क्यान्सरविरुद्ध सचेतना र वर्तमान यथार्थ

0

सञ्जय साह मित्र

अहिले पनि क्यान्सरलाई निकै खतरनाक रोग मानिन्छ। क्यान्सरको उपचार नै नहुने होइन, ठीक समयमा सही उपचार सम्भव भएपछि क्यान्सर रोगबाट पनि मानिस निको भएका छन्, सामान्य जीवन बिताइरहेका छन्। तर क्यान्सर निको हुनको लागि क्यान्सर लागेको ठाउँ वा शरीरको अङ्ग तथा अवस्था भने महत्वपूर्ण कुरा हुन्छ। सामान्य भाषामा के भनिन्छ भने जसको क्यान्सर तेस्रो स्टेजमा पुगिसकेको छ, उसलाई निको हुन निकै मुश्किल हुन्छ अर्थात् निको नहुने सम्भावना बढी हुन्छ। क्यान्सरले गर्दा कतिपय मानिस अङ्गभङ्ग भएर जीवन बाँचिरहेका छन् भने कतिपयले जीवन नै गुमाउनुपरेको हुन्छ। क्यान्सर सरुवा रोग नभए पनि यो खतरनाक रोग भने अवश्य हो।
स्थायी उपचार पत्ता लागि नसकेको प्राणघातक क्यान्सर किन लाग्दछ वा कसरी लाग्दछ भन्ने विषयमा जनचेतनाको व्यापक कमी रहेको छ। जनचेतना कमी हुनुका साथै लापरवाही पनि एउटा प्रमुख कारण रहेको विज्ञहरू बताउँछन्। सामान्यतया अधिकांश विज्ञहरू कुन कुरामा सहमत छन् भने क्यान्सरको प्रमुख कारण मानिसको जीवनशैली हो। मादक पदार्थको सेवन जस्तै खैनी, सुर्ती, पान, मसाला, बिंडी, चुरोट, मदिरा इत्यादिले क्यान्सर रोग लाग्दछ। यसैगरी चिल्लो तथा बोसोयुक्त खाने कुराको सेवन, अत्यधिक मात्रामा नुनको सेवन, पचाउन समय लाग्ने खानेकुरा, ज्यादा समय एकै ठाउँमा बस्नु पनि क्यान्सरको कारक हुन सक्छ। मोटोपना, हेपाटाइटिस बी तथा एचआइभी भाइरसका कारण पनि क्यान्सर हुने गरेको विज्ञहरू बताउँछन्। महिलाहरूले नवजात शिशुलाई आमाको दूध नख्वाए तथा गर्भनिरोधक चक्कीको अत्यधिक प्रयोग गरेमा, महीनावारीपश्चात् काखी वा स्तनमा गाँठो देखिएमा क्यान्सरतर्फ बढेको बुझ्नुपर्दछ भनिन्छ।
क्यान्सर लाग्नु अघि थाहा हुँदैन। सचेतना नै यसको रोकथामको उपाय हो। कतिपय मानिसलाई क्यान्सर लागिसकेको धेरै समयपछि मात्र थाहा हुन्छ। यद्यपि क्यान्सरका केही लक्षण हुन्छ भन्ने चिकित्सकहरूको भनाइ छ। मुखभित्र छाला पर्नु, मुख सोरिनु तथा पूरा नखुल्नु, खाना खान, चपाउन तथा निल्न समस्या हुनु, कम्मरमा सदैव पीडा महसूस हुनु, पिसाबमा रगत आउनु, पिसाबको समय बदलिनु, लगातार खोकी लाग्नु, आवाज सुक्नु तथा खकारमा रगत देखिनु, स्तन तथा शरीरको कुनै अङ्गमा गाँठागुठी देखिनु, शरीरमा रगतको कमी हुनु, एनिमियाको समस्या हुनु, प्रोस्टेट परीक्षणमा असामान्य नतीजा आउनु, रजोनिवृत्तिमा रगत आउनु आदिलाई क्यान्सरको लक्षण मानिन्छ।
चिकित्सकहरूले क्यान्सरबाट बच्नको लागि केही उपाय पनि बताएका छन्। पान, सुपारी, चुरोट, बिंडीलगायत कुनै पनि सुर्तीजन्य पदार्थको सेवन नगर्ने, प्रशस्त मात्रामा फलफूल तथा हरियो सागसब्जी सेवन गर्ने, कागती, सुन्तला तथा मौसमीको जुस पिउने, गाईको मूत्र, गहुँको जमरालाई क्यान्सर रोगको उपचारमा रामवाण मानिएको बताइन्छ। कुनै पनि रोगमा आवश्यकता अनुसार औषधिको सेवन गर्ने तथा अनावश्यक औषधि सेवन नगर्ने। बदाम तथा किसमिसलगायत ड्राइ फ्रुट्सको सेवनले क्यान्सर रोग फैलिनबाट जोगाउँछ भनिन्छ। चिल्लो खानेकुराबाट सकेसम्म जोगिने तथा नुनको प्रयोग कम गर्ने र नियमित व्यायामलाई दैनिकीमा सामेल गर्नु लाभदायक मानिन्छ। यसै गरी चिया पिउने बानी परिसकेकाले नियमित ग्रीन टी सेवन गर्ने, जसले क्यान्सर रोगको उपचारमा सहयोग पु–याउने विश्वास गरिएको पाइन्छ। आलु तथा भन्टालगायत परहेज गर्ने र क्यान्सर भएमा दूध, दहीलगायत डेरी प्रोडक्ट प्रयोग नगर्ने भनिन्छ। यसैगरी बेसारको प्रयोग लाभदायक मानिन्छ भने गहुँलगायत मिश्रित आँटाको प्रयोग फाइदाजनक मानिन्छ। लसुनलाई पनि फाइदाजनक मानिएको छ भने सकेसम्म अर्गानिक तथा प्राकृतिक वस्तुको प्रयोग राम्रो मानिएको छ। यसैगरी रातो, नीलो, पहेंलो तथा प्याजी रङ्गको फलफूल तथा सागसब्जी, जस्तै जामुन, टमाटर, मेवा, कालो अंगुर, अम्बा, खरबुजा खानाले क्यान्सरको जोखिम कम हुन्छ।
आजका युवाहरूमा फेसनको रूपमा साना पकेटमा बन्द खाद्य पदार्थ तथा अखाद्य पदार्थसमेत खाने चलनको विकास भएको छ। बजारमा पाइने विभिन्न किसिमका साना पाकेटमाथि नै ठूलो अक्षरमा क्यान्सरको खतरा छ भनेर लेखिएको हुन्छ र क्यान्सर भएको फोटो पनि पाकेटमाथि छापिएको हुन्छ। यस्ता अखाद्य खानेकुराहरू केही समयको रमाइलोको लागि भनेर मुखमा हाल्ने तथा चपाएर खाने प्रचलन नवयुवाहरूमा निकै बढेको छ। के खाने र किन खाने भन्ने कुनै ज्ञान नहुँदै आफूभन्दा ठूलाको देखासिकी आजका युवाहरूमा सानो प्याकेट च्यात्दै सडकमा टाउको उठाएर मुख आकाशतिर पार्दै त्यसभित्रको सामग्री मुखमा हाल्दा गर्व हुने अवस्था सिर्जना भइसकेको छ। कलिलो उमेरमैं यस्ता हानिकारक कुराको बानी परेपछि पछिसम्म छुटाउन निकै मुश्किल हुन्छ। युवाहरूको यस्तो बानीमाथि अभिभावक तथा समाजका सदस्यहरूले बेलैमा ध्यान दिनुपर्छ। सचेत हुनु ठूलो कुरो हो। यद्यपि मानिस जानेर र जानेसम्मको सचेतता पालन गर्दागर्दै पनि क्यान्सर हुन सक्छ भनिन्छ। यसको अर्थ यो होइन कि मानिस सचेतनाबाट विमुख होओस्। क्यान्सर लाग्ने सबै कारण अहिलेसम्म पत्ता नलागेको पनि भनिएकोले सकेसम्म सचेतना आवश्यक हुन्छ नै।
वास्तवमा क्यान्सरविरुद्ध सामाजिक सचेतना पर्याप्त हुन सकेको छैन। अहिले पनि के देखिन्छ भने राज्यले विद्यालय र आसपासमा सुर्तीजन्य पदार्थको बिक्रीमाथि रोक लगाइसकेको छ तर कानूनमा व्यवस्था भएर मात्र पुग्दैन। यसभित्रको अर्को एउटा यथार्थ के पनि हो भने अझै पनि कतिपय शिक्षक नै स्वयं विद्यालयमैं खैनी खान्छन्। अझ विद्यार्थीलाई देखाएर वा देख्नेगरी खैनी खाने तथा जथाभावी थुक्ने गर्दछन्। विद्यालय व्यवस्थापनमा संलग्न, समाजसेवामा लागेका भन्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरूसमेत विद्यालयमैं वा बैठकमैं तथा कार्यालयमैं खैनी खाएर अरूलाई देखाउँछन्। शिक्षक तथा विद्यार्थीका अगाडि खैनी खाने र चुरोट तथा बिंडी पिउँदै धूवाँ आकाशतिर फाल्नेहरू अझै पनि भेटिन्छन्। समाजले राम्रो सम्मान दिएको तथा विद्यार्थी र शिक्षकले पनि उच्च सम्मान गर्ने व्यक्तित्वबाट नै विद्यालयमा खैनी–चुरोट सेवन गरेको दृश्य देख्न पाइन्छ। अझै पनि सडक तथा सार्वजनिक स्थान र सार्वजनिक यातायातका साधनमा चुरोटको सेवन र खैनीको सेवन गर्नेलाई रोक्न सकिएको छैन। कतिपय अवस्थामा कार्यालय प्रमुख वा उच्चपदस्थ व्यक्तिहरू नै अरूले देख्नेगरी चुरोट र खैनी खाइरहेका हुन्छन्। यस अवस्थामा सचेतनाको कमी भएको होइन कि सचेत हुन नसकेको हो भन्ने बुझिन्छ वा लापरवाहीको अवस्था देखिन्छ। सचेत त उसलाई गराउनुपर्छ जसलाई कुनै जानकारी छैन, तर जानकारलाई जानकारी गराउनु आवश्यक हुँदैन। लापरवाहीले गर्दा अरूलाई पनि प्रोत्साहन मिलिरहेको हुन्छ भन्ने कुरो नबुझेको मात्र हो।
वास्तवमा क्यान्सरविरुद्ध सचेतना पर्याप्त हुन सकेको छैन। सामाजिक सङ्घ संस्थाहरूले पनि यसलाई आफ्नो दायित्व हो भन्ने कुरा बुझेर प्रचारप्रसार गर्नु आवश्यक छ। समाजका हरेक सदस्यलाई कुनै पनि माध्यमले हरेक दिन कम्तीमा एकपटक क्यान्सरबारे सुन्ने वा पढ्ने वा हेर्ने संयन्त्रको विकास हुनु आवश्यक छ। क्यान्सरविरुद्ध सचेतनाका लागि जागरण अभियान जति आवश्यक छ, त्यत्तिकै आवश्यक छ प्रत्येक व्यक्ति संवेदनशील हुनु। सामाजिक सञ्जाल, पत्रपत्रिकाले पनि समाजलाई संवेदनशील, चिन्तनशील तथा जागरुक बनाउन भूमिका खेल्न सक्छन्। सबैभन्दा ठूलो भूमिका बुद्धिजीवीहरूको हुन सक्छ। तर इमानदार त व्यक्ति नै हुनुपर्ने हो। जतिसुकै राम्रो कुराको प्रचार किन नहोस्, कसैको आनीबानी परिवर्तन गर्न अरूले बल गर्नु आजको समयमा कति जायज होला ? अरूको जीवनमा हस्तक्षेप गर्र्नु आजको समयमा उचित पनि हुन्छ कि हुन्न !

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here