जलेश्वर (महोत्तरी), २९ साउन/रासस
जिल्लाको गौशाला नगरपालिकामा मालपोत तथा नापी कार्यालयको कामकाज शुरू भएसँगै त्यस
क्षेत्रका स्थानीय बासिन्दा खुशी भएका छन् ।
वर्षाैंदेखि ४० किलोमिटर टाढा रहेको सदरमुकाम जलेश्वरस्थित मालपोत र नापी कार्यालयबाट भूमिसम्बन्धी सेवा लिन बाध्य रहेका त्यस क्षेत्रका बासिन्दा अब मङ्गलवारदेखि आफ्नै गाउँँठाउँमा सेवा प्राप्त गर्न थालेपछि खुशी भएका छन् ।
महोत्तरीका गौशाला नगरपालिका, औरही नगरपालिका, सम्सी गाउँपालिका र सोनमा गाउँपालिकाका जग्गाको खरीद–बिक्री, नामसारी, कित्ताकाट, अंशबन्डा, राजीनामा पासलगायत काम गौशाला बजारस्थित मालपोत र नापी कार्यालयबाट हुनेगरी प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कार्यालयको उद्घाटन गरे ।
आजदेखि त्यस क्षेत्रका चार पालिकाका हजारौं जनताका जग्गासम्बन्धी सबै कामकाज अब गौशालाबाट शुरू भएको छ । सोमवार मालपोत र नापी दुवै कार्यालयको उद्घाटन भएसँगै आजदेखि त्यस क्षेत्रका गौशाला नगरपालिका, औरही नगरपालिका, सम्सी गाउँपालिका र सोनमा गाउँपालिकाका जग्गाको खरीद, बिक्री, नामसारी, कित्ताकाट, अंशबन्डा, राजीनामा पास, दृष्टिबन्धक पासलगायत कामहरू शुरू भएको हो ।
गौशाला निवासी हजारी साहले वर्षाैंदेखि जग्गासम्बन्धी सानोतिनो कामदेखि ठूलठूला सबै कामका लागि ४० किलोमिटर टाढा सदरमुकाम जलेश्वर जानुपर्ने बाध्यता अब आफ्नै स्थानीय तहमा मालपोत र नापी आएपछि हटेको तथा यसले आफूहरू निकै खुशी भएको बताए ।
औरहीका धर्मेन्द्र यादवले पनि आफ्नो पालिकालाई पायक पर्ने गौशालामा यस क्षेत्रका मालपोत र नापीसँग सम्बन्धित जग्गाका सम्पूर्ण कामकाज हुन थालेपछि आफूहरूको समय, पैसा र श्रमको बचत भएको तथा यसले आम जनमानसमा निकै खुशी ल्याएको बताए ।
सम्सीका विजय यादवले जग्गासम्बन्धी कामकाजका लागि सदरमुकाम जलेश्वरस्थित मालपोत र नापी कार्यालयमा भर पर्दै आएको व्यवस्थाको अन्त्य भएर आम जनताले आफ्नै गाउँपालिकाको पायक पर्ने ठाउँमा सेवा प्राप्त गर्न थालेपछि एउटै कामका लागि तीन/चार दिनसम्म पनि जलेश्वर धाउने झन्झटबाट मुक्ति मिलेको र अतिरिक्त पैसा, समय तथा श्रमको बचत भएको बताए ।