वीरगंज, ११ पुस/रासस
वीरगंज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोलको पैठारी बढेको छ । चालू आर्थिक वर्षको पाँच महीनामा डिजेलको आयात एक दशमलव १३ प्रतिशतले घटेको वीरगंज भन्सार कार्यालयले जनाएको छ ।

सो अवधिमा राजस्व सङ्कलनमा पनि छ दशमलव ९१ प्रतिशतले गिरावट आएको छ । आव २०८१/८२ को पाँच महीनामा ३२ अर्ब ३५ करोड २६ लाख ८८ हजारको तीन लाख ६६ हजार ७१९ किलोलिटर डिजेल आयात भएको थियो ।

गत आवको सोही अवधिमा भने रु ४० अर्ब ३६ करोड ५० लाख १५ हजारको तीन लाख ७० हजार ९२० किलोलिटर डिजेल आयात भएको थियो । चालू आवको पाँच महीनाको अवधिमा डिजेल आयात घटे पनि पेट्रोल आयातमा भने वृद्धि भएको छ ।

चालू आवको पाँच महीनाको अवधिमा रु १६ अर्ब २१ करोड दुई लाख २७ हजारको एक लाख ८८ हजार ३४५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको सोही अवधिमा भने रु १६ अर्ब ३९ करोड ८० लाख ६० हजारको एक लाख ६२ हजार ४६ किलोलिटर पेट्रोल आयात भएको थियो । गत आवको पाँच महीनाको तुलनामा चालू आवको सोही अवधिमा पेट्रोलको आयात १६ दशमलव २३ प्रतिशत र राजस्वको आधारमा भने १२ दशमलव ५२ प्रतिशतले बढेको उक्त कार्यालयले जनाएको छ ।

मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट नै पैठारी हुँदै आएको छ । नेपाल आयल निगमले यो महीनाभित्रै पेट्रोल र मटीतेल पनि पाइपलाइनबाट ल्याउनेगरी तयारी थालेको जनाएको छ ।

यसैबीच, नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले पूर्वाधार निर्माणको समय शुरू भएकाले अब क्रमशः पेट्रोलियम पदार्थको खपत वृद्धि हुने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here