बरहथवा (सर्लाही), २९ साउन/रासस
जिल्ला कृषि ज्ञान केन्द्रको सिङ्गो कार्यालय एउटै कोठाबाट सञ्चालन भएको लामो समय भइसकेको छ । कार्यालय भवन जीर्ण बन्दै गएपछि अहिले सिङ्गो कार्यालय एउटै कोठामा अत्यन्त साँघुरो गरी सञ्चालन गर्नुपरिरहेको कार्यालय प्रमुख देवानन्द राय यादवले बताए ।
जिल्ला सदरमुकाम मलङ्गवामा रहेको साबिक जिल्ला कृषि विकास कार्यालय स्थानीय तह निर्वाचनपछि जिल्ला कृषि ज्ञान केन्द्रमा रूपान्तरण भएको थियो । पुराना भवन प्रयोगको अवस्थामा नरहेपछि कार्यालय एउटा कोठामा खुम्चिएको हो । “पहिलो बनेको भवन अत्यन्त जीर्ण अवस्थामा छ,” उनले भने, “भवनको भित्ता सबै उप्किएको छ । छतबाट वर्षात्मा पानी सबैभित्र पस्छ ।”
भवन निर्माणमा यस कार्यालयले चार वर्ष पहिले रु पाँच लाखमा परियोजना विस्तृत विवरण (डिपिआर) तयार गरी प्रदेश मन्त्रालयमा बुझाएको छ । डिपिआर स्वीकृत भएकाले भवन निर्माणका लागि विनियोजित बजेट बर्सेनि फिर्ता भइरहेको कार्यालय प्रमुख यादवले बताए । उनका अनुसार गत तीन वर्षदेखि यस कार्यालय निर्माणका लागि बजेट रु तीन करोड ८५ लाख फ्रीज भइसकेको छ।
कार्यालय भवन निर्माणका लागि आव २०७७/७८ मा रु ५० लाख, आव २०७८/७९ मा रु दुई करोड र आव २०७९/८० मा रु एक करोड ३५ लाख बजेट डिपिआर स्वीकृत नभएकै कारण फिर्ता भएको छ । “हामी पटकपटक प्रदेशस्थित मन्त्रालयमा पुग्यौं,” उनले भनजे, “डिपिआर स्वीकृत गरिपाउँ भनेर अनुरोध गरेका छौं । तर काम भएको छैन ।” कार्यालय व्यवस्थापन हुन नसक्दा कृषि कार्यक्रमका लागि आएका अधिकांश बजेट यसै फ्रीज हुने गरेको उनले बताए । कार्यालयमा नौजना प्राविधिकसहित १५ जनाको दरबन्दी भएपनि हाल प्रमुखसहित तीनजना प्राविधिक, सहयोगी, ड्राइभर, कम्प्युटर अपरेटर गरी सातजना कर्मचारी छन् ।
गत आर्थिक वर्ष कृषि सिंचाइका लागि विनियोजित रु चार करोड १० लाख बजेट आधा मात्रै खर्च भएको कृषि अधिकृत सीताराम यादवले बताए । कृषि बजार तथा कृषि सडक निर्माणका लागि विनियोजित बजेट फिर्ता गएको उनको भनाइ छ ।