प्रस, पर्सागढी, ९ असार/
वीरगंज महानगरपालिका–३१ कोनियामा उपभोक्ता समितिमार्फत नाला र सडक निर्माणमा अनियमितता भएको पाइएको छ । १८५ फीट सडक र सडकको दायाँ/बायाँ पक्की नाला निर्माणको लागि महानगरपालिकाले उपभोक्ता समितिलाई रु ४८ लाख उपलब्ध गराएको थियो । सोमा जनश्रमदान रु १२ लाख ३१ हजारसहित रु ६० लाख ३१ हजारको यो कार्यमा अहिले अनियमितता भएको पाइएको छ ।
२०७७ माघ १२ गते भएको सम्झौता अनुसार २०७७ चैत १२ गतेसम्म दुई महीनाको अवधिमा उपभोक्ता समितिले यो काम गरिसक्नुपर्ने थियो तर एक वर्षभन्दा बढी समय बितिसक्दा पनि सडक र नाला सम्झौता अनुसार निर्माण नभएको स्थानीयले आरोप लगाएका छन् ।
वीरगंज–३१ कोनियाका शङ्कर पटेल, शम्भु महतो, जयराम राउतले १८५ फीट लामो सडक निर्माण भएको र सोको दुवैतर्फ नाला बनाउने भनेर आप्mनो घर तोडफोड गरिएको तर एकतर्फी नाला बनाइएको बताए । उनीहरूले अहिले वर्षायामको बेला तोडफोड गर्दा घरअगाडि पानी जमेर समस्या भएको बताए ।
शुरूमा ग्रेभल सडकको सम्झौता भएपनि पछि पक्की ढलान सडक बनाइएको र सो पनि सम्झौता अनुसार नभएको उनीहरूले गुनासो गरेका छन् । १८५ फीट लम्बाइ र २० फीट चौडा सडक बनाउनुपर्नेमा उपभोक्ता समितिले १३ फीट चौडा सडक बनाएको र त्यो पनि सय फीटभन्दा लामो नभएको आरोप लगाएका छन् ।
उपभोक्ता समितिका अध्यक्ष जीरा राउत कुर्मीले २०५ फीट लामो सडक पक्की ढलान गरेको दाबी गरे । उनले विभिन्न चरणमा टोलवासीले पटक–पटक झैंझगडा गरेकाले निर्माण कार्य ढिला भएको बताए । एक साताअघि मात्र सबै निर्माण कार्य सम्पन्न भएको उनले बताए । सडकको दुवैतर्फ नाला बनाउने योजना पछिल्लो चरणमा एकातर्फ मात्र बनाउने सम्झौता भएको उनको भनाइ छ ।
१३ सदस्यीय उपभोक्ता समितिमध्ये अधिकांश सदस्यलाई यसबारे गुमराह गरिएको समितिका सदस्य मुरारीप्रसाद यादवले आरोप लगाए । उनले अध्यक्षले मनमौजी पाराले काम गरेको आरोप लगाए ।