बरहथवा (सर्लाही), ३० साउन/रासस
सर्लाहीमा बर्सेनि खेतीयोग्य जमीन मासिंदै गएको छ । यहाँ विगत १० वर्षमा ११ हजार ४०६ दशमलव सात हेक्टर खेतीयोग्य जमीन मासिएको छ । जिल्लामा लगातार खेतीयोग्य भूभाग मासिने क्रम बढ्दो रहेको राष्ट्रिय कृषि गणना–२०७८ को तथ्याङ्कले देखाएको हो ।
१० वर्ष अघि २०६८ मा भएको जनगणना तथ्याङ्क अनुसार जिल्लाको कुल भूभाग एक लाख २५ हजार नौ सय हेक्टरमध्ये ८४ हजार ६७८ हेक्टर खेतीयोग्य जमीन थियो । त्यही खेतीयोग्य जमीन घटेर अहिले ७३ हजार २७१ दशमलव तीन हेक्टर क्षेत्रफलमा खुम्चिएको हो । अव्यवस्थित तवरले भइरहेको पूर्वाधार निर्माणको प्रत्यक्ष असर जिल्लाको खेतीयोग्य जमीनमा परेको जिल्ला कृषि ज्ञान केन्द्र, सर्लाहीका कार्यालय प्रमुख देवानन्द राय यादवले बताए ।
खेतीयोग्य जमीन अतिक्रमणमा पर्दै जाँदा जिल्लाको कृषि उत्पादनको अवस्थासमेत खस्कँदै गएको छ । सङ्घीयता कार्यान्वयनपछि थप तीव्र गतिमा खेतीयोग्य जमीन मासिने क्रम बढेको छ । “केही वर्ष पहिलासम्म धान फल्ने खेतमा अहिले पक्की भवन बनेका छन्,” उनले भने । हरियो खेतका फाँटमा अहिले घरैघर छन् ।
अव्यवस्थितरूपमा भएका विकासको असर चौतर्फी परेको छ । खेतमा अन्धाधुन्द व्यापारिक भवन निर्माण गर्ने क्रम रोकिएको छैन । केही दशक अघि अन्न उब्जाउने खेत अब बाँकी नरहने प्रमुख यादवले बताए ।