प्रस, सिरहा, २० साउन/
जिल्ला प्रशासन कार्यालय सिराहाले बिहीवारदेखि केही उजूरीबाहेकका सम्पूर्ण सेवा अनिश्चितकालको लागि बन्द गरेको छ । जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दो गतिले समुदायस्तरमा प्रवेश गरिरहेको र सर्वसाधारणले सामाजिक दूरी कायम नगर्नुका साथै निर्धारित स्वास्थ्य मापदण्ड पालना नगरेको कारण सङ्क्रमण बढेको पुष्टि भएकोले सर्वसाधारणको भीडभाड हुने सेवा बन्द गरिएको प्रशासनका अधिकारीहरूको भनाइ छ ।

जिल्लाको शान्ति सुरक्षाको काम, मुद्दा दर्ता र ठाडो उजूरीबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताएका छन् । यसै क्रममा जिल्ला प्रशासनकै एकजना कर्मचारीमा समेत सङ्क्रमण पुष्टि भएकोले तत्काल सबै कर्मचारीलाई क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थाका कारण पनि सेवा बन्द गर्नुपरेको जारी सूचनामा उल्लेख छ ।

अत्यावश्यक कामबाहेक सेवाका लागि कार्यालय नआउन र आउनै परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्नसमेत प्रजिअ कँडेलले आग्रह गरेका छन् ।
कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्लाका आठवटा स्थानीय तहले यसअघि नै साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । यसैबीच, थप तीनवटा पालिकाले पनि निषेधाज्ञा शुरू गरेका छन् । सुखीपुर नगरपालिका, भगवानपुर र विष्णुपुर गाउँपालिकाले पनि बिहीवारदेखि साउन ३२ गतेसम्मका लागि आआप्mनो पालिकाभित्र निषेधाज्ञा जारी गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here