हत्या आरोपित अभियुक्तहरूमाथि अदालतमा मुद्दा दायर

प्रस, निजगढ, १८ भदौ/
    निजगढ नगरपालिका–८ का ३७ वर्षीय लालध्वज लामाको हत्यामा संलग्न भएको आरोप लागेका ३ जना पुरुष र १ जना महिलासहित ४ जनामाथि बुधवार जिल्ला प्रहरी कार्यालय बाराले जिल्ला अदालत बारामा मुद्दा दायर गरेको छ।
    पीडित परिवारको किटानी जाहेरीको आधारमा उनीहरूलाई पक्राउ गरी अनुसन्धानपछि हिजो मुद्दा दायर गरेको जिप्रका बाराले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो।
    मुद्दा दायर हुनेहरूमा निजगढ नगरपालिका–९ का सञ्जय भनिने वर्ष ४५ को चक्रबहादुर तामाङ, सोही नगरपालिका वडा नं. ८ का वर्ष ३३ को केशवराज शिवाकोटी, सर्लाही बागमती नगरपालिका–३ का २४ वर्षको जोखबहादुर स्याङ्तान र निजगढ नगरपालिका–८ की ३९ वर्षीया वन्दना लामा रहेका छन्।
    मृतक लामा जीतपुर–सिमरा उपमहा नगरपालिका–२२ अमलेखगंज ससुरालीमा परिवारसहित बस्दै आएका थिए। लामा असार २१ गते साँझदेखि सम्पर्कविहीन भएपछि खोजी कार्य गर्दा असार २८ गते अमलेखगंजस्थित थानीमाई सामुदायिक वन क्षेत्रको सिसौंघारी जङ्गलमा मृत अवस्थामा फेला परेका थिए।
    कुहिन लागेको अवस्थामा फेला परेको लामाको शव हेर्दा दुईवटा हात र दुईवटा खुट्टा धारिलो हतियारले गिडिएको, शरीरमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा फेला परेपछि हत्या भएको भन्दै घरपरिवारले घटनामा संलग्न दोषीको पहिचान गरी कडा कारबाही गर्न माग गर्दै आएका छन्।
    लामाको शवको वीरगंजमा शल्यपरीक्षण हुन नसकेपछि पीडित परिवारले बारा प्रहरीको समन्वयमा शल्यपरीक्षणको लागि शव काठमाडौं लगेका थिए।
    शुरूमा आरोपितहरूलाई प्रहरीले अभद्र व्यवहार कसूरमा पक्राउ गरी अनुसन्धान थालेको थियो। सोको म्याद सकिन लाग्दा मृतकका दाजु आसमान लामाले उनीहरूविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले हत्या घटनाको थप अनुसन्धान गरेको थियो।
    “हामीले सम्पूर्ण अनुसन्धान पूरा गरी सरकारी वकीलको कार्यालय बारामार्फत् बारा जिल्ला अदालतमा मुद्दा दायर गरेका हौं,” जिप्रका बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here