कञ्चनपुर, २० पुस/रासस
देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा शनिवारदेखि एकैसाथ जलपक्षी गणना कार्य गरिने भएको छ । हरेक वर्षको जनवरी महीनाको पहिलो शनिवारदेखि जलपक्षी गणना कार्य गरिंदै आएको छ ।

जनवरी ४ तारिखदेखि १९ सम्म (पुस २० गतेदेखि माघ ६ गतेसम्म) जलपक्षीको सङ्ख्या, प्रजाति, बासस्थानको अवस्थाबारे जानकारी लिनका लागि गणना कार्य हुन लागेको नेपाल पक्षीविद् सङ्घका वरिष्ठ चराविद् तथा वेटल्यान्ड्स इन्टरनेशनल नेपालका लागि जलपक्षी गणना संयोजक लक्ष्मणप्रसाद पौड्यालले बताए ।

उनका अनुसार यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क सङ्कलन कार्य हुनेछ ।

गत वर्ष कोशी टप्पु वन्यजन्तु आरक्ष, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज, काठमाडौं, पोखरा, लुम्बिनी, बीसहजारी ताल, घोडाघोडी, जगदीशपुरलगायतका तालसँगै देशका विभिन्न तालतलैया र सिमसार क्षेत्रमा जलपक्षी गणना कार्य गरिएको थियो ।

“यस वर्ष पनि यी क्षेत्रलाई निरन्तरता दिइने लक्ष्य राखेका छौं,” उनले भने, “गोक्यो, गोसाइँकुण्ड, माईपोखरी, फोक्सण्डो तालजस्ता हिमाली क्षेत्रका तालमा भने अझै नियमित गणना कार्य हुन सकेको छैन, यी ताल र अन्य सम्भावित सिमसार क्षेत्रमा चरा अवलोकनमा जानेको विवरण माग गरेका छौं इच्छुक जोसुकैले जान सक्छन् ।”

विगतका वर्षझैं यस वर्ष पनि तराई, भित्री मधेस, रारा ताल, काठमाडौं उपत्यका र पोखरा उपत्यका सबै प्रमुख सिमसार क्षेत्रमा जलपक्षी गणना कार्य गरिने उनले बताए ।

भारतीय महाद्वीपमा एशियाली जलपक्षी गणना कार्य सन् १९८७ देखि वेटल्यान्ड्स इन्टरनेशनलले शुरू गरेको हो । यो कार्य शुरूमा एशियाको अफगानिस्तान, जापान, दक्षिण एशिया र अस्ट्रेलियामा गरिएको थियो ।

सन् १९८७ देखि नै नेपालमा पनि एशियाली जलपक्षी गणना कार्य नियमितरूपमा हँुदै आएको छ । नेपालमा पहिलो गणना एक रामसार साइट र अन्य केही सिमसार क्षेत्रमा गरिएको थियो । त्यसपछि गणना कार्य निरन्तररूपमा जारी रहेको छ ।

“जलपक्षी गणना कार्यले देशको जैविक विविधता संरक्षणमा महŒवपूर्ण भूमिका खेलेको छ,” संयोजक पौड्यालले भने, “यस गणना मुख्य उद्देश्य पानीमा आश्रित बसाइँसराइ गर्ने, पानीमा र त्यसको वरिपरि बस्ने चराको सङ्ख्या र वितरणको बारेमा जानकारी सङ्कलन गर्नु रहेको छ ।”

यस कार्यबाट सिमसार क्षेत्रको अवस्था, जलपक्षीको प्रजननको अवस्था र जलवायु परिवर्तनको अवस्थाबारे जानकारी पाउन सकिने उनी बताउँछन् ।

जलपक्षी गणना सिमसारको स्वास्थ्य मूल्याङ्कन, जलवायु परिवर्तनको अवस्था बुझ्न, सिमसार संरक्षण योजना बनाउन र जनचेतना अभिवृद्धि गर्न महŒवपूर्ण रहेको उनको भनाइ रहेको छ ।

यसले रामसार महासन्धि, प्रवासी प्रजातिसम्बन्धी महासन्धि, जैविक विविधताको महŒवपूर्ण पक्षी क्षेत्र कार्यक्रम, आइसियुएन रेड लिस्ट कार्यक्रम र वेटल्यान्ड्स इन्टरनेशनलको जलपक्षी सङ्ख्या अनुमान कार्यक्रमजस्ता विभिन्न अन्तर्राष्ट्रिय सन्धि तथा अभियानको कार्यान्वयनमा पनि सहयोग पु¥याउने उनको बुझाइ रहेको छ ।

गत वर्ष सन् २०२४ मा गरिएको जलपक्षी गणनामा देशभरका १८ प्रमुख सिमसार क्षेत्र अन्तर्गत ८४ वटा साना क्षेत्रमा ४०२ जना स्वयंसेवकले ७९ प्रजातिका ६३ हजार नौ सय जलपक्षी रेकर्ड गरेका थिए ।

यीमध्ये छवटा रामसारमा सूचीकृत सिमसार क्षेत्र पनि थिए । वरिष्ठ पक्षीविद् पौड्यालका अनुसार यस वर्षको गणना प्रारम्भिक नतीजा आगामी २ फेब्रुअरी २०२५ मा विश्व सिमसार दिवसको अवसरमा सार्वजनिक गरिनेछ ।

विस्तृत प्रतिवेदन भने आगामी वैशाख १ देखि ७ गतेसम्म मनाइने वन्यजन्तु सप्ताहका अवसरमा सार्वजनिक गरिनेछ । गत विगत वर्षको तथ्याङ्कको तुलनात्मक अध्ययनबाट जलपक्षीको सङ्ख्या, विवरण र सिमसारको अवस्थाबारे महŒवपूर्ण जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।

स्थानीयरूपमा जलपक्षी गणना कार्य गर्नका लागि स्वयंसेवकको रूपमा देशभर २४ जनालाई साइट–कोअर्डिनेटरका रूपमा खटाइएको छ ।

उत्तरी धुव्र रूस, चीन, मङ्गोलियालगायतका अत्यधिक चीसो हुने क्षेत्रबाट हजारौंको सङ्ख्यामा चरा जाडो छल्न अनुकूल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा नेपालका विभिन्न ताल, तलैया, नदी र वनजङ्गल क्षेत्रमा आउने गर्छन् ।

उत्तरी धु्रवमा हिउँ परेर तापक्रम निकै चीसो हुने भएकाले चरा बाँच्नका लागि अनुकूल तापक्रमको खोजीमा नेपालमा आउने गर्छन् ।

यहाँका ताल, तलैया, नदीमा माछा, कीराफट्याङ्ग्राजस्ता खानेकुरा प्रचुर मात्रामा पाइने र विभिन्न संरक्षित क्षेत्रमा शिकारीबाट बच्ने कार्यसँगै सुरक्षित बासस्थान उपलब्ध हुने भएकाले चराका लागि अनुकूल वातावरण रहने गर्छ ।

नेपालमा हिउँदमा बसाइँसराइ गरी आउने जलपक्षीमा हाँसका विभिन्न प्रजाति, जलेवा, गङ्गाचीललगायत रहने गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here