सुदर्शनराज पाण्डे

माघ १० देखि १६ गतेसम्म नेपालमा सप्ताहव्यापी शहीद दिवस मनाइन्छ, केवल औपचारिकताका लागि मात्र। शहीदको बलिदानको कदर गर्ने हो भने माघ १६ गते शहीद दिवसका रूपमा देशव्यापी व्यापक जनसहभागिताका साथ मनाइनुपर्दछ। सच्चा क्रान्तिकारी, महान् र गौरवशाली देशभक्त भनेकै शहीद हुन्। कुनै राजनीतिक कालखण्डमा यथास्थितिविरुद्ध परिवर्तनका पक्षमा भएको जनक्रान्ति, जनयुद्ध, जनसङ्घर्षमा शासनसत्ताबाट गोली खाएर शहादत प्राप्त गरेका सबै शहीद हुन्। शहीद साझा र अमर हुन्छन्। शहीदहरू दलविशेषका होइन, राष्ट्रका हुन्छन्। उनीहरूलाई राष्ट्रिय सम्मान दिइन्छ। शहीदहरूलाई उपेक्षा गर्नु भनेको अपराध हो। शहीदको बलिदानलाई भजाएर शासनसत्तामा पुगेका, महत्वपूर्ण पद ओगटेकाहरू सबै राष्ट्रका अपराधी हुन्। शहीद परिवारलाई उपेक्षित गर्ने तथाकथित नेताहरूको लोकतन्त्र शहीद परिवारका लागि अभिशाप, दुर्भाग्य हो। शहीद विवादको विषय हुनुहुँदैन। आम जनताको सहमतिमा शहीद घोषणा हुनुपर्दछ। मधेसी शहीद, काङ्ग्रेसी शहीद, माओवादी शहीद, एमाले शहीद होइन, सबै शहीद राष्ट्रिय हुन्। उनीहरूको सम्मान राष्ट्रियस्तरमैं हुन्छ।
२००७ सालको क्रान्तिका चार शहीद धर्मभक्त, दशरथचन्द, शुक्रराज शास्त्री र गङ्गालाल, लखन थापा, थीरबम मल्ल, कृष्णलाल अधिकारी, भीमदत्त पन्त, सरोज कोइराला, दुर्गानन्द झा, सिजनराज पाण्डे, निर्मला देवकोटा, मित्रमणि, सुरेश वाग्ले, बलभद्र कुँवर, कालु पाण्डे, भक्ति थापा, भीमसेन थापालगायत राणाकाल, पञ्चायतीकाल, काङ्ग्रेस र कम्युनिस्टकाल, संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातान्त्रिककाल, सङ्घीय लोकतान्त्रिक गणतन्त्रकालमा हिमाल, पहाड, तराई–मधेसका १७ हजारभन्दा बढी नेपाल आमाका छोराछोरीहरूले विकृति, विसङ्गति, असमानता, ज्यादती, भ्रष्टाचार, घूसखोरी, राष्ट्रघात, जनघात, मानव अधिकार उल्लङ्घन, हत्या, बलात्कार, महँगी, बेरोजगारीलगायतका विषय लिएर विरोध प्रदर्शनमा सहभागी हुँदा बलिदानी हुन पुगेका हुन्। हाँसी–हाँसी छाती फुलाएर प्राण आहुति गरेका शहीदहरूले शहीदको सपना, उद्देश्य र लक्ष्य सफल र साकार पार्न नसकेका शासनसत्ताको आनन्द लिई सुखसयलको जीवन बिताइ देश र जनताको मुहार हँसाउन नसकेका अवसरवादी, दलाल, पामर, राजनीतिक अपराधी, आर्थिक अपराधी, राष्ट्रघाती, जनघाती जनप्रतिनिधि, शासक, प्रशासकहरूलाई सरापिरहेका छन्। देश र जनताको बेथिति र बर्बादी हेरेर शहीदहरूको दिवङ्गत आत्मामा शान्ति छैन। बाँचेका नेपालीहरूले शहीदको सम्मानमा व्यक्त गरेका शब्दसुमन, अर्पण गरेका भावपूर्ण श्रद्धाञ्जलिबाट शहीदहरू सन्तुष्ट छैनन्। शहीदहरूको दिवङ्गत आत्मा भड्किंदा देशमा अशान्ति र विरोध कायम हुन पुग्दछ। शहीदहरू आन्दोलन र सङ्घर्षका प्रेरणा स्रोत हुन्। राष्ट्रिय विभूति र इतिहास हुन्। अव्यवस्था परिवर्तन शहीदको आत्माको बोली हो। यथास्थितिमा परिवर्तनका लागि हुने विद्रोह शहीदको प्रेरणा हो। जब–जब देशमा ज्यादती हुन्छ, परिवर्तन समयको माग हुन्छ, त्यतिखेर शहीदको बलिदान, आत्मसमर्पणलाई सम्झिएर देशको माटो छातीमा राखेर प्रण गर्ने हो भने सत्ता परिवर्तन मात्र होइन, आवश्यकता हेरी देशको संरचनामा आमूल परिवर्तन र देश तथा जनतामाथि शोषण, दमन गर्ने शासक, प्रशासकमाथि कडाभन्दा कडा सजाय दिने बेला आउनेछ। सत्ता परिवर्तनका लागि मात्र होइन, राष्ट्र निर्माणका लागि हुने आन्दोलन, क्रान्ति सफल नभएसम्म क्रान्तिको उद्देश्य र लक्ष्य रोकिनुहुँदैन। आजसम्म नेपाली क्रान्ति अधूरो, अपूरो र असफल छ, जसले गर्दा बेलामौकामा क्रान्ति उठ्ने र तुहिने गर्दछ। आमूल परिवर्तनका लागि सप्तक्रान्ति गर्नुपर्ने बेला शहीद दिवसले जुराउनेछ।
आजसम्म भएका जनयुद्ध, जनआन्दोलन केवल सत्ता परिवर्तनका लागि भएका छन्। सम्पूर्ण संरचना र आमूल परिवर्तनका लागि सफल र आवश्यक सङ्घर्ष र क्रान्ति भएकै छैन। जसले जतिपटक परिवर्तनका लागि क्रान्ति भएपनि पात्र परिवर्तन भयो तर प्रवृत्ति परिवर्तन भएन। व्यक्तिको शासन कायम भयो तर विधिको शासन, असल शासन स्थापना हुनै सकेन। एउटा शासक खराब भयो भनेर आन्दोलनद्वारा स्थापित ग–यो, अर्को शासक, प्रशासक झन् खराब, भ्रष्ट, जनघाती, राष्ट्रघाती भएर निस्किएको छ। असल कर्म गरेर नाम कमाउनुको सट्टा खराब प्रवृत्ति, बोली, व्यवहार र कार्यशैलीका कारण बदनाम भएको छ। नेपालमा राजनीतिक व्यवस्था, संविधानलाई दोष दिइन्छ तर वास्तविक दोषी र दण्डको भागीदारी भनेको खराब कार्यशैली, विदेशी दलालीका कारण व्यवस्थामा अव्यवस्था कायम गर्ने राजनीतिक कुपात्र नै खराब हुन्। महान् शहीदहरूको मृतात्मा, प्रेत आत्माले उनीहरूलाई सदैव धिक्कारिरहेका छन्। शासनसत्तामा रहेकाहरू अनैतिक गरेर कमाएको धनसम्पत्तिले रमाए पनि परिवारभित्रको खराब दृश्यले उनीहरूको घरमा सुख, शान्ति, समृद्धिको कुनै अर्थ छैन। देश बिगार्नेहरूको घरपरिवार बिग्रिएर अशान्ति र ग्लानि हुन्छ। यो सत्य हो। खराब प्रवृत्तिका व्यक्ति र उनीहरूको परिवारको पतन निश्चित छ। देश र जनताको उचित ढङ्गले भलाई गर्न चाहनेको पनि शहीदपत्नी भीमसेन थापाकी धर्मपत्नीको श्रापका कारण राम्रो हुने गरेको छैन। राष्ट्रनिर्माण गर्ने नेताहरू कोही देखिएनन्। पार्टीका नेताहरू राजनेता बन्न सकेनन्।
सबै नीतिमा प्रधान नीति राजनीति हो। राजनीतिक प्रस्थान बिन्दु नै गलत हुन गएपछि, राजनीतिमा सक्रिय व्यक्तिहरूको प्रवृत्ति नै खराब भएपछि राष्ट्रनिर्माणका लागि सामूहिक प्रयत्न हुनै सक्दैन। गन्तव्यमा पुग्न सकिंदैन। गुट, फुट, लूटको राजनीतिक संस्कार र संस्कृति आखिरमा अस्तित्व विनाशको बाटो हो। क्रान्तिमा बलिदानी शहीदको सङ्ख्या बढाएर मात्र सकारात्मक परिवर्तन, उपलब्धिमूलक परिणाम देखिंदैन। १० वर्षे माओवादी जनयुद्धले जसलाई पनि र धेरै शहीद भए तर उनीहरूको सम्मान हुन सकेन। ज्ञात, अज्ञात देशभरका आत्मबलिदान गरेका शहीदहरूको सम्मान र सम्झनाका लागि सम्पूर्ण शहीदको जीवनी, योगदान समेटेर शब्दचित्र प्रस्तुत नगरी शहीद र शहीद परिवारकै उपेक्षा गरेकोले त्यतिखेरको क्रान्तिकारी कम्युनिस्ट पार्टी र यसका नेता प्रचण्डलगायत पतन र दुःखको बाटोमा पुगेका छन्। नेपाली जनता र देशलाई प्रयोग गरेर पूँजीवादी दलाल, विकृतिपूर्ण संसदीय व्यवस्थाको हिमायती बन्न पुगेका प्रचण्डलगायतका नेताहरूमा यतिखेर शहीदहरूको सम्झना र सम्मान गर्ने मन छैन। राष्ट्रनिर्माण गर्ने, मन बुद्धि, विवेक र कर्म छैन। नेपालको राजनीतिक इतिहास हिंसा, हत्या, षड्यन्त्र, अवसरवादी र दलालीमा टिकेको छ। शहीद दिवसका दिन शहीदको सम्झनामा शहीदको सालिकमा धुप, बत्ती गरेर दलका भ्रष्ट, नालायक र असफल नेताहरूको मनमा के शान्ति हुन सक्ला ? सन्तुष्टि मिल्ला ?
जनयुद्धका सुप्रिमो प्रचण्डले राज्यपक्ष र गैर राज्यपक्षद्वारा गैरन्यायिक हत्या गरिएका, युद्धका नाममा मारिएका व्यक्तिहरूका परिवारलाई विदेशी अनुदान रकम प्रतिपरिवार रु १० लाख बाँडेर खेतालाको जस्तो सम्मान गरेका छन्। जनयुद्धका खेताला योद्धाहरूको परिवार हिजोआज पूरै उपेक्षित छन्। शहीदहरूको स्मृति पनि केवल औपचारिकता पूरा गर्न मात्र भइरहेको छ। जनयुद्धको उद्देश्य, लक्ष्य र अठोटलाई प्रचण्डले नै तिरस्कार गरे। समयले प्रचण्डलाई बहिष्कार गर्दैछ। राष्ट्रका गौरव शहीदहरूको स्मृतिगाथा निर्माण गर्न विभिन्न ठाउँमा निर्माण भएका विभिन्न शहीदहरूको सालिक संरक्षण गर्न नसक्नेहरू बकमफुसे हुन्। जनयुद्ध दुस्साहसपूर्ण भयो। देश र जनताको दिगो परिवर्तनका लागि कामयाब हुन सकेन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here