राधेश्याम पटेल, परवानीपुर, ११ असार/

मौसम विज्ञहरूले यस वर्ष मनसुनी वर्षा अत्यधिक हुने भएकोले विपद् दल तयार अवस्थामा रहनुपर्ने केन्द्र सरकारको निर्देशन छ। त्यसै कारण सबै जिल्लामा विपद् व्यवस्थापनसम्बन्धी तयारी तीव्र पारिएको छ।

शुक्रवार वीरगंजस्थित सशस्त्र प्रहरी बल १३ नं गण चिनीमिल पर्साले वर्षात्को समयमा आइपर्ने विपद्लाई व्यवस्थापन गर्न बाढीपीडित उद्धार कार्यको अनुशिक्षण अभ्यास गरेको छ।

पर्साको तिलावे खोलामा बाढी आउँदा वीरगंज–१७ अलौं गाउँँ डुबानमा पर्दा गाउँँलेलाई डुङ्गा र डोरीको सहाराले तालीमप्राप्त सुरक्षाकर्मीले कसरी बचाउन सकिन्छ भन्ने अभ्यास गरी देखाएका थिए। सशस्त्र प्रहरी बलले चितवनको कुरिनटारमा बाढी, डुबान तथा कटानमा फसेकालाई उद्धार गर्न जनशक्ति उत्पादन गर्दै आएको र सशस्त्र प्रहरीको ऐन २०५८ को परिच्छेद २ अनुसार नेपालमा आइपर्ने विपद्मा अग्रपङ्क्तिमा सशस्त्र प्रहरीले नै जिम्मेवारी निर्वाह गर्नुपर्ने व्यवस्था रहेकोले अन्य सुरक्षा निकायभन्दा सशस्त्र प्रहरी बढी तयारी अवस्था रहनुपर्छ।

उद्धार अभ्यास कार्यक्रमको समापन सत्रमा कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले जनप्रतिनिधिहरू विपद्को समयमा उद्धारका लागि तयारी अवस्थामा बस्न अनुरोध गरे। उनले वीरगंजमा श्रीसिया र भेडाहा खोलाका कारण दर्जनौं गाउँ डुबानमा पर्दा समस्या उत्पन्न हुने गरेको बताए। उनले करीब रु २५ करोड खर्च गरी भेडाहा खोलामा बाँध निर्माण भएपनि जोखिम रहेकोतर्फ औंल्याए। उनले पन्ध्र वर्ष पहिलेकै अवस्थामा श्रीसिया खोलाको गहिराइ र चौडाइ फर्काउन खोला आसपास भएका अतिक्रमण हटाउन आवश्यक रहेको बताए। नत्र कम चौडाइमा बग्ने पानीले ब्याक फायर गरी बस्ती र टोल डुबानमा पार्ने बताए।

पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले सरकारले विपद्को समयमा कमभन्दा कम जनधनको क्षतिको लागि जिल्ला तथा पालिका स्तरमा विपद् व्यवस्थापन समिति पूर्वतयारी अवस्थामा रहेकोले विपद् आइपरेमा लड्न सकिने बताए। उनले विपद्को समयमा कसको के जिम्मेवारीबारे स्पष्ट व्यवस्था रहेकाले अहिलेदेखि नै तयारी अवस्थामा रहन निर्देशन दिए।

सशस्त्र प्रहरी पर्साका प्रहरी उपरीक्षक राजेन्द्र खड्काले विपद् बाजा बजाएर नआउने भएकोले अहिलेदेखि नै तयारी थालेको र आगामी दिनमा पर्साका विभिन्न युनिटलाई तालीम दिएर पूर्वतयारी अवस्थामा राखिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here