प्रस, गरुडा, ३० भदौ/
    गत साउन २४ गतेदेखि जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा जारी निषेधाज्ञा असोज १ गतेदेखि खुल्ने भएको छ। जिल्लाका सरकारी कार्यालय तथा गैरसरकारी सङ्घसंस्थाहरू असोज १ गतेदेखि खुल्ने भएका छन्।
    जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले सबै प्रकारका कार्यालयका साथै पसल र व्यवसाय, बैंक तथा वित्तीय संस्थाहरू, उद्योग, कलकारखाना तथा सेवा व्यवसायहरू सञ्चालन गर्न दिने निर्णय गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन्।
    गत साउन २४ गतेदेखि ठप्प रहेको निजी सवारीसाधन र जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधनहरू पनि असोज १ गतेदेखि सञ्चालन गर्ने छुट दिइएको छ।
    जिल्लामा कोरोना सङ्क्रमितहरूको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको र सङ्क्रमणको जोखिमको सम्भावनासमेत उच्च रहेको भएपनि दैनिक जनजीवन कष्टकर हुन नदिन निषेधाज्ञालाई खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालय रौतहटको भनाइ छ। निषेधाज्ञा खुकुलो भएपनि विक्रेता तथा उपभोक्ताले सेनिटाइजर, मास्क तथा पञ्जाको प्रयोग अनिवार्य गर्नुपर्ने, मास्क नलगाइ आउने उपभोक्तालाई मालसामान बिक्री वितरण नगर्ने, अनिवार्यरूपमा भौतिक दूरी कायम गरी मात्र बिक्री वितरण गर्ने निर्देशन पनि दिइएको छ।
    बजार तथा सार्वजनिक यातायात खुले पनि विद्यालय, कलेज तथा क्याम्पसको पठनपाठन र सिनेमाघर सञ्चालनमाथिको रोक कायमै रहेको छ। यसैगरी, सबै प्रकारका सभा, जुलुसलगायत सामूहिकरूपमा मनाइने सबै प्रकारका चाडपर्व, मठ, मन्दिर, मस्जिद, खेलमैदानलगायत कुनै पनि सार्वजनिक स्थलमा भेला–जम्मा हुने कार्यमाथि निषेध कायम रहेको छ।
    चाडपर्व नजिकिंदै जाँदा जिल्लामा सतर्कतासहित निषेधाज्ञा खुकुलो बनाइएको तर सबैले सतर्क भएर दैनिक व्यवहार चलाउनुपर्ने अवस्था रहेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रौतहटका अध्यक्ष धर्मेन्द्रकुमार सिंहले जानकारी गराएका छन्।
    रौतहटका छिमेकी जिल्लाहरू बारा र सर्लाहीमा भने निषेधाज्ञा खुकुलो भइसकेको छ। रौतहटमा पनि दिनदिनै जनजीवन सामान्य हुँदै गएको देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here