शिक्षिकाको मृत्यु होइन हत्या, घटनाको छानबीन गर्न माग

प्रस, वीरगंज, ३० भदौ/
    नारायणी विशेष कोभिड अस्पताल गण्डकमा नेपाल राष्ट्रिय विद्यापीठ मावि श्रीपुरकी शिक्ष्Fिका किरणदेवी कर्णको चिकित्सक, स्वास्थ्यकर्मीको लापरवाहीको कारण मृत्यु भएको खुलासा भएको छ।
    गण्डक अस्पतालमा भदौ १२ गते भर्ना भएकी शिक्षिका कर्ण भदौ २२ गते कोरोना सङ्क्रमित पुष्टि भएको थियो। छातीमा पानी जमेको कारण श्वासप्रश्वासमा समस्या भएर उनलाई अस्पतालमा भर्ना गरिएको थियो। भर्ना गरिएको १० दिनपछि उनमा सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमितलाई मात्र गण्डक अस्पतालमा भर्ना गरिन्छ। यो खोजीको विषय हुन सक्छ, उनलाई कसरी भर्ना गरियो। भर्ना भएको १० दिनपछि सङ्क्रमित शिक्षिकालाई चिकित्सक, स्वास्थ्यकर्मीले पूर्ण बेवास्ता गरेको कारण उनको मृत्यु भएको सोही अस्पतालमा सङ्क्रमित भएर उपचार गराइरहेका सञ्चारकर्मी जियालाल साहले आरोप लगाएका छन्।
    पत्रकार साहले आइसोलेशन, आइसियूको अवस्था एकदमै जर्जर रहेको बताएका छन्। चौबीस घण्टामा एकपटक पनि चिकित्सकहरू आइसोलेशन र आइसियूमा नपुग्ने गरेको उनले बताए। स्वास्थ्यकर्मीहरू पनि दैनिक एकपटक मात्रै, त्यो पनि आइसियूमा पुग्ने गरेको पत्रकार साहको भनाइ छ। उनले आइसियूमा भएका बिरामीहरूको उपचारमा लापरवाही भइरहेको छ भने आइसोलेशनमा भएका सङ्क्रमितहरूको उपचार र हेरचाह कसरी भइरहेको छ भनेर सहज अनुमान लगाउन सकिने बताए।
    पत्रकार साहले आइसियूमा भर्ना भएका बिरामीहरू सक्नेले आफैं पानी पिउनुपर्ने, अक्सिजन फेर्नुपर्नेलगायतका समस्या विद्यमान रहेको बताए। स्वास्थ्यकर्मी र चिकित्सकले सिसिटिभीबाट अनुगमन गर्ने र बिरामीलाई समस्या भएपछि उपचार गर्ने भनिएको प्रचारबाजी पनि मिथ्या भएको उनको आरोप छ। सिसिटिभीबाट बिरामीहरूको निगरानी भइरहेको भए कठिन अवस्थाका बिरामीहरूलाई समस्या नहुनुपर्ने र समस्या देखिएको खण्डमा चिकित्सकहरूले त्यसको निदान गर्नुपर्ने उनको भनाइ छ।
    पत्रकार साहले कर्णको मृत्यु सम्बन्धमा त्यहाँ उपलब्ध सिसिटिभीको फुटेज हेरेर अनुसन्धान गरी दोषीमाथि कारबाई हुनुपर्ने बताएका छन्। आफूले लगाएको आरोप सिसिटिभीबाट प्रमाणित हुन सक्ने उनको भनाइ छ। पत्रकार साहले कर्णको मृत्यु नभई हत्या भएको र त्यसको जिम्मेवारी अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीमाथि जानुपर्ने भन्दै घटनाको निष्पक्ष छानबीन गरी कारबाई हुनुपर्ने माग गरेका छन्।
    आइसोलेशनमा बसेका र आइसियूमा भएका बिरामीहरूको स्वास्थ्य उपचारको अवस्था यस्तो छ भने त्यहाँको सरसफाइ पनि एकदमै दयनीय अवस्थामा रहेको पत्रकार साहले जिकिर गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here