बसन्तपुरवासी भैंसीपालनबाट आत्मनिर्भर

प्रस, सेढवा, २८ साउन/
जीराभवानी गाउँपालिका–२ बसन्तपुरटोलको असी प्रतिशत बासिन्दा भैंसीपालनमा लागेका छन् ।

७० घरधुरी रहेको बसन्तपुरमा थारू समुदायको बाहुल्यता छ । उनीहरू अहिले भैंसीपालनबाटै आत्मनिर्भर भएका छन् । थारूबाहेक १० प्रतिशत अन्य जातका मानिसको बसोवास छ । बसन्तपुरका अधिकांश मानिसको आप्mनो जग्गा छैन । उनीहरू आर्थिकरूपमा अक्षम थिए ।

अधिकांश मानिसले अरूको खेतबारीमा ज्याला मजदूरी गरेर गुजारा चलाउने गरेका थिए । तर उनीहरूले भैंसीपालन गरेपछि आर्थिक अवस्थामा सुधार हुँदै आयो ।
पहिले बसन्तपुरका दुईजनाले भैंसीपालन शुरू गरेका थिए । उनीहरूको अवस्था क्रमिकरूपमा सुधारोन्मुख भएपछि अन्यले पनि देखासिकी गर्दै भैंसीपालन गर्न थालेपछि सबैको अवस्थामा अहिले सुधार आएको स्थानीय साहुन बछार बताउँछन् । भैंसीपालन गर्नेहरूले दूध, दही बिक्री गरेर मनग्य आम्दानी गरिरहेको बछारले बताए ।

बसन्तपुरटोल आसपास पर्ती जमीन पर्याप्त मात्रामा छ । भैंसीको लागि चरन क्षेत्र यही पर्ती जमीन भएको छ । यसको साथै एक किलोमिटर उत्तरमा राष्ट्रिय वन क्षेत्र भैंसीका लागि थप चरन क्षेत्र भएको छ । एउटा घरमा कम्तीमा दुईवटा दुहुना भैंसी छन् भने बढीमा दशवटासम्म दुहुना भैंसी छन् ।

भैंसीले बच्चा जन्माएपछि नौ महीनासम्म दूध दिन्छ र दूध बिक्री गरेर परिवार पाल्न सजिलो भएको स्थानीय बालेश्वर थारू बताउँछन् । उनले दूध बेचेर परिवारको पालनपोषण गर्ने गरेको र खेतबारीको उत्पादन धान, गहुँ एकमुस्ट बिक्री गरेर बचत गर्ने गरेकोले अहिले जीवन सहज बनेको बताए । भैंसीले पाडा जन्माए एक/डेढ वर्षमा २५ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको थारू बताउँछन् ।

बसन्तपुरबाट अहिले दैनिक एक हजार लिटर दूध उत्पादन हुने गरेको छ । कतिपय मानिसले दूध बिक्री गर्छन् भने कतिपयले दही बनाएर बिक्री गर्छन् । चाडबाड शुरू भएपछि दूध खरीद गर्न अन्य टोलका मानिसहरू टोलमैं आउने गर्छन् भने अन्य समयमा दूध, दही घुमाएर बिक्री गर्ने गरेको स्थानीय भैंसीपालक चन्दादेवी थरुनीले बताइन् । उनले बढी दूध होटल र डेरीमा पनि बिक्री गर्ने गरेको जानकारी गराइन ।

स्थानीय तहबाट भैंसीपालनका लागि अहिलेसम्म सहयोग नपाएको उनको गुनासो छ । पशु सेवा केन्द्रले जुका र ताकतको औषधि सिफारिशको आधारमा वितरण गर्ने गरेको उनको आरोप छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्