काठमाडौं, २२ माघ/रासस
राजधानीमा जारी महिला त्रिकोणात्मक टी–२० शृङ्खलामा नेपालले लगातार चौथो हार बेहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलवार भएको खेलमा नेपाल थाइल्यान्डसँग पाँच रनले पराजित भएको हो । यस हारसँगै नेपाल उपाधि होडबाट बाहिरएको छ । जीतसँगै थाइल्यान्डको भने उपाधि जित्ने सम्भावना बलियो बनेको छ ।
थाइल्यान्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०१ रन मात्र बनायो । नेपालका लागि रूविना क्षेत्रीले सर्वाधिक २६ रन जोडिन् । उनले ३० बलमा तीन चौका र एक छक्काको सहयोगमा ३६ रन बनाएकी थिइन् । यसैगरी, कविता जोशीले २४ रन बनाइन् भने रोमा थापाले १९ जोडिन् ।
यता थाइल्यान्डका लागि थिपचा पुत्थावोङले चार विकेट लिइन् भने फतिन्ना मायाले दुई विकेट लिइन् । त्यस अघि टस जितेर पहिला ब्याटिङ रोजेको थाइल्यान्डले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १०६ रनको योगफल तयार गरेको थियो ।
थाइल्यान्डका लागि चानिदा सुत्थीरूआङले सर्वाधिक २७ रन जोडिन् । उनले २८ बलमा एक चौका प्रहार गरिन् । त्यस्तै, थिपाथ्चा पुथावोङले अविजित २५ तथा नानपत कोन्चारोन्काइले १९ रन बनाए । अफिसारा सुवान्चोनरथीले १७ रन जोडिन् ।
नेपालका लागि मनीषा उपाध्यायले तीन विकेट लिइन् भने पूजा महतो र रचना चौधरीले समान एक/एक विकेट लिए । नेपाल पहिलो र तेस्रो खेलमा नेदरल्यान्ड्ससँग र दोस्रो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो । पहिलो र तेस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थाइल्यान्डले दोस्रो खेलमा नेपाललाई पराजित गरेको थियो ।