चितवन, २० भदौ/रासस
    कोरोना भाइरस सङ्क्रमणका बेला प्रतिरोधी क्षमता बढाउन खाइने जडीबुटि सन्तुलितरूपमा प्रयोग गर्नुपर्ने विज्ञहरूले बताएका छन्। चिकित्सकको सल्लाह र सुझावविना यसको अधिक मात्रामा प्रयोग गर्दा हानिकारक हुने उनीहरूको सुझाव छ। बेसार, गुर्जो, तुलसी, मरिच, अदुवा, टिमुरलगायत जडीबुटीको प्रयोग हावापानी, भौगोलिक अवस्था र प्रयोगकर्ताको शारीरिक क्षमता अनुसार मात्रा मिलाएर प्रयोग गर्न उनीहरूले सुझाएका हुन्।
    कोभिड–१९ को विश्वव्यापी महामारीसँगै नेपाललगायत विभिन्न मुलुकमा जडीबुटी एवं आयुर्वेदिक औषधिको प्रयोग बढेको छ। मानिसले घरघरमा यसको आफूखुशी प्रयोग गरेका छन्। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनका प्रमुख डा कोपिला अधिकारी आफूखुशी जडीबुटीको प्रयोग गर्नु उचित नहुने बताउँछिन्। उनका अनुसार आयुर्वेदमा आहार द्रव्य (खानाको रूपमा) र औषध द्रव्य (औषधिको रूपमा) यसको प्रयोगको स्पष्ट भिन्नता दिइएको छ। खानामा मसलाको रूपमा प्रयोग गरिने बेसार, अदुवा, टिमुर, मरिच मौसम, परिकारको गुण, परिणाम, भौगोलिक परिवेश, हावापानी, व्यक्तिको प्रकृति, रोग अवस्था अनुसार मात्रा विचार गरेर प्रयोग गर्नुपर्ने उनी सुझाउँछिन्। सामान्यरूपमा तरकारी, दाल, अचार, चियामा गर्मी ठाउँमा कम र चिसो ठाउँमा ठीकै मात्रामा यस्ता मसलाजन्य जडीबुटीको नियमित प्रयोग गर्न सकिन्छ।
    उनका अनुसार बेसार उचित मात्रामा प्रयोग गरेमा छालाको रोग, नाकको एलर्जी, घाँटीको सङ्क्रमण, ब्रोङ्क्राइटिस, नेत्राभिष्यंद (आँखा पाक्ने), जीर्ण व्रण (पुरानो घाउ खटिरा), ढुसीजन्य सङ्क्रमण, क्यान्सरविरुद्ध लड्ने क्षमता बढाउने काम गर्दछ। विभिन्न अनुसन्धानबाट पुष्टि भए अनुसार हरिद्रा (बेसार)को प्रयोग हेपाटाइटिस बि भाइरस, पारा इन्फ्लुएन्जा भाइरस टाइप ३, रेस्पिरेटरी सिनसाइटल भाइरस, इन्फ्लुएन्जा भाइरसविरुद्ध प्रभावकारी रहेको पाइएको उनले बताइन्। उनले भनिन्, “यसमा विशेषगरी कर्कुमिन (रासायनिक तत्व)लगायत रासायनिक सक्रिय तत्वको मुख्य भूमिका रहेको हुन्छ। जसले शरीरमा भाइरसको वृद्धि एवं प्रभावलाई निस्तेज पार्दछ।”
    पित्तथैलीको पत्थरी भएका, एस्पिरिन, वार्फारिनको नियमित सेवन गर्ने व्यक्तिले बेसारको सेवन सावधानीपूर्वक कम मात्रा गर्नुपर्ने उनको सुझाव छ। त्यसैगरी, पित्त प्रकृति (गर्मी शरीर) हुने व्यक्तिले बेसारको प्रयोग कम मात्रामा गर्नुपर्ने उनको भनाइ छ। सामान्यता नेपालीको खानामा प्रयोग गरिने बेसारले शरीरलाई आवश्यक पर्ने मात्रा पुग्ने गरेको उनले बताइन्। त्यसबाहेक राति सुत्नु अगाडि तातो दूधमा एक ग्राम बेसार राखेर पिउनु राम्रो हुने उनको भनाइ छ। यसरी पिउँदा बढीमा २१ दिनसम्म मात्र पिउनु राम्रो हुने अधिकारीले सुझाव दिइन्।
    गुर्जाे विशेषतः रसायन एवं शरीरमा बल दिनको लागि र रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि प्रयोग गरिने उनको भनाइ छ। तीर्खा लाग्ने, घाउखटिरा, मधुमेह, रुघाखोकी, दम, एनिमिया, जन्डिस, छालाको रोग, युरिक एसिड, ज्वरोलगायत अन्य रोगमा आवश्यकता अनुसार प्रयोग गरिन्छ। समय–समयमा देखापर्ने डेंगु ज्वरो, स्वाइन फ्लू एवं अन्य भाइरसजन्य रोग (रुघा, खोकी, ज्वरो), रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न र एन्टीभाइरलविरुद्ध यसको प्रयोग गरिने उनको भनाइ छ। उनले भनिन्,“यो आफैंमा मधुमेहको औषधि भएकोले रगतमा चिनीको मात्रा कम भएका र मधुमेहको औषधि खाइरहेका व्यक्तिहरूले चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्र गुर्जाेको सेवन गर्नु उपयुक्त हुन्छ। लामो समयसम्म प्रयोग गर्दा यसले उच्च रक्तचाप कम हुने सम्भावना रहन्छ।”
    पाँच ग्राम गुर्जाेको चूर्ण पानीमा उमालेर मिश्री मिलाएर चियाको रूपमा पिउन सकिन्छ। उनले भनिन्, “ताजा गुर्जोको रस २०–२५ मिलिग्राम दिनमा एकपटक र ताजा गुर्जोको डाँठ थिचेर साँझ पानीमा भिजाएर मिश्री मिलाएर राख्ने बिहान छानेर ५० मिलिग्राम पिउने गर्नाले फाइदा हुने गर्दछ।” यसरी खाँदा पनि २१ दिनसम्म मात्रै सेवन गर्नु उत्तम हुने उनको भनाइ छ। तुलसी, ज्वानो, टिमुर, अदुवा जस्ता जडीबुटी रुघा, खोकी, ज्वरो, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न र एन्टीभाइरलविरुद्ध प्रयोग गर्न सकिने भएपनि यसको सेवन मात्रा मिलाएर सात दिन मात्रै गर्नुपर्ने उनको सुझाव छ। टिमुर र अदुवा पाइल्स, फिसरका रोगी, पित्त प्रकृतिको व्यक्तिले सेवन गर्न नहुने उनले बताइन्।
    आयुर्वेदका चिकित्सक पिएन भुसाल जेसुकै पनि मात्रा मिलाएर नखानु मानव स्वास्थ्यका लागि हानिकारक हुने बताउँछन्। उनले बेसार, गुर्जाेलगायत जडीबुटी मात्रा अनुसार मात्रै प्रयोग गर्न सुझाव दिए। औषधिका रूपमा प्रयोग गरिने जडीबुटीको प्रयोग जथाभावी धेरै मात्रामा गरेमा त्यसको नकारात्मक प्रभावहरू देखिने उनले बताए। यसको प्रयोग गर्नुअघि आयुर्वेदिक चिकित्सकसँग परामर्श गर्न पनि उनले सुझाव दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here