• अनन्तकुमार लाल दास

उड्नुपूर्व निहुरिने बेला ज्ञान हाम्रो बढी नजीक हुन्छ भन्ने विलियम वड्र्सवर्थको भनाइ यतिखेर एसइईका तयारीमा जुटेका विद्यार्थीहरूमाथि लागू हुन्छ। विद्यार्थीहरूका लागि परीक्षा कोठा एउटा रणभूमिजस्तै हुन्छ जहाँ विद्यार्थीहरू आफ्नो पूर्ण तयारीका साथ ओर्लन्छन्। परीक्षा कोठामा प्रवेश गर्नुपूर्व विद्यार्थीहरू आआफ्नो हतियार अर्थात् विषयगत पाठ्यक्रमको पूर्ण तयारी क्षमता र समयानुसार गर्दै मानसिक दृढतामा ध्यान दिन्छन्। विद्यार्थीहरूले जस्तोसुकै परीक्षाका लागि आफूलाई तयार गर्नुपर्ने हुन्छ। सबैखाले परीक्षाको लागि बौद्धिक कौशल र सफल रणनीति आवश्यक पर्छ।

धेरैपटक प्रश्नहरू सजिलै हुन्छन्। विद्यार्थीहरूले सबै प्रश्नको जवाफ लेखेका हुन्छन् तर राम्रो अङ्क प्राप्त हुँदैन। यसको एकमात्र कारण नराम्रो लेखाइ नै हो। धेरै विद्यार्थीहरूको के धारणा हुन्छ भने परीक्षापूर्व लेखाइमा सुधार सम्भव हुँदैन। यस कारण उनीहरू यसमाथि ध्यान दिंदैनन्। तर यो त्यति ठूलो लक्ष्य होइन कि प्राप्त गर्न नसकियोस्। यसको लागि मात्र नियमित अभ्यासको आवश्यकता पर्छ। विद्यार्थीहरूले आफ्नो दैनिक कार्यतालिकामा प्रत्येक दिन एक वा दुई पृष्ठ सुलेख लेख्ने निर्धारित गरेर लेखाइमा सुधार ल्याउन सक्छन्। परीक्षा कोठामा हुँदा विद्यार्थीहरूले के ध्यान दिनुपर्छ भने उनीहरूले जे कुरो पनि लेखेका छन् त्यो कापी जाँच गर्नेले पढ्न सकोस् वा लेखेको कुरा बुझ्न सकोस्स किनभने विद्यार्थीले मात्र बुझेर पुग्दैन। प्रश्नको जवाफ लेख्दा दिमाग शान्त राखेर लेख्नुपर्छ किनभने हडबडीमा लेखाइ प्रभावित हुने डर रहन्छ।       

लेखाइमा सुधार ल्याउने सबैभन्दा महत्वपूर्ण साधन हो साथी, शुभचिन्तक वा परिजनलाई पत्र लेख्नु। पत्र लेख्दा एकातिर जहाँ विद्यार्थीहरूको लेखाइमा सुधार हुन्छ, त्यहीं अर्कोतर्फ उनीहरूमा कल्पनाशक्ति अर्थात् सोच्ने शक्तिको पनि विकास हुन्छ। प्रायः एसइईका परीक्षामा यस्ता धेरै प्रश्नहरू सोधिन्छन् जसको जवाफ विद्यार्थीहरूले आफ्नो कल्पना शक्तिको आधारमा दिनुपर्ने हुन्छ। लेखाइमा सुधार ल्याउने अर्को तरीका प्रत्येक राति सुत्नु अघि डायरी लेख्ने बसाल्नु हो। सुन्दर लेखाइ सँगसँगै लेख्ने शैलीको ज्ञान हुनु पनि आवश्यक हुन्छ। कुनै पनि प्रश्नको जवाफ लामो अनुच्छेद वा लामो वाक्यमा नदिई ससाना वाक्यमा दिने कोशिश गर्नुपर्छ। 

विद्यार्थीहरूले परीक्षा दिंदा ध्यान दिनुपर्ने अर्को कुरो के हो भने तपाईंको लेखाइ राम्रो छ तर त्यसमा व्याकरणसम्बन्धी अशुद्धिहरू छन् भने राम्रो अङ्क हासिल हुन सक्दैन। कुन शब्दको अर्थ के हुन्छ र त्यसलाई कहाँ कसरी प्रयोग गर्ने ज्ञान हुनु अति आवश्यक छ। यस्ता धेरै गल्तीहरू विद्यार्थीहरूले परीक्षा दिंदा गर्ने गर्छन्। जस्तै विद्यार्थीहरूले प्रायः क्यारियर (Career) र कैरियर (Carrier) शब्दको प्रयोग गर्दै लेख्छन् अमुक मानिसको कैरियर धेरै राम्रो छ तर यहाँ ‘कैरियर’को साटो ‘क्यारियर’ शब्दको प्रयोग हुनुपर्ने हो। यस कारण प्रवेशिकाको तयारी गरिरहेका विद्यार्थीहरूको लागि कुन शब्दको प्रयोग कहाँ र कसरी गर्नुपर्छ भन्ने कुरा थाहा हुनुपर्छ। यसका लागि विद्यार्थीहरूले व्याकरणमा पनि केही समय ध्यान दिनुपर्ने हुन्छ र यो नियमित अभ्यास र लेखाइले मात्र सुधार गर्न सकिन्छ। 

परीक्षामा सोधिएका प्रश्नहरू नबुझी जवाफ लेख्नु भनेको नदीको गहिराइ थाहा नभई त्यसमा ओर्लिनुजस्तै हो। यसरी गर्दा दुवै ठाउँमा धोखा हुन्छ। प्रायः विद्यार्थीहरू परीक्षामा प्रश्न पाउना साथ लेख्न शुरू गर्छन्। यस्ता विद्यार्थीहरूलाई मेरो के सल्लाह छ भने पहिले प्रत्येक प्रश्नलाई ध्यान दिएर पढौं, त्यसलाई राम्ररी बुझौं अनिमात्र लेख्न शुरू गरौं। जस्तै कुनै प्रश्नले यदि कुनै समस्या समाधानको कुनै नयाँ र मौलिक उपाय लेख्न भनेको छ भने आफ्नो तार्किक क्षमताको प्रयोग गर्दै जवाफ दिंदा बढी अङ्क हासिल गर्न सकिन्छ। पुरानै उपाय लेख्दा थोरै अङ्क प्राप्त हुन्छ। यस कारण प्रश्नको प्रकृति अनुरूप विद्यार्थीहरूले जवाफ लेख्दा राम्रो अङ्क हासिल हुन्छ। 

जुनसुकै प्रश्नको जवाफ लेख्दा विद्यार्थीहरूले ध्यान दिनुपर्ने कुरा के हो भने जवाफ कापी भर्नका लागि मात्र नभई तथ्यपूर्ण होस्। प्रश्नले खोजेको तथ्य तपाईंको जवाफमा हुनुपर्छ। यसका लागि शिक्षकले पढाउँदा तपाईंले तयार गरेको नोट्स र पाठमा भएका कुराहरूलाई एकपटक ध्यान दिएर अवश्य पढ्नुपर्छ। नोट्समा रहेको महत्वपूर्ण शब्दहरूलाई कापीमा भएको मार्जिनमा नोट गर्नुपर्छ वा हाइलाइटरले निशान लगाउनुपर्छ। यसरी गरेपछि प्रश्नको जवाफ सजिलै लेख्न सकिन्छ। 

कुनै पनि प्रश्नको जवाफ लेख्दा विद्यार्थीहरूले पूर्ण विश्वासका साथ जवाफ लेख्नुपर्छ। प्रश्नको जवाफ लेख्दा समय र शब्द सीमाको पनि ख्याल राख्नुपर्छ अन्यथा समय खेर जाने सम्भावना बढी हुन्छ र अङ्क पनि राम्रो प्राप्त हुँदैन। यस कारण विद्यार्थीहरूले बीचबीचमा घडी पनि हेर्दै रहनुपर्छ। यसो गर्दा कुनै पनि प्रश्न छुट्ने सम्भावना न्यून हुन्छ। हरेक प्रश्नको जवाफ समयको हिसाबले दिनु नै राम्रो विद्यार्थीको पहिचान हो। एसइईमा एउटा समूहको जवाफ एउटै ठाउँमा लेख्नुपर्छ र प्रत्येक प्रश्नको जवाफ लेखेपछि एक लाइन छोडेर पेंसिलले धर्को तान्नुपर्छ। यसो गर्दा कापी जाँच्ने परीक्षकलाई सजिलो हुन्छ र परीक्षक प्रभावित हुँदा राम्रो अङ्क हासिल हुने सम्भावना बढ्छ। 

  प्रायः प्रवेशिकाको तयारी गरिरहेका विद्यार्थीहरूलाई के महसूस हुन्छ भने उनीहरूले जति पढे ती सबै उनीहरूलाई याद भयो, अब नयाँ पाठ याद गर्नुपर्छ। विद्यार्थीहरूका लागि थोरै अवधिमा आफूले पढेका कुराहरूको मूल्याङ्कन गर्नु त्यति सजिलो हुँदैन तर विद्यार्थीहरूले यी कुराहरूको पनि ध्यान राख्नुपर्छ। यस कारण विद्यार्थीहरूले कुनै पनि पाठलाई याद गरेपछि एक छिनका लागि किताब छेउमा राखेर आँखा चिम्लेर हालसम्म के–के पढिसकें र के–के पढ्न बाँकी छ भन्ने कुराको चिन्तन गर्नुपर्छ। यस बेला पढेका कुराहरू कतिसम्म याद छ भन्ने कुरा पनि सोच्नुपर्छ। 

विद्यार्थीहरूले विगत तीन वर्षको प्रश्नपत्रहरू सरसर्ती पढ्नुपर्छ र कुन प्रकृतिको प्रश्नहरू प्रवेशिकामा सोधिन्छ र तीमध्ये केही प्रमुख प्रश्नहरूको बैङ्क बनाएर अभ्यास गर्नुपर्छ। यसका साथै आउने प्रवेशिका परीक्षाका लागि तोकिएको पाठ्यक्रमको आधारमा आफैं प्रश्नपत्र निर्माण गरेर सोको जवाफ लेखेर आफैंं परीक्षक बनी जाँच गर्नुपर्छ। परीक्षा कोठामा जवाफ थाहा भए तापनि समयाभावका कारण लेख्न छुट्न सक्छ। यस कारण विद्यार्थीहरूले कुनै एउटा प्रश्नपत्रका लागि तोकिएको समयभित्र जवाफ लेख्ने अभ्यास गर्नुपर्छ। यसरी तीन घण्टा बसेर प्रश्नपत्र हल गर्ने अभ्यासबाट विद्यार्थीहरूले गरेको तयारी सही दिशामा गइरहेको छ वा छैन भन्नेबारे थाहा हुन्छ।

यदि विद्यार्थीहरूले एसइईपूर्वको परीक्षामा कुनै प्रकारको परेशानीको सामना गर्नुपरेको थियो, जस्तै–याद भएको जवाफ लेख्न नसक्ने वा हडबडीमा प्रश्नको जवाफ लेख्न छुट्नेजस्ता समस्याको सामना गर्नुपरेको थियो भने यस्ता कुराहरूमा यस अवधिमा सुधार ल्याउने कोशिश गर्नुपर्छ। विद्यार्थीहरूले एसइई पूर्वको यस अवधिमा परीक्षामा कुन ठाउँमा कस्तो गल्ती गर्छन् भन्ने कुरा ठम्याएर सुधार गर्नुपर्छ। यसका लागि विद्यार्थीहरूले आफ्नो कुनै साथी वा शिक्षकको सहायता लिन सक्छन्। 

यदि विद्यार्थीहरूलाई परीक्षा नजीक आइसकेको र उनीहरूले अहिलेसम्म पाठको पुनरावृत्ति गरेका छैनन् भन्ने महसूस भइरहेको छ भने डराउनुपर्ने कुनै कुरा छैन। यस परिस्थितिमा शान्त भई जुन कुरा महत्वपूर्ण छ त्यसलाई मात्र पढे पुग्छ। पुरानो प्रश्नपत्र लिएर केही सम्भावित प्रश्नहरूमा चिह्न लागाएर तयारी प्रारम्भ गर्नु नै बुद्धिमानी हुन्छ। यस्ता विद्यार्थीहरूमा आफ्नो काम ‘भोलि’ गर्ने सोच बढी हुन्छ, त्यो त्याग्नु नै उनीहरूको हितमा हुन्छ। यस्तो समस्याबाट जोगिन चुनौती स्वीकार गर्ने बानी बसाल्नुपर्छ, समय व्यवस्थापनको पालना कडाइका साथ गर्नुपर्छ, आफ्नो लक्ष्य चिन्नुपर्छ र यथार्थवादी निर्णय लिनुपर्छ।

हरेक मानिस आफ्नो लक्ष्य प्राप्त गर्न खोज्छ र एसइईपूर्वको यस अवधिमा यदि तपाईंको मन बेचैन भइरहेको छ भने प्रत्येक दिन यस बेचैनी माथि केही समय खर्च गर्नुपर्छ। यसको लागि एकान्तमा बसेर चिन्तन–मनन गर्नुपर्छ। यहींबाट जवाफ प्राप्त हुन्छ। प्रायः के देखिएको छ भने एसइईपूर्व विद्यार्थीहरूले पाठलाई बुझ्ने कम र घोक्ने बढी गर्छन्। विद्यार्थीहरूद्वारा घोक्ने प्रक्रियाले नै पढाइलाई उनीहरूको लागि बोझमा परिवर्तित गरिदिन्छ र पटक–पटक उनीहरूको ध्यान भङ्ग भइरहन्छ। यस कारण विद्यार्थीहरूले घोक्नुभन्दा बढी समय पाठ बुझ्नमा व्यतीत गर्नुपर्छ। धेरै विद्यार्थीहरू एसइईपूर्वको यस अवधिमा आराम गर्न छोडेर पढाइमाथि नै विशेष ध्यान दिने गर्छन्। यसले पनि उनीहरूमा तनाव उत्पन्न हुन्छ। यस कारण विद्यार्थीहरूले पढाइको बीचबीचमा आराम गर्नका लागि पनि समय निकाल्नुपर्छ। 

सफलता हासिल गर्नका लागि सबैभन्दा पहिलो काम स्वयंलाई अनुशासित गर्नु होस किनभने ब्रह्माण्डले पनि अनुशासनको पालना गर्दछ। एउटा निश्चित तिथिमा मौसम परिवर्तन हुन्छ। समयानुसार पशुपन्छी र रूख–बिरुवा पनि यदि अनुशासनमा बस्दैनन् भने उनीहरूको राम्ररो विकास हुँदैन। यस कारण एसइईको लक्ष्य प्राप्त गर्न उद्देश्यपूर्ण कुराहरूमा ध्यान दिनु नितान्त आवश्यक हुन्छ। एसइई पूर्वको यस अवधिमा विद्यार्थीहरूले शिक्षक र अभिभावकको सल्लाह लिए भने उनीहरू भ्रम र भयमुक्त भई गरिएको लगानी र समयको सदुपयोग बुद्धिमानीपूर्वक गर्न सक्छन्। एसइईमा सफलताको शुभकामना सहित….१

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here