महोत्तरी, १२ पुस/रासस
तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्व दुई साताभन्दा बढी बाँकी छँदै महोत्तरीसहित मधेसका जिल्लामा मिठ्ठा (सख्खर) र तिलको कारोबार शुरू भएको छ । आमउपभोक्ता मिठाइ बनाउन चाहिने तिलको जोहो गर्न व्यस्त छन् ।

पर्वमा ‘लाई’ बनाइने तिल दुई/तीन पटक फलेर (तिललाई पानीमा भिजाएर भुस निकाल्ने) राम्ररी सुकाइनुपर्ने हुँदा यसको काम गृहिणीले केही साता पहिले नै शुरू गर्ने प्रचलन छ । तिल र उखु उत्पादक किसानहरूसमेत अरू काम थाती राखेर आजभोलि तिल चुट्ने, निफन्ने र उखु पेलेर सख्खर बनाउने काममा व्यस्त देखिन्छन् । बर्दिबास–२ की फूलमाया मगरलाई पनि अचेल यस्तै चटारो छ । चाँडै बजार पु¥याउन नसकिए उत्पादनको राम्रो मूल्य नपाइने भएकाले आफूहरू अरू काम छोडेर यसैमा लागेको उनले बताइन् । “आधा पुस त जानै लाग्यो, अब पुस २० अघि त तिल बेच्न नभ्याएपछि भाउ पाइँदैन,” मगर भन्छिन्, “त्यसैले अहिले अरू काम थाती राखेर परिवारै तिल बनाउन लागेका छौं ।” यसपालि पाँच कट्ठा जग्गामा बटैया तिलखेती गरेकी मगरको यही बेचेर घरका लागि आवश्यक सामानको जोहो गर्ने योजना छ । राम्ररी निफनिएको तिल प्रतिकिलोग्राम रु चार सयमा बिक्री भइरहेको उनले जानकारी दिइन् ।

यसैगरी, उखुखेती किसान पनि अहिले धमाधम उखु पेलेर मिठा पकाउन व्यस्त छन् । राम्रो मिठा प्रतिकिलोग्राम रु १२० को हाराहारीमा बिक्री भइरहेको हुँदा उखु पेलेर मिठा बनाउने काममा जुटेको भङ्गाहा–४ प्रेमनगरका सुफल महतो बताउँछन् । यसपालि १० कट्ठामा उखुखेती गरेका महतोको पुस तेस्रो साताभित्रै धेरैजसो उखु पेलिसक्ने योजना छ ।

गरीब किसानले यहाँ तिलासक्रायत पर्व आफ्नो उत्पादनले राम्रो भाउ पाउने अवसरका रूपमा लिन्छन् । तिल, सख्खरका अतिरिक्त यस पर्वमा सकरखण्ड (सुठुनी), तरुल, मास, पिंडालुुलगायत फसल बढी प्रयोग हुने हुँदा किसानहरू लाभान्वित हुने गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here