प्रस, वीरगंज, २ माघ/
प्रादेशिक अस्पताल कलैयाका बिरामीहरूलाई अहिले निजी अस्पतालहरूले अपहरणशैलीमा लैजाने गरेका छन् ।
विगत दुई/तीन वर्षदेखि प्रादेशिक अस्पताल कलैया आसपासमा सञ्चालित छवटाभन्दा बढी निजी अस्पतालहरूले कलैया अस्पतालका बिरामीहरूलाई अपहरणशैलीमा आप्mनो निजी अस्पतालमा महँगो मूल्य लिएर उपचार गराउँदै आएको गुनासो बढ्दो छ । खासगरी दुर्घटनामा परेका बिरामीहरू, प्रसूति, हाडजोर्नी, विषसेवनलगायतका बिरामीहरूलाई अस्पतालबाट अस्पतालकै कर्मचारीहरूको सहयोगमा निजी अस्पतालले यस्तो कार्य गर्दै आएको बिरामीहरूको गुनासो छ ।
कलैया अस्पतालमा दैनिक पाँच सयसम्म ओपिडीमा र डेढ सयजति आकस्मिक सेवामा बिरामीहरू आउने गरेका छन् । प्रादेशिक अस्पताल कलैयाको शøया सङ्ख्या ५० हो तर अहिले ७६ जना बिरामी भर्ना गरेर सेवा दिंदै आएको छ । यो अस्पतालमा अर्थोका दुई, बालरोगका दुई, मेडिसिनका दुई, सर्जनका दुई, आँखा, दन्त, एनेस्थेसियाका एक/एक जना चिकित्सक कार्यरत छन् । उनीहरू अस्पतालवरिपरि खुलेका निजी अस्पतालहरूमा पनि आबद्ध छन् ।
कतिपय बिरामीहरूलाई चिकित्सकहरूले आफू कार्यरत निजी अस्पतालमा जान दबाब दिने गरेका छन् । अस्पतालको सेवा राम्रो नभएको, शøया खाली नभएकोलगायतका कुराहरू दर्शाएर बिरामीहरूलाई निजी अस्पतालमा पठाउने गरेका छन् । खासगरी आकस्मिक कक्षमा आउने बिरामीहरूलाई निजी अस्पतालमा जान बाध्य बनाउने गरेको बिरामीका अभिभावकहरूको गुनासो छ ।
चिकित्सकको सल्लाह नमान्दा उपचारमा हेलचेक्र्याइँ हुने डरले पनि उनीहरूले भनेको अस्पतालमा बिरामी लैजान बाध्य हुनुपरेको एकजना अभिभावकले बताए । निजी अस्पतालले कलैया अस्पतालमा बिचौलियाहरू तैनाथ गरेका छन् । उनीहरूले पनि त्यहाँ आउने बिरामीहरूलाई निजी अस्पतालमा लैजाने गर्छन् ।
गाउँका विभिन्न ठाउँबाट आउने बिरामीहरूलाई एम्बुलेन्स चालकले कमिशनको आधारमा निजी अस्पतालमा लैजाने गरेका छन् । कलैया अस्पतालमा निजी अस्पतालभन्दा राम्रो सेवा सुविधा छ । सबैखाले सेवा, सुविधा उपलब्ध हुँदा पनि कमिशनको लोभमा बिरामीहरूलाई अपहरणशैलीमा लैजाने क्रम अहिलेसम्म रोकिएको छैन ।
बिरामीहरूको यस प्रकारका गुनासाको आधारमा हालै प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले नगरप्रमुख विनोद साहसहितको टोली लिएर अस्पतालमा अनुगमन गरेका थिए । सो क्रममा बिरामीहरूसँग भलाकुसारी गरी उनले चिकित्सकहरूलाई सेवा दिन झपारेका थिए । प्रजिअ अधिकारीले सम्पूर्ण बिरामीको अगाडि चिकित्सकहरूलाई झपार्दा पछि विवादित बनेको थियो ।
नेपाल चिकित्सक सङ्घ, नारायणीले विज्ञप्ति जारी गरेर चिकित्सकविरुद्ध दुव्र्यवहार भएको भनी घटनाको विरोध गरेको थियो । तर चिकित्सकहरूको लापरवाही देखिएपछि सङ्घ पनि चुप लागेको छ । विवाद बढ्दै जाँदा चिकित्सकहरूबाट सेवामा हुने गरेको लापरवाही उजागर हुने भएपछि यो घटनालाई थामथुम पारिएको स्रोतले जनाएको छ ।
यसैबीच सांसद प्रभु हजराले आज नारायणी अस्पतालको अनुगमन गरेका छन् । अनुगमनको क्रममा उनले अस्पतालको सेवा चित्तबुझ्दो भएको प्रतिक्रिया दिए । उनले अस्पतालमा भएका बिरामीहरूलाई सेवाबारे सोधनी गरेको र उनीहरूले सन्तोषजनक अभिव्यक्ति दिएको बताए ।
सांसद हजराले अस्पतालको सरसफाइप्रति पनि खुशी व्यक्त गरे । सम्पूर्ण वार्डको अनुगमन गरेको र सेवा चित्तबुझ्दो भएको उनको प्रतिक्रिया थियो । २५ वर्ष अगाडि अस्पताल विकास समितिको सदस्य हुँदा यहाँका बिरामीहरूलाई अपहरण गरी निजी अस्पतालमा लैजाने कार्य भएको हुँदा यस्तो कार्यले फेरि निरन्तरता नपाओस् भनी मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासलाई सुझाव दिए ।
डा दासले आफू आएयता अस्पतालका सम्पूर्ण सेवासुविधा बिरामीहरूलाई उपलब्ध होस् भन्नेतर्फ आफ्नो इमानदार प्रयास भइरहेको बताए । अस्पतालका विकृतिविरुद्ध आफू पनि सङ्घर्षरत रहेको र सेवालाई अझ प्रभावकारी बनाउनेतर्फ लागिपरेको दाबी गरे ।