गोपालप्रसाद बराल
महोत्तरी, ११ पुस/रासस
मधेसको पूर्व–पश्चिम लम्बाइमा करीब मध्यमा पर्ने महोत्तरीको बर्दिवास नगर क्षेत्र शैक्षिक केन्द्र बन्दैछ । यस अघिदेखि विभिन्न सङ्कायका विधामा उच्च शिक्षाको केन्द्र रहँदै आएको बर्दिवासमा भर्खरै पशु स्वास्थ्य विज्ञान सङ्कायको कलेज स्थापनाको प्रक्रिया अघि बढेपछि यो नगर क्षेत्र शैक्षिक केन्द्र बन्न लागेको हो ।

बर्दिवासमा मधेस कृषि विश्वविद्यालयले पशु स्वास्थ्य विज्ञान कलेज बनाउने प्रक्रिया अघि बढाइएको छ । कृषि, पशु स्वास्थ्य विज्ञान, मत्स्य विज्ञान, खाद्य प्रविधि र वन विज्ञानसमेत पाँच विधाको अध्ययन हुनेगरी २०७८ सालमा स्थापित मधेस कृषि विश्वविद्यालयले पशु स्वास्थ्य विज्ञानको पठनपाठन र प्रयोगात्मक अभ्यासका लागि बर्दिवासमा उच्च शिक्षा पूरा गरिने कलेज निर्माण हुन लागेको मधेस कृषि विश्वविद्यालयका रजिष्टार डा भगवान ठाकुर बताउँछन् । कलेजका लागि बर्दिवास–१३ विजलपुराको नदीउकास जग्गाबाट ५१ बिघा उपलब्ध गराउने बर्दिबास नगरपालिकाको सिफारिशलाई प्रमुख जिल्ला अधिकारी नेतृत्वको जग्गा दर्ता सिफारिश समितिले निर्णय गरिसकेको प्रमुख जिल्ला अधिकारी लालबाबू कवारीले बताए ।

नगरपालिकाले २०७९ पुसमैं यो कलेज स्थापनाका लागि राष्ट्रिय योजना आयोगमा प्रस्ताव लग्यौं, कानूनी प्रक्रिया पूरा गर्दै अघि बढ्दा केही समय लागे पनि अब भने यसले गति समातेको बर्दिबास नपाका प्रमुख प्रह्लादकुमार क्षेत्री बताउँछन् । सरकारले प्रारम्भिक चरणमैं आर्थिक वर्ष २०८०/८१ मा भेटेरिनरी कलेज निर्माणका लागि तीन वर्षे अवधिको क्रमागत योजना अन्तर्गत रु नौ करोड ५० लाख विनियोजन गरेको थियो । तर त्यतिखेर कलेजका लागि जग्गाप्राप्तिको विषय अघि नबढ्दा अन्योलमा परेको थियो । सङ्घीय सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को बजेटमा पनि भेटेरिनरी कलेजको विषय समावेश गरेको छ ।

जग्गाप्राप्तिको अन्तिम निर्णय भएपछि यसैपालि भेटेरिनरी अस्पताल, पशु शøया (बिरामी पशु राखिने ठाउँ) प्रयोगशाला र कर्मचारी आवासका संरचना निर्माणको काम तत्कालै थालिने मधेस कृषि विश्वविद्यालयले जनाएको छ । रजिष्टार डा ठाकुर भन्छन्, “तीन वर्षभित्र कलेजका संरचना निर्माणका काम सकिनेछन्, त्यसलगत्तै पठनपाठन र अभ्यास शुरू गर्न सकिन्छ ।”

बर्दिबास नगर क्षेत्र कृषि र यस अन्तर्गतको पशुपालन व्यवसायको उर्वर ठाउँ भएको हुँदा यहाँ स्थापना हुने पशु स्वास्थ्य विज्ञान कलेजको स्थापनाले उच्च शिक्षा लिने मात्र नभई सर्वसाधारण किसान पनि लाभान्वित हुने नगरप्रमुख क्षेत्रीको विश्वास छ । “यहाँ स्थापना भई सञ्चालन हुने भेटेरिनरी कलेजबाट यहाँ पशुपालन व्यवसाय प्रवद्र्धनमा मदत पुग्नेछ,” क्षेत्री भन्छन्, “यहाँबाट उत्पादन हुने पशु स्वास्थ्य विज्ञान विषयका दक्ष जनशक्तिले मुलुककै समृद्धिमा योगदान दिनेछन् ।”

बर्दिबासमा अहिले भेटेरिनरी कलेज स्थापनाको कुराले नगर विभिन्न विधाको औपचारिक शिक्षाको मुख्य गन्तव्य (केन्द्र) बन्ने नगरवासीको विश्वास छ । “हाम्रो नगर शैक्षिक गन्तव्यको मुख्य थलो बन्दैछ,” भेटेरिनरी कलेज स्थापनाको कुराले उत्साहित भएका बर्दिबास जनता बहुमुखी क्याम्पसको प्राज्ञसभाका अध्यक्ष भरतबहादुर हमाल भन्छन्, “यसले बर्दिबासलाई शैक्षिक गन्तव्यको थलोका रूपमा विकास हुनमा थप आधार बनाउनेछ ।”

बर्दिबासमा यस अघिदेखि नै वाणिज्य र शिक्षा सङ्कायको त्रिविवि अन्र्तगतको बर्दिबास जनता बहुमुखी क्याम्पस, प्राविधिक धारतर्पmका आठभन्दा बढी विधाको पठनपाठन र अभ्यास हुने निर्मल लामा बहुप्राविधिक शिक्षालय र कृषि विश्वविद्यालय रामपुर सम्बन्धनको कृषि सङ्कायका विभिन्न विधाको पठनपाठन हुने प्राकृतिक स्रोत कलेज सञ्चालनमा छन् । स्नातक तहसम्मका यी शैक्षिक प्रतिष्ठानले बर्दिबासलाई शैक्षिक केन्द्रका रूपमा परिचय दिएको छ । अब भेटेरिनरी कलेज स्थापनाको कुराले यसमा थप बल पुग्ने शिक्षाविद् बर्दिबास–१ का बासिन्दा लीलाविक्रम थापा बताउँछन् ।

शिक्षा सङ्कायमा स्नातकोत्तर र वाणिज्यमा स्नातक तहसम्मको पठनपाठन हुने बर्दिबास जनता क्याम्पसमा अहिले एक हजार तीन सय बढी छात्रछात्रा अध्ययनरत छन् । यसैगरी, स्नातक तहसम्मकै निर्मल लामा बहुप्राविधिक शिक्षालयमा (सिभिल इन्जिनीयरिङ, सर्भे नापी, फूड एन्ड डेरी, होटल म्यानेजमेन्ट, फार्मेसी, वन विज्ञान र आयुर्वेदसहितका आठ विधामा गरी आठ सयमाथि छात्रछात्रा छन् । यसैगरी, प्राकृतिक स्रोत कलेजमा मुलुककका सातै प्रदेशका चार सय बढी छात्रछात्रा छन् । यसबाहेक यहाँका छ माध्यमिक विद्यालयले डिप्लोमा तहका कृषि विज्ञान, पशु स्वास्थ्य र कम्प्युटर विज्ञानसम्बन्धी प्राविधिक धारको पठनपाठन गराउँदै आएका छन् ।

यहाँ नेपाल सरकारको २०७३ सालकै निर्णयले बर्दिबास मेडिकल कलेज निर्माणको प्रक्रियामा छ । मेडिकल कलेजको पूर्वाधार निर्माणको परियोजना कार्यालय नै स्थापना भएर सातजनाको जनशक्ति कार्यरत छ । तर यो कलेज निर्माणको प्रस्तावित स्थल वन अधीनस्थ जग्गा हुँदा अहिले जग्गाप्राप्तिकै कुरा विचाराधीन छ । भेटेरिनरी कलेज स्थापनाको कुराले उत्साहित बर्दिबासवासी मेडिकल कलेजको जग्गाबारे पनि चाँडै निर्णय आउने पर्खाइमा छन् ।

बर्दिबासमा उच्च शिक्षाका लागि सञ्चालित कलेजका अतिरिक्त माध्यमिक तहका सामुदायिक विद्यालय ३० वटा रहेका छन् । बर्दिबास नगर कार्यपालिका कार्यालयको शिक्षा शाखा प्रमुख रेवतीरमण पराजुली भन्छन्, “उच्च शिक्षामा विभिन्न विधाको पठनपाठनको अवसर यहाँ बन्दै जानुले यो नगर मधेसकै शैक्षिक गन्तव्यका रूपमा विकास हुने क्रममा छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here