह्याङओभर बाँकी थियो । उनले त्यही कुरा सोधे, बाबु, उसो भए सानो एबिसिडीभन्दा ठूलो एबिसिडी कतिले ठूलो छ ?

नवागन्तुक विद्यार्थीले जवाफ दियो, “बाबु छोराको कुरा पछि होला । हाम्रो समाजमा बाबुलाई छोराले प्रश्न सोध्दैन ।”

प्रशिक्षक सरको अनुहार कालोनीलो भयो । म उसको प्रतिभाले अचम्भित भएँ । हलभरि हाँसोले भरियो । अलिकति झर्केरजस्तो विज्ञान सरले अन्तिम प्रश्न सोध्नुभो, उसो भए वनस्पति के हो?
उत्तर ः बाघ ?

विज्ञान सरको हिम्मतै भएन कि ठीक भयो कि बेठीक भयो भनेर जवाफ दिउँ । कसैले बुझ्दै बुझेनन् । उसैलाई स्पष्ट पार्न लगाइयो कसरी वनस्पति बाघ हुन्छ ।

उसले भन्यो, “वन र पति मिलेर वनस्पति बनेको छ । वनको पति जब वनस्पति हुन्छ भने वनको पति को ? सबैलाई थाहा छ कि बाघलाई वनको राजा भनिन्छ । अनि भएन त वनस्पति भनेको बाघ …!”

म त आफैंले रजिस्टरमा नाम चढाइदिउँ कि जस्तो भयो प्रतिभा देखेर । हो, यस्तै सिर्जनात्मक विद्यार्थी त चाहिएको हो । कुनै कमी छ त उत्तरमा । सबै प्रश्नको मौलिक जवाफ । विद्यार्थीको जवाफ सुनेर विज्ञान शिक्षक नाजवाफ हुनुभो । मतलब विद्यार्थीले चुप लगाइदियो ।

मेरो उत्सुकता अलिक बढ्यो । मैले सोधे, तिम्रो व्याकरण कस्तो छ ?
उत्तर ः एकदम नयाँ छ । भर्खर पसलबाट किनेर ल्याएको जस्तो छ । गाता हालेर राखेको छु ।

प्रश्न ः किताबको कुरा होइन, तिम्रो व्याकरण ?
उत्तर ः ए, त्यो पनि राम्रो छ । म धेरै कुद्छु । जति फ्रन्ट रन ठीक छ, त्यत्ति ब्याक रन ठीक छ ।

प्रश्न ः मतलब ?
उत्तर ः ब्याक (Back) र रन (Run) ब्याकरन अर्थात् पछाडि दौड्ने काम १ म ब्याक रन मज्जाले गर्दछु । सधैं अभ्यास गर्छु ।

यति स्वच्छ र सफा जवाफ कसैले दिन सक्दैन । नयाँ भर्ना हुने विद्यार्थीलाई परीक्षा लिने र सिफारिश गर्ने विभागको प्रमुख पनि त्यहीं हुनुहुन्थ्यो । उनको प्रश्न रह्यो ः तिम्रो बुबा के रोजगारी गर्नुहुन्छ ?
उत्तर ः गर्नुहुन्न, कहिलै गर्नुहुन्न ?

प्रश्न ः के गर्नुहुन्न ।
उत्तर ः रोजगारी ।

एकछिन त पूरै शान्त । सम्भवतः सबै शिक्षकको बुझाइ क्षमताभन्दा धेरै माथिको दार्शनिक जवाफ थियो । कसैले बुझ्दै बुझेनन् । अनि लेखापाल सरले नवागन्तुक विद्यार्थीलाई सप्रसङ्ग स्पष्ट पार्नलाई भने पनि त्यसले भन्न शुरू ग¥यो ः “मैले गाडी कि गारी भन्ने बुझिनँ । यदि गाडी हो भने ठीक छ । बुबाले मलाई रोजगाडी दिनुहुन्छ । आज पनि म बुबाकै गाडी लिएर आएको छु ।

यदि गारी हो भने मलाई कहिल्यै गारी दिनुहुन्न अनि किन रोजगारी ?”

बल्ल अलिक स्पष्ट हुन थालेको जस्तो भयो सबैलाई । अघि रोजगारी सोधिएको थियो र रोजगारीको मौलिक अर्थ बल्ल यसले निकाल्दैछ ।

भन्दै गयो ः “रोज भनेको गुलाब त होइन होला । रोज भनेको हरेक दिन भनेको होला … ।” एकै छिन थामिएर फेरि आफैं ः “रोजसित गाडी मिलेर पनि रोजगारी बन्न सक्छ र रोजसित गारीको पनि मेल भयो भने रोजगारी बन्न सक्छ । म कैले पनि गारी अर्थात् गाली खाँदिनँ त बुबाले रोजगारी कहाँबाट खानुहुन्छ ?”

उसको भर्ना भयो । ऊ गयो ।
अब सरहरूको कुरो ।

वास्तवमा सरहरू रोजगारी खानुहुन्छ । रोजगारी अनि मैनाको अन्तमा त के, चार मैनाको अन्तमा तनखा अर्थात् तलब । पहिले रोजगारी खा अनि खानुपर्ने चाहिं तँ नखा रे । खानुपर्ने चैं नखा र नखानुपर्ने चंै रोज खा ।

अद्वितीय विद्वान् विद्यार्थीलाई हरेक दिन कसरी सन्तुष्ट पार्ने होला ? सबै विषयका शिक्षक चिन्तामा छन् । म भने मनमनै उत्सुक छु ः उसबाट धेरै कुरा सिक्न पाइन्छ भनेर ।
आज उसले दिएको केही शब्दको डोज आफैंमा पर्याप्त छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here